कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन पुस्ताको सहकार्य

गीत संगीतको संसार नै अनवरत छ,’ अनामनगरस्थित एउटा रेकर्डिङ स्टुडियोमा भेटिएका गीतकार दिनेश अधिकारी भन्दै थिए, ‘यसको प्रवाह नदीजस्तै हुनुपर्छ  ।

तीन पुस्ताको सहकार्य

पानीले छहरा, छाँगा, खोला, नदी हुँदै समुद्रलाई छोएजस्तै गीत–संगीत पनि सबै पुस्ताको ढुकढुकी छाम्दै अघि बढ्नुपर्छ ।’ गीतकार अधिकारीका कुरा सुन्दै थिए, संगीतकार राजकुमार बगर र गायक प्रताप दास । अधिकारी बगरलाई आधुनिक नेपाली संगीतको दोस्रो पुस्ताको संगीतकार ठान्छन् भने नेपाल आइडलबाट लाइम–लाइटमा आएका प्रताप दास त बिलकुल नयाँ पुस्ताका भइहाले । त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा दासको जोस बेग्लै थियो । उनी पुरानो पुस्तासँग सहकार्य गर्न पाउँदा दंग थिए ।


यी तीन जनाको भेट संयोग थिएन । नेपाली आधुनिक संगीतको पुरानो पुस्ता हुँदै अहिलेको नयाँ पुस्तासम्म भिजेका अधिकारी पछिल्लो समय तीनै पुस्तासँग सहकार्य गरिरहेका छन् नयाँ एल्बमका लागि । हालै उनले चौधौं एल्बम ‘अनवरत’ को सातवटै गीतको रेकर्ड सकाएका छन् । रेकर्डिङमा प्रताप दासको मिहिनेतबाट खुसी देखिएका अधिकारीले भने, ‘नयाँ पुस्ताको मनोविज्ञान अलि छिट्टै परिणाम चाहने हुन्छ । तर, दासको धैर्यता र मिहिनेतले मलाई छोयो । यस्तोमा गीतकारका शब्दले गायकीमा न्याय पाउँछ । दास जस्ताको पुस्ताकै कारण हाम्रो आयु लम्बिँदै जान्छ ।’ नेपाली सुगम संगीतका रचनाकारका रूपमा तीसको दशकदेखि निरन्तर छन् दिनेश अधिकारी । काव्य लेखनकै लागि मदन पुरस्कार पाएका यिनले ‘यो सम्झिने मन छ...’, ‘सोचे जस्तो हुन्न जीवन...’, ‘तिमी जुन रहरले ममा फुल्न आयौ...’, ‘बोल बोल पाखाहरू...’, ‘आँधीले लुक्नुपर्ने भो...’, ‘छेउमै बसे रिसाउने...’ थुप्रै कालजयी गीत रचना गरेका छन् । यतिबेला भने अधिकारीले आफ्ना रचनामार्फत तीन पुस्तालाई नै संगीतमा बाँध्न खोजेका छन् । यही क्रममा बगर, दास र यिनको अनामनगरस्थित त्रिवेणी स्टुडियोमा ‘त्रिवेणी सम्बन्ध’ ले आकार लिएको हो । अधिकारीको शब्द रचना तथा बगरको एकल संगीत रहेको उनको एल्बम ‘अनवरत’ मा तीनै पुस्ताको सहकार्य छ ।


‘म आफूलाई पुरानै पुस्ता मान्छु,’ अधिकारीले भने, ‘राजकुमारजी दोस्रो पुस्ताका हुनुहुन्छ, प्रताप दास, प्रविशा अधिकारी, श्रेयसी चेम्जोङ, राज सिग्देललगायतका गायकगायिका तेस्रो पुस्ताका ।’ विन्ध्यवासिनी म्युजिकले उत्पादन गर्न लागेको एल्बमको विशेषता के हो भने प्रेमसम्बन्धी ‘नेपाली समाजको साढे तीन दशक लामो मनोविज्ञान’ गीतमार्फत प्रस्तुत गरेका छन् अधिकारीले । चालिसको दशकदेखि पछिल्लो समयसम्ममा लेखिएका प्रेम र प्रणयकै सात गीत एल्बममा समेटिएको अधिकारीले बताए । नयाँ एल्बममा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देसार, सीडी विजय अधिकारी, प्रताप, प्रविशा, राजकुमार, श्रेयसी चेम्जोङदेखि बिनी शाहसम्मले स्वर दिएका छन् ।


नयाँ पुस्तासँगको सहकार्य एकदमै रमाइलो रहेको अधिकारीले सुनाए । जुनसुकै क्षेत्रमा सिनियर र जुनियर भन्ने भावले केही संकोच र दूरी पैदा गराउने प्रवृत्ति रहेको उल्लेख गर्दै सांगीतिक क्षेत्र पनि यस्तो सोचाइबाट अछुतो नरहेको उनको तर्क छ । ‘यो पुरातन मनोविज्ञान हो,’ उनले भने, ‘यही मनोविज्ञान चिर्न तीन पुस्ता समेटेको हुँ । समय सापेक्ष विचार र उनीहरूको चासोलाई ध्यानमा राखेर विचार आदानप्रदान गर्दै जाँदा नयाँ पुस्तासँग काम गर्न निकै रमाइलो भयो ।’ सिर्जनाका क्रममा नयाँ पुस्ताकै लागि भनेर पुरानाले आफ्नो मौलिक पहिचान भने मर्न दिन नहुने उनको धारणा छ ।‘समयअनुसार गीतमा विविधता आए पनि हाम्रो प्रेरणा, आशीर्वाद, सोच सबै पुरानामै आधारित हुन्छन्,’ प्रताप दासले भने, ‘ उहाँहरूकै बाटोलाई पछ्याएर नै हामीले नयाँ सिर्जनाको विकास गर्न सक्छौं ।’ प्रविशा अधिकारी पनि प्रतापसँग सहमत भइन् । ‘उहाँहरूसँग लामो अनुभव हुन्छ,’ उनले भनिन्, ‘त्यही अनुभवबाट परिस्कृत भएर नयाँले काम गर्ने हो ।’

[email protected]

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?