तीन वटा प्रदेशमा कसको सरकार भन्‍नेमा अन्योल- समाचार - कान्तिपुर समाचार

तीन वटा प्रदेशमा कसको सरकार भन्‍नेमा अन्योल

मणि दाहाल

काठमाडौँ — पहिलो पटक भएको प्रदेशसभा चुनावमा परिणाम आउनेबित्तिकै कसको सरकार बन्छ भन्ने स्पष्ट थियो । सातमध्ये ६ प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठबन्धन र मधेस प्रदेशमा तत्कालीन मधेसवादी गठबन्धनको सरकार बन्ने निश्चित थियो । यसपटकको निर्वाचन परिणाम झनै खण्डित आएको छ ।

सत्तारुढ गठबन्धन निरन्तरता हुँदा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने भए पनि प्रदेश १, मधेस र लुम्बिनीमा भने अन्य दलहरुको पनि सहयोग लिनुपर्ने हुन्छ ।

प्रदेश १ मा जसपा निर्णायक

प्रदेश १ मा सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले रहे पनि सरकार बनाउनका लागि समानुपातिकतर्फ १ सिट प्राप्त गरेको जनता समाजवादी पार्टी (जसपा) निर्णायक हुने देखिन्छ । एमालेको ४० स्थान रहेको छ । तर बहुमतका पुर्‍याउनका लागि ७ स्थानमा अपुग रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ। चुनावी तालमेल गरेको राप्रपाले ६ स्थानमा प्राप्त गरे पनि १ सिट अपुग हुन्छ । जसका लागि जसपा निर्णायक हुने देखिएको छ । यसै साता जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य चुनावीसँगै सकिएको बताएपछि एमालेलाई बहुमत जुटाउनका लागि समस्या पर्ने संभावना देखिन्छ ।

तर कांग्रेस २९ सिटसहित प्रदेशसभामा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १३ सिट छ । एकीकृत समाजवादीको ४ सिट छ । सत्तारुढ गठबन्धनको बहुमतका लागि जसपाकै समर्थन आवश्यक हुन्छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सरकार गठनको विषयमा अन्य पक्षहरुसँग पनि छलफल भैरहेको बताए ।

'राष्ट्रिय राजनीति कसरी जान्छ भनेर हेरिरहेका छौं । हामी ठूलो दल भएर ४० सिट हुँदा सरकार बन्दैन । तर हामी विचार सिद्धान्त छाडेर सत्ताका लागिमात्रै गठबन्धन गर्ने छैनौं,' कार्कीले भने, 'प्रदेशको गठबन्धनको निर्णय पनि केन्द्रबाटै हुन्छ ।' २०७४ सालको चुनावमा नेकपा एमालेले सो प्रदेशमा एकल बहुमत ल्याएको थियो ।

मधेसमा सरकार बनाउन 'महागठबन्धन'

मधेस प्रदेशमा सरकार बनाउनका लागि 'महागठबन्धन' आवश्यक पर्ने देखिन्छ । १ सय ७ सदस्यीय प्रदेशसभा रहेको मधेसमा २३ स्थानमा जित्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ । तर सो दललाई बहुमत पुर्‍याउनका लागि अझै ३१ सिट अपुग हुनेछ । केन्द्रमा कायम रहेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनको ४६ स्थान रहेको छ । सो गठबन्धनलाई सरकार बनाउनका लागि अन्य दलको समर्थन आवश्यक हुन्छ ।

मधेस प्रदेशमा ६ स्वतन्त्र सांसद रहेका छन् । समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व रहेको छ । जसमा जसपाको १६, जनमतको १३, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको १-१ स्थानमा रहेको छ । जसपाका महामन्त्री मनिष सुमनले प्रदेशमा प्राप्त जनादेशले धेरै दलहरु मिलेरमात्रै सरकार बन्ने अवस्था रहेको बताए ।

