कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातियो पोखरा

दीपक परियार

काठमाडौँ — उसै पनि गर्मी बढ्दो छ पोखरामा  । ‘फेसन विक’ ले पोखराको मौसमलाई झनै ततायो  ।

तातियो पोखरा

गत बिहीबारदेखि शनिबारसम्म भएको फेसन विकमा स्वदेशी–विदेशी डिजाइनरको प्रस्तुति पोखरेली दर्शकले हेर्ने अवसर पाए ।
नयाँ वर्षको अवसरमा पोसाक महासंघ नेपाल र डिजाइनर एसोसिएसनद्वारा संयुक्त रूपमा आयोजित फेसन विकमा पोखरा, काठमाडौंमा, हेटौंडा, चितवन, विराटनगरका २१ महिला र ५ पुरुष मोडलले डिजाइनरहरूका कला प्रस्तुत गरेका थिए । उनीहरूका अलावा गण्डकी प्रदेशमा रहेका जातीय समुदायको वेशभूषा स्थानीय मोडलबाट प्रदर्शन भयो । १९ डिजाइनरका २१ सिक्वेन्स फेसन विकमा प्रस्तुत भए ।


पहिलो दिन सांस्कृतिकसहित सात सिक्वेन्समा मोडल र्‍याम्पमा उत्रिएका थिए । आकर्षक पहिरनमा सजिएर र्‍याम्प वाकमा देखिएका मोडलले दर्शकको ध्यान खिचेको थियो । नेपाली तथा विदेशी पहिरनको फ्युजन दर्शकका लागि रुचिकर बन्यो । डिजाइनर मीनु श्रेष्ठको फ्युजन, सौरभ तामाङको क्याजुअल, नवीना केसी र बबिता थापा मगरको स्ट्रिट वेयर क्याजुअल, सविना श्रेष्ठको वेस्टर्न गाउन, मलेसियाको युनिभर्सिटी टेक्नोलोजी माराको वेस्टर्न, रूपा चौधरी र पुष्पा महतोको कल्चरल डिजाइनमा मोडल र्‍याम्पमा उत्रिए । रूपा र पुष्पाको जोडीको डिजाइनमा कुमाल, गुरुङ, थकालीलगायत समुदायको परम्परागत वेशभूषा दर्शकले मन पराए । स्वप्न सुमनले आफ्ना चर्चित गीत गाएर थप मनोरञ्जन प्रदान गरे । युवतीमाझ उनको क्रेज छर्लंगै देखियो । जुम्बा नृत्य आकर्षणका रूपमा रह्यो ।


दोस्रो दिन पश्चिमा डिजाइनरको प्रभाव बढी देखियो । पवित्रा थापामगर, लक्ष्मी श्रेष्ठ, निर्मला कार्की, अञ्जना श्रेष्ठ र शर्मिला राईको वेस्टर्न डिजाइनले दर्शकको मन जित्यो । सिर्जना केसीको कल्चरल, गंगा राई र अनिता श्रेष्ठको क्याजुअल, सविना, सुष्मा र दीपाको वेस्टर्न गाउन, नन्दनी चौधरी र पम्फा गुरुङको गाउन र वान पिस डिजाइन अधिकांशले रुचाए । पहिलो नेपाल आइडलका फाइनलिस्ट सागर आलेले आफ्ना गीतले दर्शक नचाए । अन्तिम दिन शनिबार ज्वाला राई र विजय थापाको वेस्टर्न, प्रतीक्षा दुरा र रीता तामाङको कल्चरल फेसन, दुर्गा विष्टको गाउन कल्चर, लिली दोङको परम्परागत, रेखा राई र समृद्धि मित्तलको वेस्टर्न सिक्वेन्समा दर्शक रमाए । भारतबाट आएकी अन्तर्राष्ट्रिय ज्वेलरी डिजाइनर मोना श्राफ फेसन विकको आकर्षण थिइन् । भारतकी श्रेया सिंहले फेसन विकको कोरियोग्राफी गरेकी थिइन् ।


तस्बिरहरू ः महेश प्रधान

प्रकाशित : वैशाख ६, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?