कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लयबिनाको आवाज

'बाहुबली' को दुई भागको फिल्मले धेरै कीर्तिमान बनाएको थियो । त्यसमा प्रभासको अभिनयको खुबै चर्चा भयो । गत साता रिलिज भएको उनी अभिनीत फिल्म 'साहो' कस्तो छ त ? यज्ञश लेख्छन् :

 
समाचारहरूमा जनाइएअनुसार ‘साहो’ को बजेट हो– ३५० करोड भारु  । नेपालीमा झन्डै ५ अर्ब ६० करोड रुपैयाँ  ।

लयबिनाको आवाज

औसत नेपाली फिल्मको बजेट डेढ करोड मान्ने हो भने यो एउटा फिल्मको बजेटमा ३ सय ७३ वटा फिल्म बन्छन् । यस वर्ष बन्ने फिल्मको हिसाब (५० देखि ६०) को हिसाबले भन्ने हो भने झन्डै ६–७ वर्षको पूरै नेपाली फिल्मको बजेट । हलिउड फिल्मको हिसाबमा जाने हो भने त त्यो निकै धेरै हुन्छ । हालैको बलिउड फिल्म ‘मिसन मंगल’ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘हामीले जुन खर्चमा मंगल ग्रहमा यान पठायौं, त्योभन्दा बढी त हलिउडको एउटा फिल्मको बजेट हुन्छ ।’


‘साहो’ को बजेटको चर्चा गर्नुका दुई खास कारण छन् । एक– यो भारतको दोस्रो ठूलो बजेटको फिल्म हो । गत वर्ष आएको रजनीकान्तले अभिनय गरेको शंकरको फिल्म ‘२.०’ को बजेट ४ सय ५० करोड भारु थियो । दोस्रो– यसका मुख्य कलाकार प्रभास हुन् । ‘बाहुबली’ का दुई भागको अपार सफलतापछि प्रभासले अभिनय गरेको फिल्म । दुई वर्षपछि ठूलो पर्दामा फर्किंदा महेन्द्र र अमरेन्द्र बाहुबलीको टक्करमा पुग्ने गरी उनलाई भव्य फिल्मको आवश्यकता थियो । त्यसैले रचियो यसको कथा । अति भव्य । चमकदार । भव्य सेटिङ । उत्तिकै खर्च । ठूलो स्टार । तर, फिल्म ? फिल्मचाहिँ बेकार । यो उपाधिमा अहिलेसम्म सलमान खानको ‘रेस ३’ ले जमाएको कब्जालाई ‘साहो’ ले तोडिदिन्छ । यति ठूलो खर्च गरेर बनाइएको सायद सबभन्दा झुर फिल्ममध्येमा ‘साहो’ को गणना हुनेछ । संसारमा झुर फिल्म बनाउनेहरूको कुनै कमी छैन । तर, यति धेरै पैसा र यति ठूलो स्टार पाएर पनि यस्तो फिल्म बनाउनचाहिँ विशेष किसिमको पटकथा र निर्देशक चाहिन्छ । दक्षिण भारतका निर्देशक सुजितले त्यो काम गरिदिएका छन् ।


फिल्मको भयंकर प्रचार (यसका लागि प्रभास र श्रद्धा कपुरले टीभीका प्रायः कुनै पनि रियालिटी शो छोडेका थिएनन्), प्रभासको स्टारडम र एक्सन ट्रेलरको भरमा फिल्मले पहिलो चार–पाँच दिनमै संसारभरि ठूलो व्यापार पनि गरेको छ । जति आक्रामक यसको व्यापार छ, त्यति नै आक्रामक यसको आलोचना पनि । यसकारण ‘साहो’ ले धेरै दिनसम्म व्यापारको यही गति कायम गर्नेमा शंका छ । अब आऊँ, फिल्ममाथि । एउटा काल्पनिक सहर छ– वाजी । त्यसमा एउटा ‘कर्पोरेट अन्डरवर्ल्ड’ छ । यसको बोर्डको प्रमुखको हत्यापछि को प्रमुख बन्ने भन्ने खेल ‘साहो’ को कथा हो । यसमा अनेक खेलाडी छन् । पुरानो मालिकको छोरा, हत्या भएका मुखियाका छोरा, उसको कारिन्दाका छोरा, बोर्डका पुराना सदस्य आदि... आदि... । तर, कथा वाजीको मात्र छैन । यसमा मुम्बई पनि छ । अनि छन्– चोर र पुलिस । जो पछि वाजीको कथामा जोडिन्छन् । यी सबैको बीचमा छ, कम्पनीको २ लाख करोड रुपैयाँ । र, त्यो पैसा निकाल्ने साँचो– ब्ल्याकबक्स ।


