कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७
अन्वेषण

जनावरको अंग प्रत्यारोपणले जगाएको आस

विभिन्न कारणले काम गर्न छोडेको मानव अंगको विकल्पमा कुनै जनावरबाट निकालिएको अंगले काम गर्छ कि भनेर अध्ययन हुन थालेको दशकौं भइसक्यो । केही वर्ष यता भने मानिसमा आनुवांशिक रूपमा परिमार्जित सुँगुरबाट निकालिएको मुटु र मिर्गौला हालिएको छ ।
स्वरूप आचार्य

काठमाडौँ — हामीले भगवान् शिवले गणेशको टाउको काटेपछि हात्तीको टाउको जोडेर फेरि जीवित बनाएको कथा त पढेकै छौं । ‘जेनोट्रान्सप्लान्टेसन’ भनेको यही नै हो । कुनै जनावरको अंग मान्छेमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ । विभिन्न कारण काम गर्न छोडेको मानव अंगको विकल्पमा कुनै जनावरबाट निकालिएको अंगले काम गर्छ कि भनेर अध्ययन हुन थालेको दशकौं भइसक्यो ।

जनावरको अंग प्रत्यारोपणले जगाएको आस

केही वर्ष यता भने मानिसमा आनुवांशिक रूपमा परिमार्जित सुँगुरबाट निकालिएको मुटु र मिर्गौला हालिएको छ । यसले स्वस्थ्य अंग प्राप्तिका लागि वर्षौंदेखि पर्खिरहेकाहरूमा आशा सञ्चार गरेको छ । तर, जेनोट्रान्सप्लान्टेसन अझै केही वर्ष आम उपचारको विधिका रूपमा दर्ज हुने सम्भावना भने छैन ।

अमेरिकामा बाँच्ने कुनै आशा नभएका व्यक्तिमा हाल जेनोट्रान्सप्लान्टेसनलाई अनुसन्धानका लागि प्रयोगमा ल्याउन थालिएको छ । सुरुमा मस्तिष्क मृत्यु भएका बिरामीमा जेनोट्रान्सप्लान्ट गरिएको थियो । उनीहरूमा प्रत्यारोपण गरिएको मिर्गौलाले सामान्य रूपमा काम गरेको देखिएपछि विकल्पहीन जीवित व्यक्तिमा नै सुँगुरको मुटु र मिर्गौला प्रत्यारोपण गरिएको हो । सुँगुरको मुटु तथा मिर्गौला प्राप्त गरेका व्यक्तिहरूको प्रत्यारोपण भएको केही महिनापछि मृत्यु भयो । उनीहरूको स्वास्थ्य निगरानीमा खटिएका चिकित्सक तथा वैज्ञानिकहरूको दाबीअनुसार दुवैको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित जटिलताका कारणभन्दा पनि अन्य कारणले नै भएको देखिन्छ ।

नोबेल पुरस्कार विजेता फ्रेन्च शल्यचिकित्सक एलेक्स क्यारेलले विकसित गरेको दुई फरक नसालाई जोड्ने पद्धतिले अंग प्रत्यारोपणका लागि मार्गप्रशस्त गरेको हो । जसका कारण २० औं शताब्दीमा चिम्पान्जीबाट मानिसमा अंग प्रत्यारोपण गर्ने विभिन्न प्रयास भएका थिए । १९६३–६४ तिर अमेरिकी शल्यचिकित्सक केथ रिम्समाले १३ जना बिरामीमा चिम्पान्जीको मिर्गौला प्रत्यारोपण गरेका थिए । उनले १९९२ मा बाादरको एक प्रजाति बबुनको कलेजो मानिसमा प्रत्यारोपण गरेका थिए ।

