कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दादुरा–रुबेलाबाट जोगिन दुईपटक खोप

पहिलो खोप लगाउँदा ८५ प्रतिशतसम्म र दोस्रोपटक लगाउँदा ९५ प्रतिशतसम्म संक्रमण रोकिन्छ
अतुल मिश्र

काठमाडौँ — धादिङमा हालै २७ जना बालबालिकामा बिमिरा, ज्वरोलगायतका समस्या देखियो । एक साताअघि मात्र उक्त ठाउँमा दादुराको प्रकोप देखिएको प्रमाणित भएको हो । 

दादुरा–रुबेलाबाट जोगिन दुईपटक खोप

खोपको माध्यमले संक्रमण रोक्न सकिने स्थिति हुँदाहुँदै पनि गत वर्ष मुलुकमा ४ सय २८ वटा दादुरा र करिब एक सयवटा रुबेलाका केस देखिए । खोपका माध्यमले जोगिन सकिने दादुरा र रुबेला अत्यन्तै संक्रामक रोग मानिन्छ । दादुरा (मिजल्स) ‘पारामिक्सोभाइरस’ परिवारमध्येको एउटा भाइरसले गर्दा हुन्छ । यसलाई ‘रुबेओला’ समेत भनिन्छ । तर यो ‘रुबेला’ भन्दा फरक हो ।


रुबेला पनि भाइरसबाटै हुने संक्रमण हो । यो ‘रुबेला’ भाइरसले गर्दा हुन्छ । जो ‘तागाविरदे’ परिवारको ‘रुबिभाइरस’ प्रजातिको हो । यो संक्रमण ‘जर्मन मिजिल्स’ को नामले समेत चिनिन्छ । दादुरा र रुवेला दुवै भाइरसका लागि हालसम्म कुनै विशिष्ट एन्टिभाइरल उपचार छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०१८ मा दादुराले गर्दा विश्वभरिमा १ लाख ४० हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । दादुराले गर्दा मृत्युवरण गरेका अधिकांश ५ वर्षमुनिका बालबालिका थिए । यस्तै सन् २०१८ मा विश्वको १ सय ५१ मुलुकमा १४ हजार ६ सय २१ रुबेलाको केस देखिएको थियो । रुबेलाको सबैभन्दा बढी संक्रमण अफ्रिका र दक्षिणपूर्वी एसिया क्षेत्रमा देखिएको हो ।

ज्वरोसँगै शरीरमा बाक्लो रूपमा बिमिरा देखिएमा दादुरा र पातलो रूपमा बिमिरा देखिँदा रुबेलाको आशंका गरिने औंल्याउँदै स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतम यो दुवै संक्रमणको लक्षणमा खासै अन्तर नदेखिने बताउँछन् । दादुरामा मृत्युदर जटिलता अलि बढी देखिन्छ भने रुबेलाको मृत्युदर अलि कम छ । हालसम्म दादुरा र रुबेला संक्रमणबाट बच्ने एकमात्र उपाय भनेको यो रोगविरुद्घको खोप नै हो ।


हाल ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि दादुरा र रुबेलाको खोप अभियान फागुन र चैत महिनामा मुलुकभरि जारी छ । यसको संक्रमण भए/नभएको पुष्टि प्रयोगशाला परीक्षणबाट समेत गरिन्छ । उसो त सामान्य रूपमा चिकित्साकर्मीले लक्षणको आधारमा पनि दादुरा र रुबेला रोगको पहिचान गर्न सक्छन् ।


दादुरा

छिटो सर्ने अति संक्रामक भाइरसले हुने दादुरा फैलिएपछि महामारीको रूप लिन सक्ने सम्भावना हुन्छ । मुख्य रूपमा ५ वर्षमुनिका बालबालिकामा यो संक्रमण देखिए पनि यो कुनै पनि उमेर समूहमा यसको संक्रमण हुन सक्छ ।

दादुराले ग्रस्त बालबालिकामा अन्धोपना, इन्सेफलाइटिस (मस्तिष्कज्वरो), कडा पखाला, कानको संक्रमण, श्वासप्रश्वासको कडा संक्रमण निमोनिया, कम्पन आदि देखिन सक्छ । यो रोगको संक्रमण भएपछि उत्पन्न जटिलताले गर्दा नै धेरैजसो बिरामीको मृत्यु हुने गरेको छ । दादुराले गर्दा हुने गम्भीर जटिलता ५ वर्षमुनिको बालबालिका र ३० वर्ष माथिका वयस्कमा बढी देखिने गर्छ । दादुराको पहिलो लक्षण सामान्यतः उच्च ज्वरो हो । डब्लूएचओका अनुसार, यो ज्वरो भाइरससँग सम्पर्क भएको १० देखि १२ दिनमा देखिन थाल्छ र ४ देखि ७ दिनसम्म रहन्छ । प्रारम्भिक अवस्थामा नाकबाट पानी बग्नु, खोकी, आँखा रातो हुनु र पानी बग्नुको साथै गाला र मुखभित्रको भागको रातो सतहमा सेतो दाग (कोपलिक स्पट) देखिन्छ ।


केही दिनपछि अनुहार र घाँटीको माथिल्लो भागमा रातो बिमिरा देखिन्छ । करिब ३ दिनपछि बिमिरा फैलिन थाल्छ र हात एवं खुट्टासम्म पुग्छ । बिमिरा ५ देखि ६ दिनसम्म रहेर विस्तारै मध्यम हुन थाल्छ । औसत रूपमा भाइरससँग सम्पर्क भएको १४ दिनपछि बिमिरा देखिन्छ । यो ७ दिन देखि १८ दिनसम्मसमेत देखिन सक्छ ।

