गोपी अर्थात् विपिन

नवीन र यथार्थपरक चरित्रमा रमाउने विपिन नयाँ फिल्म गोपीमा गाईपालक कृषक बनेका छन् । यो चरित्र र फिल्ममा विपिन कसरी जोडिए ?
गोकर्ण गौतम

काठमाडौँ — एकै बसाइमा स्क्रिप्ट पढिसक्न हम्मेहम्मे पर्छ, विपिन कार्कीलाई । कति त पढ्दा–पढ्दै बीचमै छोडिदिन्छन् ।

निर्देशक दीपेन्द्र लामाले गोपीको स्क्रिप्ट मेल गर्दा मध्यरात भएको थियो । ल्यापटप खोलेर विपिनले जब पढ्न थाले, छोड्नै मन लागेनछ । बिहान दुई बज्यो, स्क्रिप्ट सकियो । विपिन सम्झन्छन्, ‘स्क्रिप्ट पढ्दा म विपिन कार्की भएर पढ्दिनँ । मनलाई छोडिदिन्छु । गोपीको स्क्रिप्ट पढ्दा मेरो मनले बीचमै छोड्नै मानेन ।’ गाईपालक कृषकको चरित्र र उसको कथाले विपिनलाई मोहित बनाएछ । कथाको क्यानभास सानो तर मन छुने । भोलिपल्ट बिहानै निर्देशक दीपेन्द्रलाई म्यासेज गरे, ‘स्क्रिप्टमा मैले आफूलाई पाएँ । खेल्न तयार छु ।’


विपिनको यो जवाफले दीपेन्द्रलाई ठूलो अर्थ राख्थ्यो त्यतिबेला । चार महिना अगावै अनुबन्ध भएका हिरो खगेन्द्र लामिछानेले सुटिङ सुरु हुनुभन्दा एक साताअघि ‘धोका’ दिएका थिए, फिल्म छोडेर । त्यसैले त्यति छोटो समयमा विपिनजस्तो प्रतिभाशाली अभिनेता पाउनु निर्देशकमात्र होइन, फिल्म युनिटकै लागि खुस खबर थियो । दीपेन्द्र नढाँटी भन्छन्, ‘गोपीका लागि विपिन पहिलो रोजाइ थिएनन् तर सुटिङ सुरु भएपछि उनको ठाउँमा अरू कोही भए पात्रलाई नै अन्याय हुनेरहेछ भन्ने लाग्यो ।’ निर्देशनका हिसाबले यो दीपेन्द्रको दोस्रो फिल्म हो । अनि, विपिनसँगको सहकार्यचाहिँ पहिलो । फिल्म १८ माघमा प्रदर्शन हुँदै छ । अहिले दुवै एकै स्वरमा भन्छन्, ‘हामीलाई काम गर्न एकदमै सहज भयो ।’ दीपेन्द्र त विपिनको प्रशंसा गरेर थाक्दैनन् । उनकै शब्दमा, विपिनजति चरित्रमा बस्ने, लचिलो र कुरा बुझ्ने अभिनेता भेट्न मुस्किल छ ।


अहिले हामीकहाँ दुईकोटिका फिल्मको ‘आतंक’ छ । पहिलो, कमेडी । जसमा कथा, पात्र र कथा वाचनलाई पूरै बेवास्ता गरिएको हुन्छ, जबर्जस्ती हँसाउने ध्याउन्न हुन्छ । दोस्रो, रोमान्टिक लभस्टोरी । जसमा सुकिलामुकिला हिरो–हिरोइन हुन्छन्, विदेशका आकर्षक दृश्यमा छायाँकन गरिएका गीत हुन्छन्, हल्काफुल्का हास्य र रोनाधोना पनि हुन्छ तर कथा र प्रस्तुतिचाहिँ बासी । अर्थात् आवरण झकिझकाउ हुन्छ, आत्मा कमजोर । हलमा दर्शकको खडेरी लाग्नुमा यस्ता नीरस फिल्मको भूमिका ज्यादा छ । तर गोपीले ट्रेलरमार्फत अलग भएको छनक दियो । मुख्य कुरा, गाई पाल्ने कृषकको कथा परम्परागत र बजारु आँखाबाट हेर्दा ‘नबिक्ने’ र ‘नन–ग्ल्यामर’ भइहाल्यो । त्यसमाथि न यसमा रोटेपिङ घुम्नेवाला लोकगीत छ, न तिघ्रा देखाएर नाचिने आइटम । न चकलेटी हिरो, न विदेशी सिन । निर्देशक दीपेन्द्र भन्छन्, ‘बजारको मागलाई सम्बोधन गर्नेभन्दा मौलिक कथा भन्ने प्रयास गरिएको छ ।’ यस्तै ‘फिल्मी मसला’ नभएकै कारण गोपीले निर्माता पाउनै धौधौ परेको थियो । गोपी बन्नुको कथा आफैंमा रोचक छ ।


