कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेलेब्रिटीका अनुभव : दसैं घरमै रमाइलो

कान्तिपुर संवाददाता

भोलि फूलपाती  । टाढा घर भएका र बिदा मिलेकाहरू पहिल्यै गन्तव्यतिर लागिसके  । कामकाजीहरूले पनि बाटो तताउन सुरु गरिसकेका छन् । दसैंमा धेरैले सहरको व्यस्तता छाडेर आफ्नो पुर्ख्यौली घर जाने गर्छन् । त्यसैले बडादसैं घर फर्काउने चाड पनि हो ।

सेलेब्रिटीका अनुभव : दसैं घरमै रमाइलो

गाउँ–सहरमा मेला र उत्सव यसै बेला लगाइन्छ । कार्यक्रम धेरै हुने भएकाले कलाकारलाई भ्याइनभ्याई हुन्छ । चाडबाडमा व्यस्त रहने सेलेब्रिटीका दसैं योजनाबारे विमल खतिवडा लेख्छन् :


गाउँ नै रमाइलो
प्रकाश सपुत, गायक

घटस्थापनादेखि नै कार्यक्रममा व्यस्त छु । चितवन (२० असोज) को कार्यक्रम सकेर भोलिपल्ट टीका थाप्न जसरी पनि घर (बाग्लुङ) पुग्ने सोच छ । स्वदेशमै भएका बेला रातारात भए पनि दसैंमा घर पुग्ने गरेको छु । यसपालि पनि त्यसै गर्नेछु ।


दसैंमा गाउँ नै रमाइलो लाग्छ । सबभन्दा मनपर्ने मौसम मलाई यही बेला हो । आकाश खुलेको हुन्छ । सबैतिर हरियाली हुन्छ । टीका नहुँदा एकपटक काठमाडौंमै थिएँ । त्यो बेला एकदमै नरमाइलो लाग्यो । काठमाडौं सुनसान हुँदो रहेछ । यो पटक घर र ससुराली दुवैतिर टीका छ । गाउँमा लिंगे पिङ हुन्छ । साथीभाइ र आफन्तसँग भेटघाट हुन्छ ।

ब्रुनाईमा कन्सर्ट
मेलिना राई, गायिका


यसपालि दसैंमा कार्यक्रमको सिलसिलामा ब्रुनाईमा हुनेछु । दसैं उतै रहेका नेपालीसँग मनाउनेछु । टीकाको भोलिपल्ट स्वदेश फर्कनेछु । सांगीतिक क्षेत्रमा लागेदेखि चाडबाडका बेला बढी नै व्यस्त हुने गरेको छु । यही बेला कार्यक्रम बढी हुन्छन् ।

दसैंमा प्रायः विदेशतिरै हुने गर्छु । गत वर्ष भने नेपालमै थिएँ । परिवारमा पनि बानी परिसक्यो । दसैंमा नेपालमा रहँदा परिवारसँगै टीका लगाउने गर्छौं । खानपिन गर्छौं, बस्छौं । पुरानो घर मोरङ भए पनि सानैबाट म काठमाडौं बसेकी हो । त्यसैले दसैं काठमाडौंमै मनाउने गर्छौं । यसपालि घरको दसैं मिस हुने भयो । ब्रुनाईबाट फर्केपछि पनि स्वदेशकै कार्यक्रममा व्यस्त हुनेछु ।

परिवारसँगै
निशान भट्टराई, गायक

यसपालिको दसैं घर (उर्लाबारी, मोरङ) मै मनाउँदै छौं । सबै जना घरमै हुनुहुन्छ । दसैंअघि धेरै कार्यक्रम छन्, सबै स्वदेशमै भएर दसैं घरमै मनाउन सजिलो हुने भएको हो ।

महोत्तरी, झापाको सांगीतिक कार्यक्रममा व्यस्त छु । त्यसपछि सप्तमीदेखि दशमीसम्मै परिवारसँग बिताउनेछु । घरको दसैं खुबै रमाइलो लाग्छ । चाडबाडमा खुसी हुनुपर्छ । खुसीसाथ दसैं मनाउनुपर्छ भन्ने हो । अघिपछि व्यस्त भए पनि चाडबाडमा परिवारसँगै बसौं भन्ने लाग्छ । कार्यक्रमको समय मिलाउँदै चाड मनाउने योजना पनि हो ।


दर्शकलाई भेट्ने
उपासना सिंह ठकुरी, अभिनेत्री

दसैंका लागि त्यस्तो केही योजना बनाएको छैन । ‘कबड्डी कबड्डी कबड्डी’ को प्रवर्द्धनमै व्यस्त हुनेछु । पहिला प्रत्येक दसैंमा महेन्द्रनगरमा कुल पूजा गर्नका लागि भए पनि दसैंमा घर जान्थ्यौं । अहिले म पनि फिल्मकै काममा व्यस्त छु । त्यसैले यसपालिको दसैंमा काठमाडौंमै हुनेछु ।

