कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा

४३ जनाले दोहोरो मतदान गरेको देखिएपछि तेह्रथुमको आङ्दिममा पुनः मतदान हुने

तेह्रथुम, इटहरी र पाँचथर — तेह्रथुमको एउटा केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधिसभाकै मतपत्रबाट मतदान भएको पाइएपछि पुनः मतदान हुने भएको छ । 

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा

छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोगसमक्ष सिफारिस पठाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगमा पठाएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले आयोगबाट कुनै जानकारी नआएकाले मतदान कहिले हुने भन्ने यकिन नभएको बताए । उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभा सदस्यको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाकै मतपत्र दिएको खुलेको छ । मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न माग गरेको र उक्त निर्णयबमोजिम आयोगमा लेखेर पठाएको बताएका छन् । उक्त केन्द्रमा ८ सय ४४ मध्ये आइतबार ४ सय ५६ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य पदको भनेर कर्मचारीले मतदातालाई दिएको मतपत्र प्रतिनिधिसभातर्फको परेकोबारे तत्कालीन समयमै मुख्य निर्वाचन अधिकृतसमेतको टोलीलाई जानकारी भएको थियो । त्यसबखत विवाद नभएको तर मतगणनापूर्व मुख्य निर्वाचन अधिकृतको कार्यालयले आह्वान गरेको सर्वदलीय बैठकमा विवाद उठेको थियो । मतदानकै समयमा जानकारी हुँदाहुँदै पनि समस्या समाधानप्रति चासो नदेखाउँदा समस्या निम्तिएको उम्मेदवारहरूको भनाइ छ । मतदान केन्द्रका कर्मचारीको लापरबाहीका कारण मतदातादेखि उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारीलगायत सबैले दुःख पाएको प्रजिअ अर्यालले बताए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई पछि पार्दै गाउँपालिकासहित वडामा समेत नेकपा एमाले विजयी भएको थियो । गणनाका लागि सदरमुकाम ल्याइएका मतपेटिकालाई गणनास्थल सिंहवाहिनी माविको कक्षाकोठामा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका राखेर चाबी लगाइएका कोठामा उम्मेदवार, उनीहरूका प्रतिनिधि र दलका प्रतिनिधिको रोहबरमा तालामा लाहाछाप गरी राखिएको छ ।

सुनसरीको गढी गाउँपालिकाको मतदान केन्द्रमा सोमबार बिहान ११ बजे प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएको छ । सुनसरी क्षेत्र नं ३ को ‘१’ अन्तर्गत गढी–१ मधेलीस्थित मजदुर किसान माविमा रहेको केन्द्रमा यस्तो सय मतपत्र खसेको पाइएको हो । लगत्तै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गर्‍यो । सोही विषयमा तत्काल सर्वदलीय बैठक बसे पनि निर्वाचन कार्यालयको निर्णय पर्खनुपर्ने हुँदा मतगणना सुरु हुन सकेन । प्रदेशसभातर्फको मतपेटिकामा खसेको मतलाई बदर गरी मतगणना प्रक्रिया अघि बढाउन राजनीतिक दलहरू सहमतिनजिक पुगेको प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार स्मित कार्कीले बताए । उनले भने, ‘प्रदेशसभातर्फको मतपेटिकामा खसेको मत खारेज गर्ने कुरामा दलहरू अन्तिम चरणमा पुगेको छ, मतगणना सुरु हुन्छ ।’ निर्वाचन क्षेत्र नं. ३ को १ लाख २५ हजार ४ सय ३२ मतदातामध्ये ७३ प्रतिशतले भोट खसालेका छन् ।

पाँचथर प्रदेशसभा २ को सिद्ध मावि रानीगाउँ मतदान केन्द्र (ख) मा प्रदेशसभा सदस्यलाई मतदान गर्ने स्थलमा प्रतिनिधिसभा सदस्यकै मतपत्र दिइएको विषयले विवादको रूप लिँदा मतगणना गर्न ढिलाइ भएको छ । उक्त मतदान केन्द्रमा खटेका कर्मचारीले प्रदेश र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मतदान गर्ने मतदातालाई प्रतिनिधिसभा सदस्यकै मतपत्र दिएका थिए । यसको खुलासा भएपछि विवाद भएको थियो ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?