कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बालयौन दुरुपयोगमा रामबहादुर बम्जन दोषी ठहर

सर्लाही — आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो ।

बालयौन दुरुपयोगमा रामबहादुर बम्जन दोषी ठहर

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने जिल्ला अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा रहेका छन् । यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियोगमा पूर्पक्षमा रहेका बम्जन निर्दोष रहेको दाबीसहित सोमबारको इजलासमा वरिष्ठ अधिवक्ता सीताराम केसी एवं अधिवक्ताहरू राम घिमिरे, मनोहर झा, राष्ट्रविमोचन तिमल्सिना र दिलिप झाले बहस गरेका थिए भने अभियोगबमोजिम कैद सजाय मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए । यसअघि ३ पटकसम्म बम्जनविरुद्धको मुद्दामा पेशी चढे पनि बम्जनका वकिलहरूले २ तथा सरकारी वकिलले १ पटक निवेदन दिएर सारेका थिए । सोही मुद्दामा जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो। आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ ।

प्रकाशित : असार १०, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×