बुबा नेपाली सेनामा हुनुहुन्छ, दसैंमा उहाँको बिदा मिलेन । त्यसैले पहिलोपटक दसैं काठमाडौंमा मनाउँदै छौं । फिल्मको प्रवर्द्धनमा दसैं र तिहारको बीचमा दार्जिलिङ, सिक्किम जाने योजनामा छौं । विल्सन विक्रम राई र म अस्ट्रेलिया पनि जान्छौं होला । फिल्मबाट राम्रो प्रतिक्रिया पाएका छौं । सोचेभन्दा बढी माया पाएका छौं । दसैंका बेला फिल्म हलमा गएर दर्शकलाई भेट्ने छौं ।


पुनेको यात्रा
पुष्प खड्का, कलाकार

बाआमा पुने, भारतमा बस्नुहुन्छ । अहिले घर (कैलाली) मा कोही छैनन्, खाली छ । जान मिल्ने ठाउँ बाआमासँगै हो । त्यसैले दसैंमा पुने पुग्नेछु । त्यहाँ दस दिन बसेर फर्किनेछु ।

वर्षमा एकपटक मात्रै परिवारसँग भेटघाट हुन्छ । अरू बेला काममै व्यस्त भइन्छ । मैले उतै (भारत) पढेको हो । बाआमा उतै बस्न थालेको पनि ४३ वर्ष भइसक्यो । कहिलेकाहीँ कैलाली आउनु हुँदा यतै भेट हुन्छ । तत्काललाई फिल्मको सुटिङ त छैन तर दसैंपछि तुरुन्तै विदेशमा ‘मारुनी’ प्रदर्शन हुँदै छ । त्यसका लागि जापान, अस्ट्रेलिया र अमेरिका जान्छु होला । तिहार भने विदेशतिरै मनाइएला जस्तो छ ।

सौराहा छुट्दैन
अश्मी श्रेष्ठ, मिस नेपाल २०१६

दसैंमा सधैंजसो घर (रत्ननगर, चितवन) जान्छु । यसपालि पनि सबैको सल्लाहमा दसैं चितवनमै मनाउने कुरा भएको छ । उतै रमाइलो हुन्छ । सबै परिवार भेट हुन्छ । हामी सबै फूलपातीको दिन चितवन जान्छौं । एक हप्ता घर बस्ने योजना छ ।
दिदी बिहे गरेर अमेरिका जानुभएकीले पहिलोपल्ट उहाँलाई दसैंमा मिस गर्दै छौं । मामा घर पनि रत्ननगर नै हो । मेरो मनपर्ने ठाउँ सौराहा हो । प्रत्येक वर्ष दसैंमा सौराहा घुम्न छुटाएको छैन । चितवन राष्ट्रिय निकुञ्जको यो ठाउँ धेरै रमाइलो लाग्छ । जिप सफारी मनपर्छ । बुबालाई पनि दसैंमा चितवन नै रमाइलो लाग्छ । जनावरको माया लाग्छ, उसलाई दुःख दिने केही गर्न मन लाग्दैन । त्यसैले पोहोरको दसैंदेखि मासु खान छाडेकी छु ।

खल्लो दसैं १
विपिन कार्की, कलाकार

बर्सेनि दसैंमा घर (विराटनगर) जान्थें । यसपालि जाने अवस्था छैन । दसैंमा काठमाडौंमै बसाइ होला जस्तो छ । काममै व्यस्त छु । दसैं सुरु हुँदा ‘सेल्फी किङ’ को सुटिङमा सोलुखुम्बु पुगें । दसैंलगत्तै काठमाडौंमा सुटिङ हुँदै छ । पाँच वर्षअघि ‘कालो पोथी’ को सुटिङमा मुगु पुगेको थिएँ । त्यो बेला दसैं–तिहारमा उतै बसें ।


सबै जना घर जाँदै छन् । म र श्रीमतीमात्रै यहाँ हुनेछौं । त्यसैले दसैं खल्लो होला जस्तो छ । सेल्फी किङको सुटिङ तिहारअघि नै सक्ने भन्ने छ । आमालाई दसैंपछि भेटौंला भनेको छु । दसैंमा पहिलोपल्ट काठमाडौंमा बस्दै छु । खल्लो र सुनसान हुन्छ भन्ने सुनेको छु । यो पटक आफैंले अनुभव गर्दै छु ।

प्रकाशित : आश्विन १७, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?