कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुम्का–थुम्का चिया झुम्का–झुम्का अलैंची

प्रदेश १
माधव घिमिरे

 
झापाको हपहपी गर्मी मौसमबाट करिब एक घण्टा मास्तिर लागेपछि चिसो सुरु हुन्छ  । पूर्वपश्चिम राजमार्गको चारआलीबाट उत्तरतिर मेची राजमार्ग पछ्याउँदै जाँदा बुधबारे, सुनमाई, लसुने, कोलबुङ हुँदै हर्कटे पुगेपछि चियाका बुट्टाले छोपिएका थुम्कैथुम्का देखिन थाल्छ  ।

थुम्का–थुम्का चिया झुम्का–झुम्का अलैंची

अलि पर्तिर पुग्नेबित्तिकै आफूलाई हरियाली थुम्काबीच पाउँदा चिसो सिरेटोले स्वागत गर्छ । कन्याम पुग्न झापाको बिर्तामोडबाट साना सवारी साधन सहजै पाइन्छ ।
इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्य हो । यहाँको मनोरम वातावरणमा रमाउन ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक लोभिने गरेका छन् । वनभोजका लागि उपयुक्त यो ठाउँ घुम्न झापा, मोरङ, सुनसरीमात्र होइन, देशका अन्य क्षेत्रका साथै भारतबाट समेत पर्यटक पुग्ने गरेका छन् । बाह्रै महिना यहाँ आगन्तुकको चहलपहल हुने भए पनि गर्मीका बेला र शनिबार भने घुम्नेहरूको संख्या बढी हुने गर्छ । दसैं बिदाका बेला यो गन्तव्य रोज्न सकिन्छ ।
कन्यामको हरियालीबीच ‘पिकनिक स्पट’ हरू छन् । साथीभाइ मिलेर, शैक्षिक भ्रमणको समूहमात्र होइन, पारिवारिक समूहहरू पनि वनभोजमा रमाउँछन् । आसपासका डाँडाहरूबाट पहाडी हरियाली र तराईका फाँट अवलोकन गर्न सकिन्छ । ‘गर्मीले भुतुक्कै बनाएका बेला कन्याम पुग्दा स्वर्गै पुगेजस्तो अनुभव हुन्छ,’ विराटनगरका धीरज पोखरेल भन्छन्, ‘परिवारसहित र साथीभाइसँग रमाइलो गर्न यो पूर्वकै सर्वोत्तम ठाउँ लाग्छ ।’

यस क्षेत्रको सौन्दर्यबाट प्रभावित भएर प्रसिद्ध कवि भूपि शेरचनले लेखेका थिए :
‘आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का–थुम्का चिया र
झुम्का–झुम्का अलाइँची उमारेर
सन्तोषले एक्कासि सुम्मित उठेको झैं
हरिया–भरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो...’
सूर्योदयका अवलोकनका लागि प्रसिद्ध अन्तुडाँडा, सीमावर्ती सहर पशुपतिनगर, कन्चनजंघालगायत हिमशृंखला कन्यामका थुम्कीहरूबाट देख्न सकिन्छ । आगन्तुकहरूको चाप बढ्ने क्रमसँगै पछिल्लो समय यहाँ केही सुविधासम्पन्न होटलहरू खुलेका छन् । घोडामा चढेर आसपास क्षेत्र अवलोकन गर्ने सुविधा पनि छ । यस क्षेत्रको सौन्दर्य समेटेर अनेकौं चलचित्रहरू बनेका छन् । चियाबारीका थुम्काबीचबाट नागबेली हुँदै गएको मेची राजमार्ग पर्ने यो क्षेत्र खासगरी गीतको छायांकनका लागि चलचित्र निर्देशकहरूको छनोटको प्राथमिकतामा पर्छ ।
कन्यामबाट नजिकै पर्ने हाँसपोखरी क्षेत्र सुनगाभा फूलको स्वर्ग भनेर चिनिन्छ । कन्याम र आसपासका गाउँमा इलामका चर्चित नगदे बाली प्रशस्त पाइन्छ । अलैंची, आलु, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, अम्लिसो, दूधजस्ता उत्पादन यो क्षेत्रको विशेषता नै हो । नेपालमा इलाममै मात्र बसोबास रहेको अल्पसंख्यक लाप्चा जातिको संस्कृति यसै क्षेत्रमा बुझ्न सकिन्छ ।
प्रदेश १ का १४ जिल्लाका पर्यटकीय जिल्लाहरूमध्ये अग्रणी इलाममा अरू पनि आकर्षक गन्तव्य छन् । १,७०३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सुदूरपूर्वी यो जिल्ला पूर्वमा भारतको दार्जिलिङ, पश्चिममा पाँचथर र मोरङ, उत्तरमा पाँचथर र दक्षिणमा झापासँग जोडिएको छ । समुद्री सतहबाट १४० मिटर उचाइको भित्री मधेसदेखि ३६३६ मिटरसम्म उचाइको भूभाग समेटिएको इलाममा भौगोलिक विशेषताअनुसारका जैविक विविधता छ ।

अरु ५ गन्तव्य
भेडेटार
धरानबाट १७ किमिमा पर्ने यो स्थान तराई र पहाडी दृश्यावलोकन र हावापानीका लागि प्रख्यात छ ।
कोसीटप्पु
सप्तकोसी किनारको सुनसरी, सप्तरी र उदयपुरसम्म फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा दुर्लभ अर्ना, चराचुरूंगी र हात्तीलगायत वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।
पाथीभरा
ताप्लेजुङमा रहेको प्रसिद्ध शक्तिपीठ पाथीभरामा बाह्रैमास चिसो हुन्छ ।
सन्दकपुर
समुद्री सतहबाट ३,६३६ मिटर उचाइमा रहेको उत्तरी इलामको यो स्थान हिमशृंखला, सूर्योदय–सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।
खुम्बु
विश्वकै सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुलाई नजिकबाट नियाल्न र शेर्पा संस्कृतिलाई बुझ्नका लागि खुम्बु पुग्नुको विकल्प छैन ।

[email protected]

प्रकाशित : आश्विन १०, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?