कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चितसँग सेल्फी रहर

कतारको एक होटलमा काम गर्ने नवाङ लामा चर्चित व्यक्तिसँग सेल्फी खिचाइहाल्छन् । उनले सेल्फी खिचाएको चर्चित व्यक्तिको सूचीमा फुटबल खेलाडीको सूची लामो छ । उनी कसरी यस्तो मौका पाउँछन् ?

काठमाडौँ —  
विश्व चर्चित खेलाडी भेट्न कति गाह्रो होला ? त्यस्ता खेलाडीको सुरक्षा व्यवस्थादेखि गोपनीयता उत्तिकै कायम गरिएको हुन्छ  । तर एक त्यस्ता भाग्यमानी नेपाली युवा छन्, जसले भेट्ने मात्र हैन दर्जनौं सेल्फीसमेत उनीहरूसँग खिच्न भ्याएका छन्  ।

चर्चितसँग सेल्फी रहर

उनी हुन् दोलालघाट काभ्रेका नवाङ लामा । कतारको दोहास्थित ‘द टर्च होटल’ मा छ वर्षदेखि काम गर्दै आएका उनले एक सय भन्दा बढी विश्व प्रसिद्ध खेलाडीहरूसँग सेल्फी खिच्न भ्याइसकेका छन् । त्यसमध्ये सबैभन्दा बढीचाहिँ फुटबलर छन् । यही साता मात्रै उनले ब्राजिलियन फुटबलर नेयमार जुनियरलाई भेटेर सेल्फी हान्न भ्याइहाले ।


उनले चर्चित डच खेलाडी आर्जेन रोबेन, सन् २०१४ को विश्वकप फाइनल खेलमा गोल गरेर जर्मनीलाई विजेता बनाएका मारियो गोजे, बार्सिलोनाका पूर्वकप्तान जाभियर हर्नान्डेजदेखि बार्सिलोनाका आर्टुरो भिडालसँग सेल्फी खिचेका छन् । त्यसैगरी, युभेन्ट्सका मिरालम पिजानिक, बार्यन म्युनिखका क्याप्टेन रोबर्ट लेवन्सकी, रियल मड्रिडका डिफेन्डर साल्गाडो, स्पानिस फुटबलर जाभी अलोन्सो, फ्रान्सका किङ्स्ले कोमनलाई पनि उनले आफ्नो सेल्फी फ्रेममा कैद गरेका छन् ।


अधिकांश खेलाडीहरू आफ्नो देशको जाडो छलेर कतारमा खेल अभ्यास गर्न आउँछन् । केही घाइते खेलाडीहरू उपचारका लागि आउने गर्छन् । गम्भीर घाइते भएका खेलाडीहरूको उपचारका लागि दोहास्थित आस्पेक्टेड अस्पताल संसारमै प्रसिद्ध छ । खेल अभ्यास गर्नका लागि आउने होस् या उपचारका लागि आउने हुन् । प्रायः यस्ता सबै खेलाडी ‘द टर्च होटल’ मै बस्ने गर्छन् ।


होटलका सबै कर्मचारीले खेलाडी भेट्ने अवसर कहाँ पाउँछन् र ? तर उनी अरूभन्दा भाग्यमानी छन् । भेट भएका अधिकांश खेलाडीहरूसँग छोटो मीठो गफगाफ गर्न पाउँछन् । ‘भेट भएपछि प्रायः सबैलाई आफ्नो परिचय सुरुमा दिन्छु,’ नवाङले फेसबुकमा भने, ‘धेरैले नेपालको नाम लिँदा नेपालबारे थाहा छैन भन्छन् । त्यतिखेरचाहिँ दुःख लाग्छ ।’ उनले अधिकांश खेलाडीहरू रसिक पाराको हुने बताए । जिस्किने, होहल्ला गर्दै रमाउनेहरू धेरै हुने गरेको उनको अनुभव छ ।


उनीहरूको सुरक्षा व्यवस्था अत्यन्तै कडा हुन्छ । त्यसैले जो कोहीलाई उनीहरूसँग भेट गर्न दिइँदैन । होटलका विश्वासिलो कर्मचारी भएकै नाताले उनले प्रायः खेलाडीसँग देखभेट गर्ने अवसर पाउँछन् । सबैसँग सेल्फी खिच्ने अवसर त जुर्दैन । तर जुरेको अवसर छुटाउँदैनन् । ‘केही महिना अघि माक्रै त्रिस्टियानो रोनाल्डो पनि तीन दिनका लागि आएका थिए ।’ उनले भने, ‘तर उनीहरूसँग देखादेख भयो । भेटघाट गर्ने र बोल्ने समय मिलेन ।’ मेस्सी आउँदा पनि रोनाल्डोकै जस्तो भयो ।


सन् २०२२ मा कतारमा विश्वकप फुटबलको आयोजना हुँदै छ । अरबी मुलुकमा आयोजना हुने पहिलो विश्वकपसमेत हो । त्यसैले कतारको हावापानीसँग अनुकूलित हुनका लागि पनि संसारका प्रसिद्ध खेलाडीहरू अभ्यासका लागि बेलाबेलामा पुग्ने गर्छन् । यस्ता विश्व प्रसिद्ध खेलाडीहरूसँग सेल्फी खिच्न पाएका नवाङलाई स्थायी रूपमा नेपाल फर्किसकेपछि सबै खेलाडीहरूसँगको तस्बिर मिलाएर एउटा ठूलो पोस्टर बनाउने रहर छ । जुन पोस्टर उनको जीवनको उत्तरार्द्धसम्म ‘मेमोरी’ बनोस् ।

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?