कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

जालन्धर छाडेर ‘जलारी’

माछाको पनि सिजन हुन्छ । जुनेली रातमा माछा पर्दैन । बर्सातका तीन महिना (असार, साउन र भदौ) मा पनि माछा मार्न मिल्दैन ।
प्रकाश बराल

बागलुङ — बिहान घाँसदाउराको जोहो गरेर दिउँसो तरकारी बारीको काम भ्याउँछन् । घाम छिप्पिदै जाँदा आफैले बुनेको जाल बोकेर माछा मार्न बडिगाड खोलातिर कुद्ने उनी राति ९ बज्दा घर आइपुग्छन् । जालमा सधैं माछा पर्दैनन् । तरकारी खेती उनको मौषमी आम्दानीको स्रोत हो ।

जालन्धर छाडेर ‘जलारी’

कहिलेकाही एकाध माछा त कहिले १० केजीसम्म पनि पर्छन् । दिनहुँ खोलामा गएर भिडेपछि पाइने माछा बेचेरै ढोरपाटन नगरपालिका–२ सिमलचौरका ४३ वर्षीय दिलबहादुर कुमालले वर्षौदेखि घर चलाएका छन् । पत्नी यमकुमारी छोराछोरी स्याहारेर घरधन्दा भ्याउँछिन् । जेठो छोरा उमेश बाबुसँगै खोलामा पुगेर माछा मार्न सघाउँछन् ।

पुस्तौंदेखि सिमलचौरका कुमाल समुदायले माछा मारेरै जीवन निर्वाह गर्थे । दिलबहादुरका बाबु देवीलाल र बाजे भीमलालले पनि माछा मारेरै जीवन चलाएका थिए । अहिले भने पहिले जस्तो सहज छैन । त्यसैले अधिकांश छिमेकी युवाहरु पढाइ छाडेर काम खोज्दै भारत पञ्जाबको जालन्धर गएका छन् । उता जाने केहीले राम्रो पैसा कमाए, कोही उतै हराए, कतिपयको पेशा र जीवननै जोखिममा परेको उनले देखे । दिलबहादुर भने जालन्धर जाने सोचमा कहिले पनि भएनन् । उनी घरनजिकै बगेको बडिगाड खोलाकै भर परे । नजिकै बुर्तिवाङ बजार छ । उक्त बजारमा बेलुकीपख माछा लगेर बेच्छन् । प्रतिकेजी ७ सय रुपैयाँमा ताजा माछा बेचेर कहिलेकाकी त उनी २ हजारदेखि ५ हजारसम्म कमाउने गरेको बताए । त्यही कमाइले दिलबहादुरले खरको छाप्रोमा बसे पनि २ छोरा र ३ छोरीलाई पढाएका छन् । जेठी छोरी भीमु स्नातक पढ्ने तरखरमा छिन् । अर्की छोरी अञ्जु बुर्तिवाङ बजारमा कक्षा १२ पढ्छिन् । माछा मार्ने काममा सघाएका छोरा उमेश पनि १२ पास भए । अन्तिम ७ कक्षामा पढ्दैछन् । कान्छी छोरी अनिसा ५ कक्षामा पढ्छिन् । सबैको बिद्यालय ५ किमी परको उत्तरगंगा मावि हो । तर पनि दिलबहादुरले पत्नी यमकुमारीसहित मेहेनत गरेर छोराछोरीलाई विद्यालय जान रोकेनन् ।

यता माछा एकैनास पाइदैन । तर पनि उनको पहिचान जालहारीको रुपमा बनेको छ । बुर्तिवाङका अधिकांश होटलले दिलबहादुरलाई फोन गरेरै माछा अर्डर गर्छन् । आफूले नभ्याउने भए पनि अरु साथीलाई जिम्मा दिन्छन् । यसरी लिएको जिम्मामा धोका दिएका छैनन् । माछाको पनि सिजन हुन्छ । जुनेली रातमा माछा पर्दैन । बर्सातका तीन महिना (असार, साउन र भदौ) मा पनि माछा मार्न मिल्दैन । कतिपय स्थानमा उक्त समय माछा मार्न रोक समेत लगाइएको छ । त्यतिबेला दिलबहादुर बेरोजगार बन्छन् । पाए ज्यालामजदुरी गर्ने नपाए बेरोजगार बस्नुपर्ने बाध्यता उनले सुनाए । तर पनि उनले आफ्नै गाउँघर रोजेका छन् । ‘बर्सातका तीन महिनालाई त अरु बेलाको कमाइले धान्नुपर्छ,’ दिलबहदुरले भने, ‘खेतबारी छैन, पाखोमा मकै र कोदो लगाएर दुई/तीन महिना खान पुर्‍याएका छौं ।’

