‘द हु’ को अन्तिम प्रयास

हिमेश

काठमाडौँ — द हु’ ब्यान्डका प्रशंसक अझै धेरै छन् । सन् साठी र सत्तरीतिर धेरै नै ब्यान्ड अस्तित्वमा आए ।

त्यसमध्ये केही निकै सफल रहे । त्यसमध्ये पनि केही अझै सक्रिय छन् । यसमै पर्छ, इंग्लिस रक ब्यान्ड ‘द हु’ । सफल पनि । सक्रिय पनि । उनीहरूको दस करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको तथ्यले नै देखाउँछ, यो साँच्चै कति सफल ब्यान्ड हो भनेर । यो ब्यान्डको प्रशंसक हो भने उनीहरूका लागि सन् २०१९ ले खुसीको समाचार ल्याएको छ ।


र, यो समाचार हो, ‘द हु’ नयाँ एल्बमको तयारीमा छ । ब्यान्डका दुई प्रमुख अनुहार हुन्, पेट टाउन्सहेन्ड र रोजर डलट्ेर । टाउन्सहेन्ड भए, ७३ वर्षका । डलट्ेर त अझ एक वर्ष जेठा छन् । तर उनीहरूको जोस हेरिनसक्नु छ । उनीहरू एल्बम निकाल्ने सुरमा मात्र छैनन्, त्यससँग वल्र्ड टुर गर्ने योजनामा पनि छन् । खासमा ‘द हु’ ले वल्र्ड टुरका लागि निकै आकर्षक प्रस्ताव पाएको छ । अब यस्तो टुरमा निस्केपछि केही नयाँ गीत पनि त चाहियो नै ।


त्यसैले एल्बमको पनि सोच तयार भएको हो । ‘द हु’ ले अन्तिकपटक सन् २००६ मा आफ्नो एल्बम निकालेको थियो, ‘एन्डलेस वायर’ को नाममा । त्यो पनि अब १३ वर्ष भइसकेको छ । बास गितारिस्ट जोन एन्टविस्टलको निधनपछि लामो ब्यान्ड निष्क्रिय रहेको थियो । पछि उनीहरूले ‘होइन, यस्तो भएन’ भनेर एल्बम निकालेका थिए । अब अहिलेको दिन छ, उनीहरू एकैपल्ट नयाँ एल्बम र वल्र्ड टुरको सुरमा छन् । गज्जब हो नि, यो ।


नयाँ एल्बमको नाम पनि जुरेको छैन । तर त्यसमा समावेश हुने गीत भने टाउन्सहेन्ड र डलट्ेरको मनमा बसिसकेको छ । टाउन्सहेन्डले भनेका छन्, ‘धेरै नयाँ परीक्षण गर्ने प्रयास गर्न लागेका छौं । यो हेभ्भी रक त हुने नै छ ।’ सारमा भन्दा ‘द हु’ ले यति लामो समय जस्तो छवि बनाएको छ, गीत पनि उस्तै उस्तै हुनेछन्, धेरै फरक होइन । आखिरमा ब्यान्ड जे जतिका लागि लोकप्रिय रह्यो, त्यसको घेराबाट उनीहरू बाहिर जान चाहँदैन पनि ।


नयाँ एल्बमको भोक पछाडि टाउन्सहेन्डको गज्जब तर्क पनि छ । ब्यान्डका अधिकांश गीतका लेखेक यी गितारिस्ट भन्छन्, ‘हामीले के–के न ठूलो गर्दैछौं भनेर दाबी गर्दैनौं । यो आफूले आफ्नै खुसी र गर्वका लागि निकालिएको एल्बम हुनेछ । लेखक भएपछि केही लेख्दैछु भन्ने आत्मसम्मान पनि चाहिन्छ ।’ सायद ब्यान्डका सबै सदस्यले एउटा तथ्य के पनि अनुभव गरेका छन् भने अब उनीहरू पहिलेको जस्ता रहेनन्, साँच्चै बूढा नै भए ।