निर्माता मणिकर्ण केसीको भेट भयो, पत्रकार तथा पटकथाकार सामीप्यराज तिमल्सेनासँग । हिरो अनमोल केसीसँग सामीप्यराजको नजिकको सम्बन्ध छ भन्ने थाहा पाएपछि मणिकर्ण हौसिए । उनी जसरी हुन्छ, अनमोल केसीलाई लिएर फिल्म बनाउन लागिपरेका थिए । अनमोललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिन पनि तयार थिए उनी । सामीप्यराजले त्यही बेला भनेछन्, ‘हिरोले मात्र फिल्म चल्दैन । एउटै हिरोका लागि किन त्यति धेरै पैसा तिर्नुहुन्छ ? ५० लाखमा फिल्म नै बन्ने कथा छ मसँग ।’ त्यसपछि मणिकर्णले कथा सुने, एक करोड नै लगानी गर्न तयार भए । त्यस अगाडि सामीप्यराज र निर्देशक लामाले कैयौं निर्माता भेटे तर गाईपालक किसानको कथा हो भन्ने थाहा पाउनासाथ तर्कन्थे । सामीप्यराज भन्छन्, ‘यो कतैबाट चोरचार गरिएको होइन । हाम्रै गाउँठाउँको कथा हो । हामीले इमानदार भएर पर्दामा देखाउने जमर्को गरेका छौं ।’ विपिनलाई गोपीको कथाले तान्नुको मुख्य कारण पनि त्यही नेपालीपन भएरै हो । त्यसमाथि गाईसँग विपिनको सम्बन्ध बच्चैदेखि प्रेमिल थियो ।


मोरङ बाहुनीमा जन्मे/हुर्केका विपिनलाई दूध दुहुन आउँछ । घाँस काटेका छन् । खोले पकाएका छन् । उनका बाबुआमा पनि यही काम गर्छन् । ‘म गाई, गोठ, गोबर, घाँसको गन्ध महसुस गर्न सक्छु । त्यसैले गोपीमा मैले आफूलाई पाएँ,’ विपिन भन्छन्, ‘त्यसैले अरू बेलाजस्तो चरित्रको तयारीका लागि एक–दुई महिना लागेन । स्क्रिप्ट पढेको दस दिनमै सुटिङमा जाने आँट आयो ।’ कृषकको छोरो भएर कृषकको भूमिका गर्न पाउँदा गौरवान्वित थिएँ, तर विपिन प्रचारप्रसारका क्रममा चितवन, हेटौंडा, पोखरा, बुटवलका गाई फार्ममा पुगेपछि अझ उत्साही भएका छन् । पोखराबाट विपिनले सुनाए, ‘कतिले अहिलेसम्म हलमा टेकेको छैन तर गोपीचाहिँ हेर्छु । यो त हाम्रै कथा रहेछ भन्नुभयो । यस्तो मायाले औधी खुसी दिँदोरहेछ ।’ गोपीमा विपिनसँगै वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका छ ।


व्यस्तता मात्र होइन, पारिश्रमिकका हिसाबले पनि विपिन उचाइमा छन् । यही फिल्मका लागि उनले १७ लाख रुपैयाँ लिएका थिए । प्रसादको सफलतासँगै उनको पारिश्रमिक अझ बढ्ने निश्चित छ । भलै उनी आफूलाई ‘स्टार’ होइन, तर सबैले माया गरेको कलाकार भन्न रुचाउँछन् । सामान्य र पर्दामा नआउने यथार्थपरक पात्रमै रमाइरहेका छन् । उनकै शब्दमा, हिरोज्म रोलप्रति अनुराग छैन । तर एकपटक गरेर देखाउनचाहिँ मन छ । र, अहिलेकै लागिचाहिँ ‘गोपी’ मार्काकै चरित्रमा मस्त छन्, दंग छन् । भन्छन्, ‘गोपीलाई दर्शकले मन पराउनुहुन्छ, फिल्म हिट हुन्छ भन्ने विश्वास छ । कदाचित त्यस्तो भएन भने पनि फिल्म र चरित्रप्रति सदैव गर्व गर्नेछु ।’

gokarna.gtm@gmail.com

प्रकाशित : माघ ११, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

‘द हु’ को अन्तिम प्रयास

हिमेश

काठमाडौँ — द हु’ ब्यान्डका प्रशंसक अझै धेरै छन् । सन् साठी र सत्तरीतिर धेरै नै ब्यान्ड अस्तित्वमा आए ।