रुबेला

रुबेला तीव्र रूपमा फैलिने सरुवा रोग हो । यो संक्रमणले बालबालिकामा मध्यम ज्वरो र बिमिरा आउने, आँखा पाक्ने समस्या, वाकवाकी आदि देखिन्छ । डब्लूएचओका अनुसार यो भाइरस शरीरमा प्रवेश गरेको २ देखि ३ साताभित्र रोगको लक्षण देखा पर्छ । लक्षणअन्तर्गत सबैभन्दा पहिले शरीरमा बिमिरा देखिनुका साथै ज्वरो घाँटीका ग्रन्थीहरू वृद्घि हुनेलगायतका लक्षण देखिन्छन् ।


बिमिरा करिब ५० देखि ८० प्रतिशत केसहरूमा देखिन्छ । बिमिरा अनुहारबाट देखिन सुरु भएपछि शरीरको विभिन्न भागअन्तर्गत खुट्टासम्म फैलिन्छ । यस्ता बिमिरा करिब १ देखि ३ दिनपछि आफैं हराउँछ । यो बिमिरा देखिएको १ देखि ५ दिनसम्म संक्रमितले सबैभन्दा बढी रोग सार्न सक्छ ।


संक्रमित वयस्क र त्यसमा पनि मुख्य रूपले महिलामा अर्थराइटिस र जोर्नीको दुखाइ ३ देखि १० दिनसम्म देखिन सक्छ । गर्भावस्थाको सुरुबाट रुबेलाबाट संक्रमित महिलाले भ्रुणमा यो संक्रमण सार्ने ९० प्रतिशत सम्भावना हुन्छ । तर गर्भावस्था त्यसमा पनि गर्भको पहिलो तीन महिनाको समय रुबेला संक्रमण हुँदा गर्भपात, मरेको बच्चा जन्मनु वा जन्मेको बच्चामा जन्मजात दोष (कन्जेन्टाइनल रुबेला सिन्ड्रोम) देखिन सक्छ । गर्भवती महिलामा रुबेला संक्रमणले बच्चामा जन्मजात दोषजस्तै मन्दबुद्घि, अन्धोपना, बहिरोपना, मुटुमा प्वाललगायत रोग देखिन सक्छ ।

उपचार

दादुरा र रुबेला रोगको कुनै विशिष्ट उपचार छैन । हाम्रो शरीरलाई आफैं यो संक्रमणविरुद्घ लड्नुपर्छ । संक्रमितलाई लाक्षणिक उपचार गरिन्छ । यसअन्तर्गत बिरामीमा उत्पन्न हुने लक्षण वा जटिलताको उपचार गरिन्छ ।


यसरी सर्छ दादुरा र रुबेला यो दुवै रोग मुख, नाकबाट निस्किने पानीका ससाना थोपाबाट एकअर्कामा सर्ने गरेको छ । मुख्य रूपले यो श्वासप्रश्वासका माध्यमले सरे पनि बिरामीको नाक र मुखबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदासमेत यो रोग लाग्छ । रोगले संक्रमित व्यक्तिको घाँटी, नाकमा दादुरा उत्पन्न गराउने भाइरस रहन्छ । यसैले गर्दा बिरामीको मुख, नाकबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउने व्यक्तिमा रोग सर्छ ।


एकजना खोप नलगाएका दादुरा संक्रमितले १६ जनासम्मलाई रोग सार्छ । डब्लूएचओका अनुसार, दादुरा उत्पन्न गराउने भाइरस हावा वा सतहमा दुई घण्टासम्म बाँच्न सक्छ । संक्रमित व्यक्तिले शरीरमा बिमिरा आउनुभन्दा ४ दिनअघिदेखि बिमिरा निस्केका ४ दिनपछिसम्म अरूलाई संक्रमित पार्न सक्छन् । भनिन्छ, दादुरा संक्रमित कुनै व्यक्ति कुनै कोठामा दुई घण्टा पहिले भएको अवस्थामा समेत त्यो कोठामा पुग्नेलाई श्वासप्रश्वासद्वारा संक्रमित हुन सक्ने खतरा रहन्छ ।

दादुरा–रुबेला खोप

मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत सन् १९७९ देखि दादुरा खोप समावेश गरिएको हो । तर त्यसताका एकमात्र खोप दिइने गरिन्थ्यो । दादुराको खोप दिइए पनि मुलुकमा दादुराजस्तै देखिने संक्रमण देखिएपछि प्रयोगशाला परीक्षण गर्दा ‘रुबेला’ को संक्रमण देखिएको हो ।


यसपछि सन् २०१३ देखि दादुरासँगै रुबेलाको खोपसमेत नियमित खोपअन्तर्गत दिन थालिएको डा. गौतम बताउँछन् । तर त्यसताका सम्म ९ महिनाको उमेरमा एकपटक मात्र उक्त खोप दिइने गरिन्थ्यो । सन् २०१५ देखि दादुरा र रुबेला खोपको पहिलोसँगै दोस्रो मात्रासमेत नियमित खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको हो ।


हाल राष्ट्रिय खोप तालिकाअनुसार, शिशु ९ महिनाको हुँदा दादुरा–रुबेला खोपको पहिलो मात्रा दिइन्छ भने १५ महिनाको हुँदा दोस्रो मात्रा दिइन्छ । ‘एक मात्रा खोप लगाउँदा ८५ प्रतिशतसम्म प्रभावकारिता रहन्छ भने दुई मात्रा खोप लगाउँदा ९५ प्रतिशतसम्म संक्रमणलाई रोक्दो रहेछ,’ डा.गौतम भन्छन्, ‘दादुरा र रुबेला खोप नियमित खोप कार्यक्रममा दिनुको साथै अभियान सञ्चालन हुँदासमेत दिनुपर्छ ।’

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?