मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२) बाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् । 

शुक्रबार प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार मुख्यमन्त्री शाहीले निर्वाचनमा १८ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन् । शाहीको निर्वाचनमा प्रतिनिधि परिचालनमा ५ लाख १० हजार, कार्यालय संचालनमा ८० हजार, सवारी साधन प्रयोगमा ४ लाख ८० हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ । यस्तै मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसार सामग्रीमा ६ लाख ७९ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख २० हजार रुपैयाँ गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको छ ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ३ जना, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (१) मा ५ जना र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२)मा ५ गरी १३ जना उम्मेदवार थिए । जसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले खर्च विवरण बुझाइसके पनि नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश १ बाट उम्मेदवार बनेका राप्रपाका छापे ऐडी र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्च विवरण बुझाए पनि गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र एमालेका दल फडेराले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा २ तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका नैनबहादुर रावत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामासहित सबै उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाइसकेका जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समयावधि दिइएको छ ।

प्रकाशित : मंसिर २३, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक : राष्ट्रपति भण्डारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । 

नेपाल हस्तकला महासंघले शुक्रबार आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन् ।

निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाइ थियो । उनले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको बिस्तार गर्न आवश्यक रहेको बताइन् ।

उनले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्‍याउन र बजार बिस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेकोमा जोड दिइन् ।

प्रकाशित : मंसिर २३, २०७९ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×