मानिसमा जनावरको अंगको प्रत्यारोपण गरिने विधा जेनोट्रान्सप्लान्टेसनलाई दशकौंदेखि एक सम्भावित समाधानको रूपमा हेरिएको छ । यसले मिर्गौलालाई अझ व्यापक रूपमा उपलब्ध गराउन सक्छ । तर यसको चुनौती भनेको मानव प्रतिरक्षा प्रणालीले अर्काको तन्तुहरूलाई अस्वीकार गर्ने अवस्थ आउँदा जीवनलाई नै जोखिम हुन सक्ने खालका जटिलताहरू निम्त्याउन सक्छ । राम्रोसँग मेल खाएका दाताहरूबाट लिइएको अंगलाई पनि दीर्घकालमा शरीरले अस्वीकार गर्ने जोखिम रहने विशेषज्ञहरू बताउँछन् । जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिहरूले जेनोट्रान्सप्लान्टलाई वास्तविकताको नजिक पुर्‍याएको छ । यसले अंगहरूलाई अझ मिल्दो बनाउन र प्रतिरक्षा प्रणालीद्वारा अस्वीकार गर्ने सम्भावना कम बनाउन जनावरको जिनहरू परिमार्जन गर्न सम्भव बनाएको छ ।

अन्तर–प्रजाति प्रत्यारोपण (जेनोट्रान्सप्लान्टेसन) ले चिकित्सकीय प्रत्यारोपणका लागि आवश्यक रहेको अंग र कोशिकाहरूको असीमित आपूर्तिको सम्भावना प्रदान गर्दछ । यसले मानव अंगहरूको कमीले गर्दा प्रत्यारोपण प्राप्त गर्न प्रतिक्षा सूचीमा रहेका अधिकांश बिरामीहरूको समस्यालाई सम्बोधन गर्न सक्छ । १७ औं देखि २० औं शताब्दीबीचमा विभिन्न जनावरहरूको रगत विभिन्न रोगको उपचारका लागि मान्छेहरूलाई दिइएको थियो । १९ औं शताब्दीमा विभिन्न प्रकारका जनावरका छालाहरू मानिसमा प्रत्यारोपण गरियो, त्यसका लागि सबैभन्दा धेरै भ्यागुताको प्रयोग गरियो ।

सन् १९२० को दशकमा, फ्रान्सेली शल्यचिकित्सक सर्ज भोरोनोफले चिम्पान्जीको अण्डकोषका केही अंश वृद्ध पुरुषहरूमा प्रत्यारोपण गर्न सुरु गरेका थिए । उनको दाबीअनुसार यसले वृद्धहरूलाई नयाँ जोस दिन मद्दत गर्थ्यो । तर, उनको यो दाबी पछि गलत साबित भयो । यस्तै अर्का नोबल पुरस्कार प्राप्त गर्न सफल फ्रेन्च शल्यचिकित्सक एलेक्स क्यारेलले विकसित गरेको दुई फरक नशालाई जोड्ने पद्धतिले अंग प्रत्यारोपणका लागि मार्ग प्रशस्त गरेको हो । जसका कारण नै २० औं शताब्दीमा चिम्पान्जीबाट मानिसमा अंग प्रत्यारोपण गर्ने विभिन्न प्रयास भएका थिए ।

१९६३–६४ तिर अमेरिकी शल्यचिकित्सक केथ रिम्समाले १३ जना बिरामीमा चिम्पान्जीको मिर्गौला प्रत्यारोपण गरेका थिए । जसमध्ये एक महिला करिब ९ महिना बाँचिन् । यस्तै अर्का अमेरिकी शल्यचिकित्सक जेम्स हार्डीले १९६४ मा मानिसमा पहिलोपटक मुटु प्रत्यारोपण गरेका थिए । तर ती बिरामीको प्रत्यारोपण भएको २ घण्टामा नै मृत्यु भएको थियो । अर्का अमेरिकी चिकित्सक थोमस स्ट्राजले १९६६ मा चिम्पान्जीको कलेलो मानिसमा प्रत्यारोपण गरेका थिए । यस्तै उनले १९९२ मा बाँदरको एक प्रजाति बबुनको कलेजो मानिसमा प्रत्यारोपण गरेका थिए । उक्त व्यक्ति ७० दिनसम्म जीवित रहेका थिए ।