यतिसम्म कुरा बुझियो भने कथाको मेसो पाइन्छ । यो फिल्मलाई एक्सन थ्रिलर भनिएको छ, जसमा पाँच वटा त रोमान्टिक गीत छन् । एउटा गीतमा त हिरो ट्यांकमाथि चढेरै नाच्छन् । फिल्मको बजेट देखाउन हो वा हिरोगिरी देखाउन गीतको अन्त्यमा ट्यांकले दुइटा कारलाई फाल्तुमा कच्याककुचुक्क पार्छ । न ती गाडीको कुनै प्रसंग छ, न सान्दर्भिकता । सुन्नै गाह्रो पर्ने गरी चर्को ब्याकग्राउन्ड म्युजिक । बेलाबेला यो म्युजिक नआउँदा पनि शान्ति भएजस्तो लाग्ने । जति धेरै जेलिएका टुक्राटाक्री र उपकथा छन्, त्यति नै धेरै पात्र । पात्र के भन्नु– फिल्ममा कि त माफिया छन् कि पुलिस । फिल्मको विशेषता लोकेसनजस्तै फाइटरहरू पनि फरक छन् । रोहित सेट्टीका फिल्ममा देखिनेजस्ता लोकल गुन्डा यसका फाइटर होइनन् । ती पनि खास छन् । तर, भनिन्छ नि– सुनकै थालीमा पस्किए पनि पकवान मीठो छैन भने त्यसले स्वाद दिँदैन । ‘साहो’ पनि त्यस्तै हो । झन्डै तीन घण्टा लामो यो ‘बोर’ लाई झेल्न राम्रै हिम्मत चाहिन्छ ।
फिल्ममा श्रद्धा कपुर पुलिस अफिसरको भूमिकामा छन् । जसलाई पुलिस बनाए पनि अबला बनाउन भने छोडिएको छैन । निल नितिन मुकेश, चंकी पाण्डे, महेश मान्ज्रेकर र दक्षिणका अर्का स्टार अरुण विजय पनि प्रमुख भूमिकामा छन् । यी सबैको मुख्य कामचाहिँ फरक गेटअपमा आउने र चिच्याउने नै छ । एउटा अचम्मको आर्थिक र कानुनी सल्लाहकारको भूमिकामा मन्दिरा बेदी पनि छन् ।


फिल्ममा भयंकर लामा एक्सन सिक्वेन्स छन् । जसको कोरियोग्राफी राम्रो छ । तर, आकाशमै उडेर फाइट खेल्न थालेपछि भने यो पनि खेरै जान्छ । असान्दर्भिक गीतहरू र नचाहिँदा ट्वीस्टहरूले फिल्मलाई खत्तम पारेका छन् । ‘बाहुबली’ योभन्दा भव्य थियो तर त्यसको कल्पनाशीलता पनि उत्तिकै भव्य थियो । ‘साहो’ खाली आवरणमा भव्य छ, सारमा खोक्रो । तमिल र तेलगुका धुमधडाकावाला एक्सन फिल्मलाई नै फरक लोकेसनमा लगेर खिचिएजस्तो । ‘खाली भाँडा धेरै बजेजस्तो’ यसको आवाज त चर्को छ तर त्यसको कुनै लय छैन ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?