प्रदेश १ मा समानुपातिकबाट २९ महिला सांसद छानिँदै

मोरङ — प्रदेशसभा निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगले समानुपातिक सांसदको सिट बाँडफाँटको पत्र पठाएपछि समानुपातिक सांसद छनोटमा दलहरुको ध्यान केन्द्रित छ । समानुपातिकमा छानिन बन्दसूचीमा परेका उम्मेदवारहरु आ–आफ्ना पार्टीका नेताहरूको घरदैलोमा गएर दबाब दिइरहेका छन् ।

९३ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य रहेकाले प्रत्यक्षतर्फ दुई जना महिला मात्रै निर्वाचित भएको हुँदा समानुपातिकबाट २९ महिला छान्नुपर्ने छ । निर्वाचन आयोगले दलहरुलाई शनिबार ४ बजेसम्ममा प्रदेश सांसदहरुको सूची बुझाउन पत्राचार गरेको छ ।
यस प्रदेशमा समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले १/१ प्रदेश सांसद प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फ २५ सिट जितेका एमालेमा एक जना पनि महिला सदस्य नजितेकाले समानुपातिकतर्फको १५ सिटमध्ये १३ जना महिला र २ जना पुरुष छान्नु पर्नेछ । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिटमध्ये समावेशी समूहरुमध्ये आदिवासी जनजातितर्फ ७, खस/आर्यतर्फ ४, थारु, दलित, मधेसी र मुस्लिमतर्फ १/१ र यीमध्येबाट ३ जना अल्पसंख्यक समुदायका प्रदेश सांसद छान्नुपर्ने छन् ।
प्रत्यक्षतर्फ १७ सिट जितेका कांग्रेसमा पनि एक जना पनि महिलाले नजितेका कारण समानुपातिकतर्फ १० जना महिला र २ जना पुरुष प्रदेश सांसद छानिने छन् । कांग्रेसले समावेशी समूहहरूमध्ये आदिवासी जनजातिबाट ६, खस आर्यबाट ३, थारु, दलित र मधेसीबाट १/१ जना र यीमध्ये २ जना अल्पसंख्यक समुदायको प्रदेश सांसद छान्नुपर्ने छ । प्रत्यक्षतर्फ ९ सिट जितेका माओवादी केन्द्रमा पनि महिला एक जना पनि नजितेकाले समानुपातिकतर्फको चारै जना प्रदेश सांसद महिला छान्नुपर्ने छ । जसमा समावेशी समूहमध्ये आदिवासी जनजातिबाट २, खस आर्य र दलितबाट १/१ जना प्रदेश सांसद छनोट गर्नु पर्ने छ ।
प्रत्यक्षतर्फ एक महिलासहित २ जना सिट जितेको रापप्राले प्राप्त गरेको समानुपातिकतर्फका ४ प्रदेश सांसदमध्ये आदिवासी जनजातिबाट २, खस आर्य र दलितबाट १/१ जना छनोट गर्ने छ । राप्रपाले एक महिला र तीन पुरुष प्रदेश सांसद छान्नुपर्ने छ । राप्रपा र माओवादीले १/१ जना अल्पसंख्यक समुदायलाई प्रदेश सांसद बनाउनुपर्ने छ । प्रत्यक्षतर्फ एक महिलासहित तीन सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले एक सिट पाएको समानुपातिकतर्फ आदिवासी जनजातिबाट १ नम्बरमा रहेको पाँचथरका ६९ वर्षीय गणेशकुमार काम्बाङलाई छान्नुपर्ने छ । समानुपातिकमा एक सिट पाएको जनता समाजवादी पार्टीले ताप्लेजुङकी ४३ वर्षीया निर्मला लिम्बुलाई प्रदेश सांसद छान्नुपर्ने देखिएको छ ।
एमालेले दुई जना पुरुष प्रदेश सांसद कुनै पनि समावेशी समूहबाट छान्न सक्ने व्यवस्था छ । निर्वाचन आयोगले एमालेको बन्दसूचीमा समावेशी समूहअन्तर्गत निर्धारण गरेको प्राथमिकता क्रम अनुसार आदिवासी जनजातितर्फ १ नम्बरमा पाँचथरका ५१ वर्षीय श्रीप्रसाद जबेगु, २ नम्बरमा झापाका ६२ वर्षीय नम्बरलाल धिमाल, खस/आर्यतर्फ १ नम्बरमा ओखलढुंगाका ५८ वर्षीय किशोरकुमार अधिकारी र २ नम्बरमा मोरङका ६१ वर्षीय प्रेमनाथ अधिकारी छन् । यस्तै, मधेसीतर्फ १ नम्बरमा मोरङका ५६ वर्षीय अरुणकुमार राठी, थारुतर्फ १ नम्बरमा सुनसरीका ६० वर्षीय बन्हुलाल चौधरी र दलिततर्फ १ नम्बरमा ताप्लेजुङका ४५ वर्षीय बुद्धीमान परियारमध्ये एमालेले दुई जना पुरुष प्रदेश सांसद छान्ने सम्भावना रहेको छ । यीमध्ये आदिवासी जनजातिको अल्पसंख्यकमा १ नम्बरमा समेत रहेका धिमाल र मधेसीको अल्पसंख्यमा रहेका राठीको प्रदेश सांसद छानिने सम्भावना अधिक छ ।