बर्सातमा पानी धमिलो हुन्छ । माछा पाइँदैन । पाए पनि हिलो खाएको माछा भनेर उपभोक्ताले नकिन्ने उनी बताउँछन् । बडिगाड खोलामा असला माछा बढी पाइन्छ । छिटफुट रुपमा बाम माछा पनि भेटिन्छ । बाम ७ केजीसम्मका पनि भेटिएको कुमालको अनुभव छ । बाम भेटियो भने प्रतिकेजी १५ सयसम्ममा बेच्न सकिन्छ ।

धेरैको रोजाइमा असला पर्छन् । असला माछा सुकुटी बनाएर पनि बेच्ने गरिन्छ । दिलबहादुले पनि बिदेश बस्नेलाई धेरै पटक असला पठाइदिएका छन् । सदरमुकाम र बुटवल त अहिले पनि पठाइरहेको बताए । सुकाएर राखेको माछा प्रतिकेजी ५ हजारदेखि ७ हजारसम्म पर्छ । ९० किमी परको सदरमुकामबाट धेरैपटक माछा अर्डर आउँछ ।

‘दिलबहादुरको मेहेनत देखेर गाडीवालासँग माछा मगाएँ, धेरै राम्रो र मिठो खान पाइयो,’ सदरमुकाममा बस्ने गीता श्रीषले भनिन्, ‘उनको मेहेनत देखेर पनि केही सहयोग पुगोस भन्दै माछा मगाउने गरेका छौं ।’

दुई तीन घण्टा फ्रिजमा राखेर पठाउँदा बुटवल पुग्दा पनि नबिग्रेको कुमालको अनुभव छ । उनका छिमेकी सन्तबहादुर र पानबहादुरले पनि माछा मार्ने काम गर्छन् । सिमलचौरका झण्डै ४० घर कुमालले बडिगाड, निसी, भुजी र तमानखोलामा माछा मारेर बजारमा बेच्ने पेशा अंगालेका छन् ।


खोलामा कतिपयले करेन्ट लगाएर माछा मार्छन् । त्यतिबेला प्रशासनले कडाइ गर्छ । करेन्ट लगाउँदा कतिपयको ज्यानै गएको छ । प्रशासनले करेन्ट लगाउने, बिष हाल्ने लाई कडाइ गर्दा जाल हालेर माछा मार्नेलाई पनि असर परेको छ । ‘करेन्ट लगाएर माछा मार्दा साना भुरा र फुल समेत मर्ने भएकोले पर्यावरणमा असर पर्छ,’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार बिकले भने, ‘प्रशासनकै आग्रहमा कडाइ गर्छौ ।’ त्यतिबेला जाल हालेर मार्नेलाई पनि असर परेको हुन सक्छ ।

स्थानीय होटल व्यवसायीले पनि माछा भएमात्रै पाहुना बढी राख्न सकने अनुभव सुनाए । ‘पाहुनाले फोन गरेर खाना अर्डर गर्दा माछा भए नभएको सोध्छन्, छैन भन्यो भने अर्को होटल खोजेर जान्छन्,’ स्थानीय जितबहादुर थकालीले भने, ‘सिमलचौरका कुमालले माछा नदिए हाम्रो व्यवसाय पनि चल्न मुस्किल छ ।’ उनीहरुले अर्डर अनुसार माछा तयार गरिदिँदा पाहुनालाई स्वागत सत्कार गर्न पाएको ढोरपाटन नगरपालिका–२ की जुनु खनालले बताइन् ।

दिलबहादुरले विद्यार्थी राजनीति पनि गरेका थिए । सशस्त्र द्वन्द्वताका उनी केही समय भूमिगत समेत भए । तर उनले उत्पादन बढाएमात्रै राजनीतिमा टिक्न सकिने अनुमान लगाएपछि काममा खटिन थालेको बताए ।

‘कमाइ नभएसम्म राजनीतिमा युवा होमेर मात्र पुग्दैन, उनीहरुको हातमा पैसा चाहिन्छ,’ कुमालले भने, ‘अब हरेक युवाले व्यवसायमा जोडिनुपर्छ ।’ माछाको जाल बनाउने काम समेत जानेका कुमालले अन्य पेशा भने नगर्ने बताए । माछाबाटै मनग्ये कमाएर जीवन धान्ने उनको अठोट छ । काममा छोराछोरी र पत्नीले पनि साथ दिँदा कुमाल औधी खुसीछन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x