त्यसमध्ये केही निकै सफल रहे । त्यसमध्ये पनि केही अझै सक्रिय छन् । यसमै पर्छ, इंग्लिस रक ब्यान्ड ‘द हु’ । सफल पनि । सक्रिय पनि । उनीहरूको दस करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको तथ्यले नै देखाउँछ, यो साँच्चै कति सफल ब्यान्ड हो भनेर । यो ब्यान्डको प्रशंसक हो भने उनीहरूका लागि सन् २०१९ ले खुसीको समाचार ल्याएको छ ।

र, यो समाचार हो, ‘द हु’ नयाँ एल्बमको तयारीमा छ । ब्यान्डका दुई प्रमुख अनुहार हुन्, पेट टाउन्सहेन्ड र रोजर डलट्ेर । टाउन्सहेन्ड भए, ७३ वर्षका । डलट्ेर त अझ एक वर्ष जेठा छन् । तर उनीहरूको जोस हेरिनसक्नु छ । उनीहरू एल्बम निकाल्ने सुरमा मात्र छैनन्, त्यससँग वल्र्ड टुर गर्ने योजनामा पनि छन् । खासमा ‘द हु’ ले वल्र्ड टुरका लागि निकै आकर्षक प्रस्ताव पाएको छ । अब यस्तो टुरमा निस्केपछि केही नयाँ गीत पनि त चाहियो नै ।

त्यसैले एल्बमको पनि सोच तयार भएको हो । ‘द हु’ ले अन्तिकपटक सन् २००६ मा आफ्नो एल्बम निकालेको थियो, ‘एन्डलेस वायर’ को नाममा । त्यो पनि अब १३ वर्ष भइसकेको छ । बास गितारिस्ट जोन एन्टविस्टलको निधनपछि लामो ब्यान्ड निष्क्रिय रहेको थियो । पछि उनीहरूले ‘होइन, यस्तो भएन’ भनेर एल्बम निकालेका थिए । अब अहिलेको दिन छ, उनीहरू एकैपल्ट नयाँ एल्बम र वल्र्ड टुरको सुरमा छन् । गज्जब हो नि, यो ।

नयाँ एल्बमको नाम पनि जुरेको छैन । तर त्यसमा समावेश हुने गीत भने टाउन्सहेन्ड र डलट्ेरको मनमा बसिसकेको छ । टाउन्सहेन्डले भनेका छन्, ‘धेरै नयाँ परीक्षण गर्ने प्रयास गर्न लागेका छौं । यो हेभ्भी रक त हुने नै छ ।’ सारमा भन्दा ‘द हु’ ले यति लामो समय जस्तो छवि बनाएको छ, गीत पनि उस्तै उस्तै हुनेछन्, धेरै फरक होइन । आखिरमा ब्यान्ड जे जतिका लागि लोकप्रिय रह्यो, त्यसको घेराबाट उनीहरू बाहिर जान चाहँदैन पनि ।

नयाँ एल्बमको भोक पछाडि टाउन्सहेन्डको गज्जब तर्क पनि छ । ब्यान्डका अधिकांश गीतका लेखेक यी गितारिस्ट भन्छन्, ‘हामीले के–के न ठूलो गर्दैछौं भनेर दाबी गर्दैनौं । यो आफूले आफ्नै खुसी र गर्वका लागि निकालिएको एल्बम हुनेछ । लेखक भएपछि केही लेख्दैछु भन्ने आत्मसम्मान पनि चाहिन्छ ।’ सायद ब्यान्डका सबै सदस्यले एउटा तथ्य के पनि अनुभव गरेका छन् भने अब उनीहरू पहिलेको जस्ता रहेनन्, साँच्चै बूढा नै भए ।

त्यसैले त डलट्ेरले भनेका छन्, ‘हामी अब बूढा भयौं । हाम्रो अनुहार पनि अब पहिलेजस्तो रहेन, चमक हरायो । त्यसैले हामी ग्ल्यामरस पनि रहेनौं । तर हामीसँग संगीत भने अझै बाँकी छ । त्यो नै हामी फेरि एकपल्ट प्रस्तुत गर्न चाहन्छौं ।’ यिनै गायकलाई मान्ने हो भने सायद यो एल्बम र वल्र्ड टुर दुवै ब्यान्डको अन्तिम हुनेछ । त्यसैले उनले यो पनि भनेका छन्, ‘सायद हामी अन्तिमपटक देखिने छौं ।’ हुन सक्छ, यो ‘द हु’ को अन्तिम प्रयास हुनेछ ।
twitter : @himeshratna

प्रकाशित : माघ ११, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×