कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाद मात्रै बढाउँदैन धनियाँले

काठमाडौँ — नेपाली भान्सामा प्रयोग हुने सुगन्धित धनियाँ पाँच हजार वर्ष अघिदेखि खानपानमा उपयोग हुँदै आएको छ । आलु, काउली, मटरको तरकारीमा धनियाँको पात राख्दा तरकारीको स्वाद नै फरक पर्छ । सबैजसो तरकारी तथा सलादमा उपयोग गरिने धनियाँको चटनीले दिने स्वाद त झन् जीब्रामै अल्झिन्छ । 

स्वाद मात्रै बढाउँदैन धनियाँले

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने धनियाँको उपयोग सामान्यतः सब्जीको सजावट, ताजा मसला र सुगन्धका रूपमा गरिन्छ ।

१८ औं शताब्दीमा धनियाँ बीउको उपयोग ‘माउथ फ्रेसनर’ का रूपमा गरिन्थ्यो । मांसाहारी तथा शाकाहारी खाना, नमकिन, सुप आदिमा पनि धनियाँको उपयोग राम्रो मानिन्छ । यसले खानाको स्वाद बढाएर रुचिकर बनाउँछ ।


सामान्यतः धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र नभई यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ । धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ ।


यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ । धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुन्छ ।

हरियो धनियाँले पेटको समस्यालाई समेत हटाउने मान्यता छ । यसले थकाइ, कमजोरी आदि समेत हटाउँछ । आयुर्वेदअनुसार धनियाँले पाचन शक्तिसमेत बढाउँछ । हरियो धनियाँको उपयोगले शरीरलाई आराम प्रदान गर्नुका साथै यसको उपयोगले निद्रासमेत राम्ररी आउँछ ।


आयुर्वेद विज्ञानका अनुसार धनियाँको पातलाई पिँधेर टाउकामा लगाउनाले दुखाइ निको हुन्छ । शरीरको कुनै अंग सुन्निएमा यसको लेपले फाइदा पुर्‍याउँछ ।


धनियाँको पातले स्मरणशक्ति बढाउँछ भने यो मुटुका लागि समेत फाइदाजनक मानिन्छ । यसमा पाइने लिनोलिक, ओलिक, पलिमिक, स्टेरिक तथा एस्कार्विक एसिडले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्न सहयोग पुर्‍याउँछ । यसले धमनी र नसामा आन्तरिक सतहमा खराब एलडिएल कोलेस्ट्रोलको स्तरलाई कम गर्छ ।


यही खराब एलडिएल कोलेस्ट्रोल मुटुसम्बन्धी गम्भीर समस्या हृदयाघात, एथेरोस्क्लेरोसिस, स्ट्रोक उत्पन्न गर्न सक्छ । यसका साथै धनियाँले शरीरमा अम्लको स्थितिसमेत सन्तुलनमा राख्छ ।

प्रकाशित : पुस १९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?