त्यसैले त डलट्ेरले भनेका छन्, ‘हामी अब बूढा भयौं । हाम्रो अनुहार पनि अब पहिलेजस्तो रहेन, चमक हरायो । त्यसैले हामी ग्ल्यामरस पनि रहेनौं । तर हामीसँग संगीत भने अझै बाँकी छ । त्यो नै हामी फेरि एकपल्ट प्रस्तुत गर्न चाहन्छौं ।’ यिनै गायकलाई मान्ने हो भने सायद यो एल्बम र वल्र्ड टुर दुवै ब्यान्डको अन्तिम हुनेछ । त्यसैले उनले यो पनि भनेका छन्, ‘सायद हामी अन्तिमपटक देखिने छौं ।’ हुन सक्छ, यो ‘द हु’ को अन्तिम प्रयास हुनेछ ।

twitter : @himeshratna

प्रकाशित : माघ ११, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

बम काण्डले फेरिएकी अरियाना

सजना बराल

काठमाडौँ — गायिका अरियाना ग्रान्डीका लागि सन् २०१८ सर्वाधिक खराब वर्ष रहन पुग्यो ।

बिलबोर्ड अवार्डमा ‘विमेन अफ द इयर’ उपाधि ग्रहण गर्दा उनी स्वयंले यो कुरा स्विकारेकी थिइन् । म्यान्चेस्टर कन्सर्टमा आक्रमण भएपछि उनले केही समय संगीतबाट ब्रेक लिइन् । त्यसपछि उनको ब्वाइफ्रेन्ड म्याक मिलरसँगको दुईवर्षे सम्बन्ध टुट्यो । लगत्तै मिलरको निधन भयो ।

पछिल्लो समय अरियानालाई गीत चोरीका आरोप लागिरहेका छन् । यसको शृंखला प्रिन्सेस नोकियाले सुरु गरेकी थिइन् । उनले आफ्नो गीत ‘माइन...’ का शब्द र फ्लो अरियानाले ‘सेभेन रिङ्ग्स...’ मा हुबहु गाएको भन्दै सामाजिक सञ्जालमा रोइलो काढिन् । र्‍यापर सोल्जा ब्वाई र टु चेन्जले पनि गायिकाको पछिल्लो सिंगल ट्रयाक शुद्ध सिर्जना नभएको बताएका छन् । तिनले आफ्ना गीतका कतिपय शब्द अरियानाका गीतमा समेत भएको दाबी गर्दै आएका छन् ।

यी सबैका बाबजुद सन् २०१८ उनका लागि व्यावसायिक रूपमा खास रह्यो । उनले आफ्नो चौथो एल्बम ‘स्विट्नर’ बाट ‘बेस्ट पप भोकल’ विधामा यसपालिको ग्रामी अवार्ड जित्ने अनुमान गरिएको छ । ‘थ्यांक्यु, नेक्स्ट...’ जस्ता सिंगल ट्रयाकले अनलाइन संगीत बजारमा रेकर्ड तोड्दै आएका छन् । आगामी मार्चमा उनी विश्व भ्रमणमा निस्किँदै छिन् । इंग्ल्यान्डको म्यानचेस्टर सहरमा विशेष प्रस्तुति दिने तय भएको छ । यही ठाउँमा सन् २०१७ मा उनको कार्यक्रमपश्चात् बम पड्काइएको थियो जसमा २२ जनाको ज्यान जाँदा गायिका भावविह्वल बनिन् । उनलाई मानसिक अस्वस्थतासमेत भयो ।
व्यक्तिगत र व्यावसायिक जीवनका उथलपुथल र मार्मिक घटनाले अरियानालाई कमजोर भने बनाएनन् । बरु उनी सशक्त र दयालु हुँदै आएको संगीत समीक्षकहरू बताउँछन् । उनले ‘वान लभ म्यानचेस्टर कन्सर्ट’ मार्फत उठेको १ करोड ७० लाख पाउन्ड पीडित र तिनका परिवारलाई दिएकी छन् । आफू पोस्ट–ट्रमाटिक स्ट्ेरस डिस्अर्डर (मानसिक समस्या) सँग जुधिरहेका बेलासमेत उनले पीडितको सहयोगार्थ कन्सर्ट गरिन् । फ्लोरिडा स्कुलमा भएको गोली काण्डमा बाँचेकालाई भेट्न गइन् ।

