कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘क्यान्सर भयानक रोग होइन’

फातिमा बानु

सुर्खेतका पाँच वर्षीय बालक एक वर्षअघि खाटबाट लडेर घाइते भए । नजिकैको अस्पतालमा एक्सरे गर्दा घाँटीमुनिको हड्डी फुस्किएको रिपोर्ट आयो । लडेको दिनदेखि नै उनमा कडा ज्वरो आइरहने समस्या देखियो । ‘औषधि खाएको २ घण्टाजति खेल्थ्यो, फेरि उस्तै,’ उनकी आमाले भनिन् ।

‘क्यान्सर भयानक रोग होइन’

हड्डीको समस्या निको भए पनि महिनौंसम्म ज्वरो नघटेपछि रगत जाँच गरियो । रिपोर्टपछि क्यान्सरको शंकामा डाक्टरले बालकलाई तुरुन्तै काठमाडौं लैजान सुझाए । ‘क्यान्सर शब्द सुन्नेबित्तिकै अब छोरा रहँदैन जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यसै रात गाडी चढेर काठमाडौं हिँड्यौं ।’


महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा बालकलाई रगतको क्यान्सर पहिचान भयो । अहिले कान्तिमै उनको उपचार भइरहेको छ । उपचारमा संलग्न डा. विष्णुरथ गिरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । अझै दुई वर्ष उनलाई उपचार आवश्यक पर्छ । सुर्खेतबाट महिनाको एकपटक उनलाई उपचारका लागि काठमाडौं ल्याउने गरिएको छ । ‘क्यान्सर लागिसकेको बच्चा बाँच्दैन भनेर घरबाट आउन दिँदैनन्,’ आमाले भनिन्, ‘तर बच्चा निको हुँदै गइरहेको छ, डाक्टरले भनेसम्म उपचार गराइरहन्छु ।’


अर्घाखाँचीकी एक बालिका उमेरले पाँच वर्ष पुग्दै छिन् । दुईपटक टाउकाको शल्यक्रिया भइसक्यो । देब्रे हात राम्ररी चल्दैन । खुट्टा पनि लुला छन् । ‘हात तल–माथि गर्नबाहेक देब्रे हातले त्यति भर दिँदैन,’ उनका बुबाले भने, ‘हामीले यादै गरेका थिएनौं । दुखेको पनि कहिल्यै थाहा भएन ।’ बालिकाका अभिभावकले नसाको समस्याले हात चलेन होला भन्ने अनुमान लगाए । उपचारका लागि त्रिवि शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अन्नपूर्ण न्युरो, वीर अस्पतालसम्म पुगे । ‘टाउकोभित्र ट्युमर पलाएको पत्ता लाग्यो,’ उनले भने, ‘दुईचोटि अप्रेसन गर्दा पनि ट्युमर अझै बढ्न सक्छ भनेका छन् ।’ बालिका हाल कान्ति बाल अस्पतालमा उपचाररत छिन् । चिकित्सकका अनुसार उनको रोग ब्रेन क्यान्सरको हो । उपचारकै लागि एक वर्षदेखि उनका अभिभावक काठमाडौंमा बसेका छन् ।


यी दुईजस्तै कान्ति बाल अस्पतालमा अहिले ६ सय ५० क्यान्सर रोगका बालबालिका उपचारको सम्पर्कमा छन् । बाल क्यान्सर रोग विशेषज्ञ डा. गिरीका अनुसार रोग पत्ता लाग्नेबित्तिकै उपचार गराउने हो भने निको हुने सम्भावना धेरै हुन्छ । ‘क्यान्सर जनमानसले सोचेजस्तो भयानक र मृत्युसँग दाँज्नुपर्ने खालको छैन,’ उनले भने, ‘हाम्रो देशमा एक त समयमा रोग पत्ता लाग्दैन, अर्को उपचार ढिलो हुने भएकाले मृत्युदर धेरै भएको हो ।’ रोग चाँडै पहिचान नहुनु, पहिचान भइहाले पनि उपचार ढिलो हुनु र उपचार नै नगर्ने परिपाटीले नेपालमा बाल क्यान्सर रोगको मृत्युदर विकसित मुलुकमा जसरी घट्न सकेको छैन । ‘बिरामी ढिलो पहिचान हुन्छन्,’ उनले भने, ‘कतिपय टेस्ट भारत लगेर गर्नुपर्छ जति ढिलो भयो उति मृत्युको जोखिम हुन्छ ।’


बालबालिकामा विशेषगरी रगतसँग सम्बन्धित (एलल) क्यान्सर बढी देखिन्छ । कान्तिमा उपचाररत ३५ प्रतिशत बालबालिकामा एलल नै देखिएको छ, जुन उपचार गर्दा निको हुन्छ । डा. गिरीका अनुसार बालबालिकामा देखिने ५५ प्रतिशत क्यान्सर रगतसँग सम्बन्धित छन् । यसबाहेक मिर्गौला, ब्रेन, न्युरो र आँखाको क्यान्सर पनि देखिन्छ । ‘शरीरमा डीएनए गडबडीका कारण बालबालिकामा क्यान्सर देखिन्छ तर यो वंशाणुगत होइन,’ उनले भने, ‘वंशाणुगत हो भन्ने भ्रमका कारण समाजमा बिरामीमाथि विभेद हुने गरेको छ ।’


उपचारको पहुँच नहुँदा क्यान्सरका बालबालिकालाई राजधानी नै धाउनुपर्ने बाध्यता छ । फलोअपमा नआई कतिपय बिरामीले बीचैमा उपचार छाड्ने गरेको डा. गिरी बताउँछन् । ‘क्यान्सरको उपचारका लागि कम्तीमा तीन वर्ष नियमित फलोअप गर्नुपर्छ,’ उनले भने, ‘बिरामीपक्षलाई उपचारमा भन्दा पनि आउन–जान र खान–बस्न बढी खर्च गर्नुपर्ने स्थिति छ ।’ प्रदेश अस्पतालमा क्यान्सरको उपचार हुने व्यवस्था भए बाल क्यान्सरको मृत्युदर घटाउन सकिने उनले बताए । बालरोग विशेषज्ञ नर्सलाई क्यान्सर उपचारको आधारभूत तालिम मात्रै दिए पनि फलोअप उपचार सहज हुने उनको भनाइ छ । बिरामी डेढ सय रुपैयाँको इन्जेक्सन लिन पनि राजधानी नै धाउने गरेका छन् । कान्ति बाल अस्पतालको अगुवाइमा सातै प्रदेशका मुख्य अस्पतालका चिकित्सक र नर्सलाई क्यान्सरको तालिम दिने तयारी भइरहेको डा. गिरीले बताए ।


विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाको जिन र वातावरण अध्ययन गर्दा नेपालमा बर्सेनि दुई हजारको हाराहारीमा क्यान्सरका बालबालिका पत्ता लाग्नुपर्ने उल्लेख गरेको छ । सरकारले समुदायमा पुगेर बिरामी खोज्ने र उपचार गर्ने अभियान चाल्नुपर्ने बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटाले बताए । ‘कान्ति बाल अस्पतालमा बर्सेनि दुई सय बालबालिका मात्रै उपचारमा आउँछन्,’ उनले भने, ‘२५ प्रतिशतभन्दा कम बच्चामा मात्रै क्यान्सर पत्ता लागेको छ ।’ भक्तपुर क्यान्सर अस्पताल र भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बर्सेनि करिब तीन सय बिरामी मात्रै उपचारका लागि सम्पर्कमा आइरहेका छन् ।

प्रकाशित : माघ २१, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?