'अहिले मधेस प्रदेशमा हामीले प्राप्त गरेको जनादेशले ५ वर्षभित्र ४-५ वटै सरकार बन्छ कि भन्ने देखिन्छ । हामीले प्राप्त गरेको जनादेश भनेको विपक्षीमा बस्ने हो । तर, हामी विपक्षमा बस्दा सरकार नबन्ने प्रदेशसभा विघटन हुने अवस्था हुन्छ,' सुमनले भने, 'एमाले ठूलो दल भए पनि सरकार बनाउने लागि ठूलो संख्या समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग पनि बहुमत पुर्‍याउने संख्या छैन । त्यसमा धेरै वटा पार्टी मिलेरमात्रै सरकार बन्छ । हामी प्रदेशसभा तत्कालै विघटन नहोस भन्ने पक्षमा छौं ।'

सुमनका अनुसार जसपाले अहिले नै के गर्ने भन्ने विषयमा प्रस्ट भइनसकेको बताए । 'अहिले केन्द्रमा के निर्णय हुन्छ त्यसलाई हेरेर बसेका छौं' सुमनले भने, 'बाहिर बसेरमात्रै सरकारलाई समर्थन गर्न सक्छौं ।'

लुम्बिनीमा सकस

लुम्बिनी प्रदेश सरकार निर्माणका लागि कुनै पनि दल र गठबन्धनसँग आवश्यक संख्या पुग्दैन । प्रदेशसभा नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा रहेको छ । एमालेको २९ र कांग्रेसको २७ सिट भएको छ । त्यस्तै माओवादीको ९ र लोसपाको ३ स्थान रहेको छ भने राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको १/१ स्थानमा रहेका छन् ।

सरकार बनाउन सत्तारूढ गठबन्धनलाई ३ सिट अपुग हुन्छ । जसपाका महासचिव सुमनले लुम्बिनी प्रदेशमा समेत आफ्नो संख्या सरकार निर्माणका लागि महत्वपूर्ण भएको बताए ।

प्रकाशित : मंसिर २२, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्

डेंगीका १, २ र ३ सेरोटाइप पुष्टि 

विज्ञ भन्छन्–‘सेरोटाइप सिफ्ट हुँदा जटिल बिरामी र मृत्युको संख्या बढ्यो’
बुनु थारु

काठमाडौँ — यो वर्ष महामारीको रुपमा फैलिएको डेंगीका ३ सेरोटाइप (समूह) पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा ५० वटा नमुना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षणमा यी ३ सेरोटाइप पुष्टि भएका हुन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको जनाए । उनले भने–‘६ वटामा मिश्रित सेरोटाइप भेटिएको छ भने ५९ वटा सेरोटाइपको नमुना नेगेटिभ पाइएका छन् । परीक्षण गर्दा प्रक्रिया नमिलेको, परीक्षण गर्ने डेंगी किट राम्रो गुणस्तरको नभएकाले पनि नेगेटिभ आउने सम्भावना रहन्छ ।’

७७ वटै जिल्लामा फैलिएको डेंगीबाट साउनयता ५३ हजार ९५१ जना संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । डेंगी शून्य नै नभए पनि केशहरु हाल निकै कम भइसकेका छन् । तथ्यांक हेर्ने हो भने दैनिक १० देखि १२ जनामा डेंगी पुष्टि भइरहेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केश पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो ।

डा दाहाल भन्छन्–‘यो वर्ष सेरोटाइप २ भन्दा बढी ३ सेरोटाइप देखिन्छ । १ पनि बढी नै देखिएको छ । कुनै एउटा सेरोटाइपबाट एक पटक संक्रमण भयो भने त्यो सेरोटाइपको इम्युनिटी त आउँछ तर अर्को सेरोटाइपबाट संक्रमित भएमा बढी जटिल खालका लक्षणहरु देखिन सक्छन् । त्यसैले गर्दा मृत्यु पनि बढेको हुन सक्छ । अस्पताल भर्ना हुने दर पनि तुलनात्मकरुपमा बढी देखिएको हो भन्ने एउटा पाटो देखिएको छ ।’

