औषधि प्रयोग नगरी रक्तचाप कसरी घटाउने?

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभरमा १० करोड मानिसहरुमा उच्चरक्तचापको समस्या रहेको छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ ।

ZenTravel

तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन्।

Meroghar

जीवनशैली र उच्च रक्तचाप
विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ।यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन्।

औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्।
औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त?यस्ता रहेका छन् ५ वटा टिप्सः

शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपार्इंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ। व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ।

स्वास्थ्य आहारविहारः स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ। जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो।

कम तौलः तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्‍याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन।

मद्यपान कम गर्ने :एक अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ।

धुमपान त्याग्ने :धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउने गर्दछ। चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ। अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ।

आफ्नो रक्तचाप कसरी नियन्त्रणमा ल्याउने त्यो व्यक्तिगत लगाव र मेहनतले हुन्छ। यदि तपाईं पनि उच्च रक्तचापको बिरामी हुनुुहुन्छ र औषधि प्रयोग बिना रक्तचाप नियन्त्रणमा ल्याउन चाहनुहुन्छ भने तपाईका लागि यो पावरफुल थेरापी हुन सक्छ।
वेब मेड बाट

प्रकाशित : पुस २८, २०७६ १७:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीपी प्रतिष्ठानकाे अक्सिजन प्लान्ट बिग्रियाे, शल्यक्रिया सेवा अवरुद्ध

प्रदीप मेन्याङ्बो

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट आइतबार राति ११ बजेदेखि बिग्रेर अक्सिजन उत्पादन गर्न नसकेपछि बिरामीको शल्यक्रिया तत्कालका लागि बन्द गरिएको छ । प्रतिष्ठानका चारवटा अप्रेसन थिएटरमा जाने अक्सिजन पाइपलाइनको मुख्य पाइपलाइनबाटै अक्सिजन आपूर्ति नभएपछि बिरामीको अप्रेसन हुन नसकेको हो  ।

प्रतिष्ठानमा माइनर र मेजरगरी दैनिक ७० देखि ८० वटा अप्रेसन हुने गरेको छ। तर यसपटक आफ्नै अक्सिजन प्लान्टमा एक्कासि खराबी आएपछि अप्रेसन गर्न थिएटरमा छिराइसकिएका बिरामीकोसमेत अप्रेसन रद्द गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ। आकस्मिक कक्षमा र सघन उपचार कक्षमा भने अक्सिजन सिलिन्डर राखिएका छन्।

प्रतिष्ठानजस्तो दैनिक ३५ सय बिरामी उपचारका लागि आउने, हजार बढी शैयामा बिरामी भर्ना गरेर उपचार हुने स्वास्थ्य संस्थामा अक्सिजन प्लान्टकै कारण अप्रेसन रोकिएको प्रतिष्ठान स्थापनायताको यो पहिलो घटना हो। ०६२/०६३ को जनआन्दोलन हुँदा पनि प्रतिष्ठानमा अप्रेसन थिएटर खाली राखिएको थिएन।

प्रतिष्ठानका सर्जिकल विभागका प्रमुख डाक्टर राकेश गुप्ताले भने, ‘अप्रेसन गर्ने बेलामा अक्सिजन आपुर्ति नभएपछि अधिकांश बिरामीको अप्रेसन समय पोस्टपोन्ड गर्नुपरेको छ। प्रतिष्ठानले अक्सिजनको व्यवस्था गरेपछि फेरि अप्रेसन थिएटर चालु हुन्छ।’ अर्का एक चिकित्सकले अप्रेसन थिएटरमा बिरामीका लागि अनिवार्य आपुर्ति गर्नुपर्ने अक्सिन नै रोकिएलगतै अस्पताल प्रशासनले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यो पनि गर्न नसकेको बताए। ती चिकित्सकले भने, ‘हामी त चिकित्सक मात्र हौं। तर बिजुली, पानी, अक्सिजनजस्ता आवश्यक प्राविधिक विषयको उपचार त गर्न सक्दैनौं नि। अस्पताल व्यवस्थापन गर्न भनेर पदाधिकारीहरु छन्। हजारजना बढी त कर्मचारी मात्र छन्। विद्युत हेर्ने, तथ्यांक हुर्ने, कर्मचारी हर्ने, भौतिक पूर्वाधार हेर्ने, मेडिकल उपकरण हेर्ने विभागहरु छन्। तर खै के हेरेर बस्छन् थाहा छैन।’
अप्रेसन थिएटर नै बन्द भएपछि बिरामी र उनीहरुका आफन्तले चिकित्सकहरुलाई बारम्बार फोन गरेर तनाव दिएको अर्का चिकित्सकले बताए। अक्सिजनले भरिएको सिलिन्डर राखेर पनि अप्रेसन गर्नुपर्ने विकल्प छ। तर प्रतिष्ठानले अक्सिजन सिलिन्डरसमेत पर्याप्त नराखेकाले मुख्य अप्रेसन थिएटरमा बिरामीको अप्रेसन गर्न नसकिएको चिकित्सकहरुले बताए।

भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युट मेडिकल साइन्सको मोडल अनुसार प्रतिष्ठान स्थापना भएपनि व्यवस्थापन पक्ष र सरकारले प्राथमिकतामा नराखेपछि प्रतिष्ठानमा मेडिकल उपकरण बिग्रीरहने, अत्यावश्यक अक्सिजन प्लान्ट, सीटी स्क्यान, एमआरआई, भिडियो एक्सरे मेसिनमा खराबी आइरने गरेको चिकित्सकहरुले बताएका छन्।

आइतबार राति बिग्रेको अक्सिजन प्लान्ट गत माघ २४ गते जडान गरिएको हो। भारतीय आपूर्तिकर्ता युनिषी इन्डिया (युएनएसएसआई इन्डिया) र नेपाली आपूर्तिकर्ता काठमाडौंको डाइग्नोकेनले उपलब्ध गराएको भएपनि यो समेत गरी तीन पटक बिग्रीसकेको छ। प्रतिष्ठान स्रोतका अनुसार अक्सिजन प्लान्टको कम्प्रेसर मेसिन बिग्रेको बताइएको छ। प्रतिष्ठानका इलेक्ट्रोमेड विभागका प्रमुख इन्जिनियर राहुल मिश्रले भने, ‘प्लान्टमा प्राविधिक समस्या आएको हो। बनाउने प्रयास गरिरहेका छौं। बाँकी जवाफ अस्पताल प्रशासनलाई सोध्नुहोला।’

तीन पटक बिग्रेको अक्सिजन प्लान्ट
तत्कालिन उपकुलपति प्रा डा बलभद्र प्रसाद दासको कार्यकालमा ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट आपूर्ति गरिएपनि खुला चौरमा करिब एक वर्ष डम्प गरेर राखिएको थियो। जडान गरेको भोलिपल्ट अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन जेनेरेटरमध्ये एउटाले काम नगरेपछि प्रतिष्ठानले दुवै आपूर्तिकर्ता कम्पनीहरु युनिषि इन्डिया र डाइग्नोकेनलाई सम्झौता अनुसारको अक्सिजन प्लान्ट जडान गर्न पत्राचार गरेको थियो। युनिषि र डाइग्नेकेनले ल्याइदिएको उक्त प्लान्टको अक्सिजन जेनेरेटर स्लोभाकियाको अक्सिवाइज, एयर कम्प्रेसर जर्मनको केजर, अक्सिजन बुस्टर अमेरिकाको आरआइएक्स र मेनिफोल्ड इटालीको एफडी कम्पनीले बनाएको हो।

स्पेसीफिकेसनमा प्लान्टको उत्पादन क्षमता १६ सय लिटर प्रति मिनेट रहेको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने जनाइए पनि युनिषि र डाइग्नोकेनले उपलब्ध गराएको प्लान्ट बिग्रनुअघि ८ सय लिटर प्रतिमिनेट मात्र रहको थियो। काठमाडौंस्थित डाइग्नोकेनका सञ्चालक विज्ञान अर्यालले यसअघि बिग्रेको अर्को अक्सिजन जेनेरटरको जियोलाइट अझै आपूर्ति गर्न नसकेको प्रतिष्ठानले स्रोतले बतायो। सुनसरीको दुहवीमा ८० लाख रुपैयाँ लागतमा जडान गरेको दुर्गा अक्जिसन प्लान्टले पूर्वको सबै अस्पतालहरुमा अक्सिजन आपूर्ति गर्न भ्याएको बेला प्रतिष्ठानमा सवा तीन करोडको प्लान्ट जहिल्यै बिग्रने र स्पेसीफिकेसन अनुसार आधामात्र उत्पादन गर्दै आएकाले खरिद प्रक्रियामै खोट रहेको बताउन थालिएको छ।

प्रकाशित : पुस २८, २०७६ १७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×