एमालेमा आदिवासी जनजाति महिलातर्फ अल्पसंख्यकमा समेत पहिलो नम्बरमा रहेकी उदयपुरकी ४६ वर्षीया सिर्जना दनुवार, दोस्रोमा झापाकी ५९ वर्षीया कमला थापा मगर, तेस्रोमा सुनसरीकी ४७ वर्षीया मिना श्रेष्ठ, चौथोमा भोजपुरकी ३८ वर्षीया सिर्जना राई, पाँचौंमा मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बु, छैठौंमा धनकुटाकी ४६ वर्षीया मनकुमारी ततिुङ्ग र सातौँमा भोजपुरकी ३३ वर्षीया बन्दना राई छन् । आदिवासी जनजाति समुदायका पुरुषबाट प्रदेश सांसद नछानिए यी सातै जना पर्ने र एक जना पुरुष पुरुष छानिए छैठौँ नम्बरसम्मकी महिला प्रदेश सांसद बन्ने सम्भावना रहेको छ ।
खस आर्य महिलातर्फ १ नम्बरमा मोरङकी ६१ वर्षीया शीला दीक्षित कार्की, दोस्रोमा झपाकी ६६ वर्षीया तारादेवी ढकाल, तेस्रोमा सुनसरीकी ५७ वर्षीया निरादेवी खनाल आचार्य र चौथोमा उदयपुरकी ५८ वर्षीया गितादेवी रेग्मी प्रदेश सांसद छानिने सम्भावना रहेको छ । मुस्लिम समुदायबाट मोरङकी ३८ वर्षीया नुर सदि बेगम प्रदेश सांसद बन्ने निश्चित छ । थारु, मधेसी र दलितबाट पुरुष नछानिए क्रमशः मोरङकी ५१ वर्षीया ललिता कुमारी चौधरी, मोरङकी ४० वर्षीया गितारानी महतो र तेह्रथुमकी ४९ वर्षीया कमला दर्नाल छानिने छन् ।
कांग्रेसमा दुई जना पुरुष प्रदेश सांसदका लागि आदिवासी जनजातितर्फ झापाका ५२ वर्षीय मोहन महर्जन, ताप्लेजुङका ३१ वर्षीय इन्द्रकुमार केदेम लिम्बु, खस आर्यतर्फ पार्टीका प्रदेश अध्यक्ष झापाका ६४ वर्षीय उद्धव थापा, मोरङका ५८ वर्षीय गोपालबहादुर थापा, मधेसीतर्फ सुनसरीका हरिलाल मेहतामध्ये छानिने सम्भावना छ । महिलातर्फ आदिवासी जनजातितर्फ पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ प्रदेश सांसद बन्ने निश्चित छ । आदिवासी जनजाति समूहबाट पुरुष उम्मेदवार प्रदेश सांसद नछानिए मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ र सुनसरीकी ४७ वर्षीया अनु गुरुङको पनि सम्भावना बलियो छ ।
मधेसीतर्फ अल्पसंख्यकको समेत १ नम्बरमा रहेकी झापाकी ४८ वर्षीया लिखुकुमारी गणेश, दलिततर्फ अल्पसंख्यकमा समेत रहेकी सुनसरीकी ४२ वर्षीया सुनिताकुमारी गुरुङ, थारुतर्फ सुनसरीकी ४७ वर्षीया सुनिता गच्छदार चौधरी प्रदेश सांसद छानिने सम्भावना छ ।
माओवादी केन्द्रबाट आदिवासी जनजाति महिला र अल्पसंख्यकतर्फ झापाकी ३६ वर्षीया बन्दना झागर, उदयपुरकी ४० वर्षीया सम्झना तामाङ साम्सुहाङ, खस/आर्यतर्फ मोरङकी ४० वर्षीया गीता तिम्सिना र दलिततर्फ सुनसरीकी ३६ वर्षीया सपना दर्जी प्रदेश सांसद बन्ने निश्चित छ ।
राप्रपाबाट आदिवासी जनजातितर्फ पाँचथरका ६० वर्षीय प्रेमराज थाम्सुहाङ, अल्पसंख्यमा समेत पर्ने झापाकी ४१ वर्षीया निमसरी राजवंशी, खस आर्यतर्फ झापाका ६८ वर्षीय अम्बरबहादुर विष्ट र दलिततर्फ झापाको ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा प्रदेश सांसद बन्ने सम्भावना रहेको छ । दलहरुले पुरुषहरुको ठाउँमा महिलालाई समानुपातिकतर्फ प्रदेश सांसद बनाउन भने सक्ने छन् ।
