कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्णको उकालो

प्रदेश ४
भीम घिमिरे

 
चाडपर्वका बिदामा पदयात्रा जान चाहनेका लागि अन्नपूर्ण आधार शिविर (एबीसी) उपयुक्त छ  । छोटो अवधिका लागि नेपाल घुम्न आएका विदेशीले यो रुट छिचोल्न छुटाउँदैनन्  ।

अन्नपूर्णको उकालो

दसैं–तिहारताका वर्षा नहुने र जाडो पनि उति नबढेका बेला भएकाले यो क्षेत्रमा पाँच वर्षयता नेपाली पदयात्री थपिरहेका छन् । चलेको र सजिलो रुट पोखरा पुगेर पोखरा–बागलुङ मार्गको बिरेठाँटीबाट यात्रा सुरु हुन्छ । थोरै हिँड्न चाहनेका लागि बिरेठाँटी र नयाँ पुलबाटै जिप पाइन्छ । पोखराको हरिचोकबाट पनि जिप यात्रा गर्न सकिन्छ । गाडीले मत्क्युसम्म पुर्‍याउँछ । त्यहाँबाट सुरु हुन्छ हिँडाइ ।
नयाँ पुलबाट करिब तीन घण्टा पैदलमा घान्द्रुक पुगिन्छ । हरेक घुम्तीमा बास र खानाका लागि होटल, रेस्टुराँ छन् । विदेशी पर्यटकको योजना पहिला नै तय भइसकेको हुन्छ । गाइड लिन्छन् । चार–पाँच घण्टामा पुगिने ठाउँका होटलमा पहिल्यै कोठा बुकिङ गर्छन् । तुलनात्मक रूपमा नेपाली पदयात्रीका योजना व्यवस्थित नहुँदा बाटामा बास पाउन समस्या पर्छ । आफू पुगेको ठाउँका होटलमा सोधेर ३–४ घण्टापछि पुगिने गन्तव्यका होटल र गेस्ट हाउसमा सम्पर्क गरी बास निश्चित गरे दुःख पाइँदैन ।
घान्द्रुकबाट बढीमा ६ घण्टाको हिँडाइपछि छोमरोङ पुगिन्छ । त्यहाँ बास बसेर भोलिपल्टको दोभान, तेस्रो दिन देउराली हुँदै माछापुच्छ्र्रे बेस क्याम्प पुगिन्छ । माछापुच्छ्र्रे बेस क्याम्पबाट बढीमा डेढ घण्टाको दूरीमा पर्छ एबीसी । टुर गाइड हीरा मल्लका अनुसार पदयात्रीले बास बस्न पहिल्यै सूचित गर्दा एबीसी आसपासकै होटल तथा गेस्ट हाउसमा एक रात बिताउन सक्छन् । ‘हिँड्नेले मौसमको ख्याल गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनै कुनै बेला मौसम खुल्दैन । मौसम खुलेका बेला भने आकर्षक फोटो खिच्न सकिन्छ ।’
एबीसी ट्रेक यतिबेला रमणीय छ । बाटामा धान लहलह झुलेका छन् । खोला र झरनामा पानी सफा देख्न सकिन्छ । जाँदा र फर्कंदा गरेर एक साताको योजनामा एबीसी यात्रा गर्न सकिन्छ । एबीसी यात्राको प्रबन्ध टुर अपरेटरहरूले सजिलै गरिदिन्छन् । काठमाडौं वा पोखराका होटल र ट्राभल एजेन्सीहरूले पनि यात्राको जानकारी दिन्छन् । पोखरा पुगेर योजना बनाउनु उपयुक्त हुने भए पनि इन्टरनेटको सहज पहुँच उपयोग गर्दै यात्रामा जान चाहनेले रुटका नक्सा हेर्न, पदमार्गका होटल, रेस्टुराँमा सम्पर्क गरेर जानु सजिलो हुन्छ ।
एबीसी ट्रेकमा जानेहरूले मन पराउने म्याग्दीका टाडापानी र पुनहिलको रुट छोमरोङबाट छुट्टिन्छ । जाँदाजाँदै उता पनि पुगेर आउने समय भए उपयोग गर्न सकिन्छ । बर्सेनि असोज दोस्रो साताबाट एबीसीमा विदेशी पदयात्री आउने क्रम सुरु हुँदा पहिल्यै योजना बनाएर गएकाहरूले पर्यटकको चापका बीच पनि खाना र बासको राम्रो आतिथ्य पाउन सक्छन् । यात्रा थालेर जता जे पाइन्छ, उतै खाने–बस्ने योजना बनाएकाहरूभन्दा पूर्वनिर्धारित योजनाअनुसार हिँडेकाहरूको यात्रा सुखद हुन्छ ।

अरु ५ गन्तव्य
बन्दीपुर
‘पहाडकी रानी’ को नामले चर्चित तनहुँको बन्दीपुरमा पुराना शैलीका घर, माछापुच्छ्र्रे र अन्नपूर्ण हिमशृंखला, मर्स्याङ्दी नदीको दृश्यावलोकन, हाइकिङ र साइक्लिङका लागि प्रख्यात छ ।
थोराङ्ला पास
समुद्री सतहबाट ५,४१६ मिटर उचाइको
थोराङ्ला पासको यात्रामा लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ हुँदै मुस्ताङको मुक्तिनाथसम्म पुग्न सकिन्छ ।
तिलिचो ताल
मनाङमा ४,९१९ मिटरको उचाइमा अवस्थित यो हिमताल प्रकृतिप्रेमीका लागि मनोरम स्थल हो ।
घले गाउँ
लमजुङ जिल्लामा रहेको यो गाउँ गुरूङ संस्कृतिमा आधारित होमस्टे र अन्नपूर्ण चक्रीय पदमार्गका लागि प्रख्यात छ ।
पोखरा
गण्डकीको यो राजधानीका फेवा, बेगनास, रूपालगायतका तीन ठूलासँगै नौ ताल, महेन्द्र, चमेरे, गुप्तेश्वर गुफा, डेभिज फल्स, विश्व शान्ति स्तूप र सराङकोटमा पर्यटकको भीड हुने गर्छ ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?