कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘एबीसीडीई जँचाऔं, मिर्गौला र मुटु बचाऔं’

एबीसीडीई अर्थात् पिसाबको प्रोटिन, उच्च रक्तचाप, क्रिएटिनिन, कोलस्टेरोल, मधुमेह र मिर्गाैलाको रक्त शुद्धीकरण दर अनिवार्य रूपमा जँचाउन सर्वसाधारणलाई प्रेरित गर्दै चिकित्सक
पर्वत पोर्तेल

झापा — धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु र मिर्गौला रोगका विशेषज्ञ चिकित्सक सञ्जीवकुमार शर्मा केही दिनयता झापामा छन् । खासगरी लक्षण नदेखिने रोगहरू मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटुबारे नि:शुल्क स्वास्थ्य शिविरसँगै स्वास्थ्य जनचेतना जगाउँदै आएको ‘केएचडीसी नेपाल’ नामक संस्थाका संस्थापक उनी जिल्लाका गाउँहरूमा नि:शुल्क उपचार गर्दै हिँडिरहेका छन् ।

‘एबीसीडीई जँचाऔं, मिर्गौला र मुटु बचाऔं’

बाहुनडाँगीमा माघ १८ देखि शिविर जारी छ । यसअघि उनले अर्को गाउँ दुवागढीमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेका थिए । ‘एबीसीडीई जचाऔं, मिर्गौला र मुटु बचाऔं’ भन्ने अभियानको नारा छ । एबीसीडीई अर्थात् पिसाबको प्रोटिन, उच्च रक्तचाप, क्रिएटिनिन, कोलस्टेरोल, मधुमेह र मिर्गौलाको रक्त शुद्धीकरण दर अनिवार्य रूपमा जँचाउन अभियानले सर्वसाधारणलाई प्रेरित गर्छ ।

‘मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोगको लक्षण भनेकै लक्षण नहुनु हो,’ प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक शर्माले अनुभव सुनाए, ‘यस्ता रोग भित्रभित्रै बढिरहेको पत्तै हुँदैन । जब अंग बिग्रिन्छ, तब पक्षघात हुन्छ, हृदयाघात हुन्छ अनि मात्रै थाहा हुन्छ ।’ उनका अनुसार यस्तो रोग ‘साइलेन्ट किलर’ हुन्छ । यो भुसको आगोजस्तो भित्रभित्रै सल्किन्छ । शरीर बिगार्छ ।

यस्तै रोगविरुद्धको अभियानमा जुटेका छन् शर्मा । जनमानसमा जान्छन् । अन्तक्र्रिया गर्छन् । रोगबारे जानकारी गराउँछन् र रोग लाग्न नदिने उपाय सिकाउँछन् । ‘साधारण उपचारमार्फत रोग निको पार्ने अभियान हो हाम्रो,’ शर्माले भने, ‘अर्को पाटो स्वस्थ जीवनशैली अपनाएर ती रोग लाग्नै नदिने हो ।’

यो अभियानअन्तर्गत तीन तहमा काम भइरहेको छ । पहिलो जनमानसमा जाने, दोस्रो स्वास्थ्यकर्मीलाई तालिम दिने र तेस्रो स्थानीय सरकारसँगको सहकार्यमा काम गर्ने । ‘यहीअन्तर्गत मेचीनगरका दीर्घ रोगीलाई नि:शुल्क औषधि उपलब्ध गराउने विषयमा नगरपालिकासँग सम्झौता गरेका छौं,’ उनले भने । धुलाबारी स्वास्थ्य चौकीले ल्याब पनि सुरु गरेको छ । मेचीनगरका मेयर विमल आचार्यले यो अभियानले नगरका धेरै सर्वसाधारणलाई स्वस्थ र सचेत बनाउने जनाए । भने, ‘सिंगो नगरलाई नै निरोगी बनाउने अभियानमा छौं ।’

उनले यो अभियान क्रममा स्वास्थ्य परीक्षण गरिएका ५० प्रतिशतभन्दा बढी मानिसमा मधुमेह र उच्च रक्तचाप अत्यधिक देखिएको जनाए । अभियानअन्तर्गत ६० हजारभन्दा बढी मानिसको स्वास्थ्य जाँच गरिसकिएको छ, जसमा उच्च रक्तचापको स्थिति भयावह पाइएको छ । २० वर्षभन्दा माथि सय जनामा ३८ जनालाई उच्च रक्तचाप छ । मिर्गौलाको रोग १० प्रतिशतलाई छ । मधुमेह ६ देखि ८ प्रतिशत, मुटुरोग ३ प्रतिशतलाई छ । ‘यसको अर्थ के हो भने यो संख्या भनेको चैं अत्यधिक हो,’ उनी भन्छन्, ‘यस्ता रोग लागिसकेपछि उपचारमा सरकार र परिवारले धान्न सक्दैन तर सुरुमै उपचार गरेर निको पार्न सकिन्छ ।’

बाहुनडाँगीमा स्वास्थ्य जाँच गरिएका ७ सय १ जनामध्ये ४ सय ९० जनाको केही न केही खराबी देखिएको छ । ३२ जनालाई पहिलोपल्ट मधुमेह देखिएको छ । कोलस्टेरोल २ सय ४८ र उच्च रक्तचाप १ सय ४८ जनालाई देखियो । मिर्गौलाका नयाँ रोगी १९ जना भेटिए । ‘उच्च रक्तचाप भएका मध्ये ५० प्रतिशतलाई अनिवार्य पक्षघात हुन्छ, हामीले दिएको सल्लाह मान्नुभयो भने हामी रक्तचापका धेरै बिरामीलाई पक्षघात हुनबाट रोक्न सक्नेछौं,’ उनले भने ।

उनका अनुसार उच्च रक्तचापको पनि लक्षण देखिँदैन । त्यही भएर हामीलाई औषधि खानुपर्छ जस्तो लाग्दैन । म स्वस्थ छु भन्ने भ्रम हुन्छ । औषधि खाएन भने पक्षघात हुन सक्छ, हृदयाघात हुन सक्छ र मिर्गौला बिग्रिन सक्छ ।

प्रकाशित : माघ २९, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?