उनले अध्ययनका लागि डेंगी पोजिटिभका नमुना सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी लिइएको र एकदम पिक सिजन (सेप्टेम्बर)तिर लिइएको बताए । ईडीसीडीले डेंगीबाट भएको मृत्युदरबारे पनि अध्ययन गरिरहेको जनाएको छ । ‘हामीले डेंगीबाट मृत्युको विश्लेषण गरिरहेका छौं । अझै पनि कतिपय ठाउँबाट अस्पतालले रिपोर्टिङ नगरेका पनि हुन सक्छन् । डेंगी अब प्रत्येक वर्ष बढ्दै जानेजस्तो देखिन्छ । हामीले आफ्नो कामको पनि रिभ्यु गर्नेछौं । आगामी वर्ष कस्तो योजना बनाउने र कुन मोडालिटीमा बढी फोकस गर्ने र मासिक क्यालेन्डर बनाएर काम गर्ने सोचेँका छौँ,’ डा दाहालले भने ।

भाइरोलोजिस्ट डा लुना भट्टकाअनुसार डेंगीको वर्गीकरण सेरोटाइप हो ।उनी डेंगीको एउटा सेरोटाइप देखिएमा त्यसबाट बन्ने एन्टिबडीले अर्को सेरोटाइपको डेंगीले काम नगर्न सक्ने भन्दै त्यसले जटिलता निम्त्याउन सक्ने बताउँछिन् । भन्छिन्–‘डेंगीका ४ समूह छन् । एउटै ठाउँमा सबै प्रकारका सेरोटाइप नहुन सक्छन् । सेरोटाइप अनुसन्धानका लागि महत्वपूर्ण पाटो हो । भविष्यमा सेरोटाइपको अध्ययनले खोप बनाउनका लागि मद्दत गर्न सक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन सेरोटाइप सिफ्ट भएकाले यो वर्ष बढी जटिलता र मृत्यु भएको आंकलन गर्न सकिने बताउँछन् । उनका अनुसार एउटै क्षेत्रमा पटक–पटक डेंगु देखिए त्यो घातक हुन सक्ने र अस्पताल भर्ना हुने जोखिम हुने हुन्छ ।

‘यदि यो वर्ष डेंगु १ ले संक्रमण गरेको छ भने अर्को वर्ष २, ३ वा ४ ले संक्रमण गराउँदा त्यो कडा लक्षण हुन सक्छ । सेरोटाइप जाँच महत्वपूर्ण पाटो हो । यसको अध्ययनले भविष्यमा निम्त्याउन सक्ने जटिलता र त्यसको नियन्त्रण लागि भूमिका खेल्न सक्छ,’ उनले भने ।

सन् २०१९ मा सेरोटाइप १ र २ देखिएको थियो भने ४ वर्षको अन्तरालमा सेरोटाइप १ र ३ बढी हाबी भएको देखिन्छ । यद्यपि नेपालमा ४ वटै सेरोटाइप देखिइसकेको विभिन्न अध्ययनले देखाएको डा पुन बताउँछन् ।

भन्छन्–‘नेपालमा ४ वटा सेरोटाइप छ भनेर अध्ययनले देखाइसकेका छन् । कहिले देखिएला कहिले नदेखिएला । २०१९ मा सेरोटाइप २ बाट संक्रमित भएका र हाल सेरोटाइप ३ ले संक्रमित हुँदा धेरैलाई जटिलता देखिएको हुन सक्छ । सेरोटाइप सिफ्ट हुनेबित्तिकै लक्षण कडा हुने र मृत्युको सम्भावना बढेर जाने हुन सक्छ ।’

प्रकाशित : मंसिर २२, २०७९ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×