उनले अश्वेत जातिको पक्षमा आफूलाई उभ्याएकी छन् । अमेरिकामा जारी लैंगिक समानताको लडाइँमा उनी सहभागी छन् । ‘सबैजना मेरो विचारसँग सहमत छैनन् होला तर म आफ्नो गीत गाउन छोड्दिनँ,’ उनले भनेकी छन्, ‘म अरू मान्छेको मतलब गर्ने खालको मान्छे बन्न चाहन्छु । मेरो सम्पन्नता अरूको शिक्षामा खर्च गर्नेछु ।’ सांगीतिक रूपमा पनि उनी उज्यालोतर्फ मोडिएको द गार्जियल पत्रिकाले उल्लेख गरेको छ ।



‘स्विट्नर’ एल्बममा सकारात्मकताको सन्देश रहेको पत्रिकाको विश्लेषण छ । ‘थ्यांक्यु नेक्स्ट...’ मा उनले आफ्नो पूर्वप्रेमीसँगको सम्बन्धले सिकाएको पाठ अभिव्यक्त गरेकी छन् । हरेक अन्तर्वार्ता र अन्य कार्यक्रममा उनको बाल कलाकारवाला छवि उल्टिएर वयस्य बनेको देखिन थालेको छ । ‘हालसम्मको जिन्दगीको आधा भाग उनी सो–बिजनेसमै रहिन्,’ गार्जियन लेख्छ, ‘पछिल्ला १८ महिनामा उनको सार्वजनिक छवि फेरिएको छ ।’

उनी सन् २०१४ देखि मिडियामा छाउन थालेकी थिइन् । त्यो बेला उनीबारे गसिप सुरु हुन थालेको थियो । यिनले निकलोडियन टेलिभिजनमा कार्यक्रम गर्दा आफूलाई स्क्रिनमा राम्री देखाउन अनेक हत्कन्डा अपनाउँछिन् भन्ने हल्ला चलेको थियो । उनी गायनमा आएपछि उनको भोकल रेन्जलाई मराय क्यारीसँग दाँजियो । ‘ठूलो स्वर भएकी सानी केटी’ भन्दै उनलाई जिस्काउने गरियो । सन् २०१५ मा उनले ‘म अमेरिकी र अमेरिकालाई घृणा गर्छु’ भनेको भिडियो लिक भएपछि केहीले उनको विरोध गरे ।

पुराना दिनको कुरा गर्दा अरियाना अचेल विनम्र भएर माफी माग्ने गर्छिन् । बाल्यकालको मुख्र्याइँ भन्दै उनले आफ्नो त्यो अभिव्यक्तिलाई माफ गरिदिन आग्रह गर्दै आएकी छन् । सन् २०१७ को बम काण्डले उनी विक्षिप्त त बनिन् तर यसैले उनलाई विश्वविख्यात बनाइदियो । टेलर स्विफ्ट र डेमी लोभाटोजस्ता पप–स्टारको छायाबाट उनी अलग भइन् । घटनामा उनकी आमा दर्शकदीर्घातर्फ थिइन् । सबै भागाभाग गरिरहेका बेला आमा भने छोरी खोज्न स्टेजतर्फ लागेकी थिइन् ।

त्यो साँझ अरियानाले जे अभिव्यक्ति दिइन् त्यो ट्वीटरको इतिहासमा सबैभन्दा बढी लाइक पाएको ट्वीट थियो । उनले लेखेकी थिइन्, ‘टुटेकी छु । मेरो हृदयदेखि नै माफी माग्छु । मसँग थप शब्दै छैनन् ।’ त्यही आतंकवादी हमलाले अरियानालाई जिम्मेवार र गम्भीर बनाएको संगीत समीक्षकहरूको टिप्पणी छ । आफू लडेकै ठाउँबाट उठ्ने हिम्मत देखाउनु उनको साहस भएको तिनले बताएका छन् । ‘कुनै पनि पप–स्टारले यसअघि आतंकवादी हमलालाई आफ्नो जीवनको कोसेढुंगा बनाएका थिएनन् होला,’ न्युयोर्क टाइम्सका समीक्षक जोन परेलेस लेख्छन्, ‘बम काण्डलाई लिएर अरियानाले जस्तो प्रतिक्रिया देखाइन्, त्यसले उनलाई गम्भीर कलाकारको संज्ञा दिलायो ।’
sazna07@gmail.com

प्रकाशित : माघ ११, २०७५ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×