कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गर्भवती र सुत्केरीमा कोभिड–१९ को जोखिम कम’

रोगसँग लड्ने क्षमता बढी हुनु, घरबाट बाहिर कम निस्कनु, सरसफाइमा समेत बढी ध्यान दिनु, धूमपान र मद्यपान पनि कमै महिलाले गर्ने हुँदा तुलनात्मक रूपमा पुरुषभन्दा उनीहरूमा जोखिम कम छ । चिकित्सकहरूका अनुसार सरसफाइमा ध्यान दिने र सामाजिक दूरीमा बस्दा गर्भवती र सुत्केरीसमेत सुरक्षित हुन सक्छन् ।
फातिमा बानु

काठमाडौँ — गर्भवती र सुत्केरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमण फैलिएको पाँच महिनामा तीन सुत्केरी र पाँच जना गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २० मा एकै दिन एक सुत्केरी र दुई गर्भवतीमा संक्रमण रहेको पाइएको थियो ।

‘गर्भवती र सुत्केरीमा कोभिड–१९ को जोखिम कम’

उनीहरू सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र थापाथलीको प्रसूति गृहमा स्वास्थ्य जाँचका लागि पुगेका थिए । शनिबार भक्तपुरमा पनि एक सुत्केरीमा कोरोना पुष्टि भयो । मध्यपुर अस्तपालका शल्यक्रिया भएको ३० बर्षिया सुत्केरीमा कोरोना देखिएको हो ।

यसअघि ग्वार्कोको किस्ट मेडिकल कलेज र धुलिखेलमा उपचाररत १/१ जना सुत्केरी, हेटौंडाकी २५ वर्षीया र तेह्रथुमकी २० वर्षीया गर्भवतीसमेत संक्रमित भएका थिए । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भई धुलिखेलमा २९ वर्षीया सुत्केरीको संक्रमण जटिलताकै कारण मृत्युसमेत भएको थियो । उनमा मृत्युपश्चात् कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये आठ जना गर्भवती र सुत्केरीमा मात्रै कोभिड संक्रमण देखिएकाले आत्तिनुपर्ने स्थिति नभएको विज्ञहरु बताउछन् ।

संक्रमण फैलिन थालेलगत्तै अस्पतालमा नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यासमेत घटेको छ । संक्रमण हुने डरका कारण उनीहरू अस्पताल आउन छाडे या लकडाउनले यातायातमा कठिनाइ भएर यस्तो भएको हो, अहिले कुनै निष्कर्षमा पुग्न नसकिने प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । उनका अनुसार लकडाउनअघि यहाँ दैनिक ८० जनासम्म सुत्केरी हुन्थे, अहिले ५० देखि ६० जनासम्म सुत्केरी हुन आउँछन् । ओपीडी खुलै भए पनि निकै कम मात्रै गर्भ जाँचका लागि आउने गरेको उनले बताए । ‘डराएरै नआएको हो भने त्यस्तो त्रसित हुनुपर्ने केही छैन,’ उनले भने, ‘सामान्यभन्दा गर्भवतीमा रोगसँग लड्ने क्षमता धेरै हुन्छ, उनीहरूमा कोभिड संक्रमणको जोखिम निकै कम हुन्छ ।’

उनका अनुसार विश्वभर कोरोनाको संक्रमण पुरुषमा भन्दा महिलामा निकै कम देखिएको छ । त्यसमा पनि गर्भवती र सुत्केरी विरलै संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमणकै कारण पहिलोपटक मृत्यु भएकी संक्रमित सुत्केरी भएको घटनालाई जोडेर संक्रमित भएका सबै सुत्केरी बाँच्न सक्दैनन् भनेर व्याख्या गर्न नहुने उनको तर्क छ । जटिल अवस्था भए पनि गर्भवतीमा भाइरससँग लड्ने क्षमता पर्याप्त हुने उनको दाबी छ । ‘महिलामा रोगसँग लड्ने क्षमता बढी हुनु, घरबाट बाहिर कम निस्कनु र सरसफाइमा समेत बढी ध्यान दिनुले संक्रमण थोरै महिलामा मात्रै देखिएको हो,’ उनले भने, ‘फेरि धूमपान र मद्यपान पनि कमै महिलाले गर्ने हुँदा तुलनात्मक रूपमा उनीहरू धेरै सुरक्षित छन् ।’ सरसफाइमा ध्यान दिंदा र सामाजिक दूरीमा बस्दा गर्भवती सुरक्षित हुने उनको भनाइ छ ।

संक्रमण नै भइहाले पनि प्रसूति गृहमा सुरक्षाका साथ सुत्केरी गराउने व्यवस्था रहेको उनले बताए । ‘संक्रमितलाई सुत्केरी गराउन कुपन्डोलको नर्सिङ भवन छुट्याइएको छ,’ उनले भने, ‘कोरोनाकै उपचार भने हामी गर्न सक्दैनौं, सुत्केरी गराएपछि लेबल–३ को अस्पतालमा पठाउँछौं ।’ जेठ २० मा धादिङकी गर्भवतीमा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी ६० जना अहिले क्वारेन्टाइनमा छन् । ‘घरमा व्यवस्था हुने घर जान्छन्,’ उनले भने, ‘नसक्नेलाई अस्पतालमा खाने, बस्ने सुविधा छ ।’

स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार गर्भवती भन्दैमा सबैलाई कोरोना संक्रमणको जोखिम उत्तिकै छैन । गर्भवतीको सुरुको अवस्थालाई संक्रमण भए गर्भ खेर जान सक्ने सम्भावना भने रहने उनले बताए । ‘गर्भ रहिहाले पनि समयअगावै जन्मिन सक्छ,’ उनले भने, ‘समय नपुगी जन्मिएका शिशुलाई उपचार चाहिन सक्छ ।’ कोराना मात्रै नभएर गर्भवतीलाई कुनै पनि संक्रमण भए यस्ता समस्या आउने उनको भनाइ छ । अरू बेलाभन्दा यो समयमा गर्भवती र सुत्केरीले बढी सावधानी अपनाउनुपर्ने उनले सुझाए । ‘कोरोनाको त्रासका कारण गर्भ जाँच गर्न अस्पताल नजाने गर्नु हुँदैन,’ उनले भने, ‘घरमा सुत्केरी हुनु भएन, यसले थप जटिलता पैदा गर्न सक्छ ।’



प्रकाशित : जेष्ठ २५, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?