विगत केही दशकहरूमा जनावरहरूमा धेरै अध्ययन भएका छन् । यी धेरैजसो अध्ययनले सुँगुरका अंगलाई बाँदरको एक प्रजाति बबुनमा प्रत्यारोपण गरिएको थियो । बबुनको आनुवांशिक संचरना मानवसँग निकै मिल्दोझुल्दो हुने भएकाले प्रयोगका लागि तिनको चयन गरिएको हो । त्यस्ता अध्ययनहरूले पशु प्रजातिहरूमा अंग प्रत्यारोपण सम्भव छ भनेर देखाएको छ । यद्यपि मानिसमा यसको क्लिनिकल परीक्षणहरू अझै सुरु भएका छैनन् ।

जेनोट्रान्सप्लान्टेसन किन पनि महत्त्वपूर्ण छ भने यसले हाल विश्वमा नै देखिएको अंगको अभावलाई धेरै हदसम्म सम्बोधन गर्न सक्छ । नेपालमा मात्रै नभएर विश्वभर नै लाखौं मानिस आफ्नो अंगले काम नगरेका कारण प्रत्यारोपणको पर्खाइमा छन् । मिर्गौला र कलेजो जीवित दाताबाट पनि प्राप्त गर्न सकिन्छ । तैपनि विश्वमा लाखौं मानिस डायलासिसकै भरमा बाँचिरहेका छन् । मस्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त हुने मुटु, फोक्सो, कलेजो, छाला पनि बिरामी मान्छेमा प्रत्यारोपण गर्ने गरिन्छ । तर त्यसका लागि पनि पर्खाइ लामो हुने गर्छ । यही कारणले गर्दा पनि आनुवांशिक रूपमा परिमार्जित गरेर तयार पारिएका सुँगुरबाट प्राप्त गरिएको अंग मानिसमा हाल्न सकिन्छ कि भन्ने प्रयास धेरै अगाडि बढाइएको हो ।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब दुई दशक नै हुन लागिसकेको छ । कलेजो प्रत्यारोपणमा पनि नेपालले राम्रै प्रगति गरिरहेको छ । नेपालमा मिर्गौलाले काम गर्न छोडेकाले डायलासिसको भरमा जीवनयापन गरिरहेका बिरामीको संख्या सरकारी तथ्यांकअनुसार ७ हजार हाराहारी छ । तीमध्ये अधिकांशलाई अंग उपलब्ध गराउन सकिएमा जीवन सहज हुन सक्छ । यस्तै कलेजो प्रत्यारोपण आवश्यक पर्ने बिरामीको संख्या पनि हजारौं छ । नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण हालसम्म सुरु भएका छैनन् । तर नेपालमा मुटु र फोक्सो प्रत्यारोपणको आवश्यक पर्ने बिरामीको संख्या पनि ठूलै भएको सम्बन्धित विज्ञहरू बताउँछन् । अधिकांश बिरामीले समयमै अंग प्राप्त गर्न नसकेरै मृत्युवरण गर्न बाध्य छन् ।

सुँगुरबाट प्राप्त गरिएको अंगलाई मान्छेको शरीरले अस्वीकृत नगरोस् भनेरै त्यसका तीनवटा जिनहरू हटाइएको हुन्छ । साथै, मानव अनुकूलता बढाउन सात मानव जिनहरू पनि सम्मिलित गरिएको हुन्छ । सुँगुरहरू रेट्रोभाइरसका वाहक हुने भएकाले मानिसलाई सर्ने सम्भावना रहेको भाइरसलाई पनि निष्क्रिय बनाइएको हुन्छ । यदि आनुवांशिक रूपमा परिमार्जित जनावरहरूबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिने भएमा डायलासिसको प्रचलन नै सकिन सक्ने बोस्टनस्थित म्यासाचुसेट जेनेरल अस्पताल मिर्गौला प्रत्यारोपणका लागि मेडिकल निर्देशक डा. लियोनार्डो बी. रिएलाले बताएका छन् ।

उनका अनुसार आठ लाखभन्दा बढी अमेरिकीहरूको मिर्गौला फेल भएको छ र रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्न उनीहरूलाई डायलासिस आवश्यक छ । जीवित वा मृत मानव दाताबाट प्राप्त गरिएको मिर्गौला प्रत्यारोपण गर्न एक लाखभन्दा बढी प्रतीक्षा सूचीमा छन् । डायलासिसले मानिसलाई जीवित राख्छ तर सबैभन्दा उत्तम उपाय भनेको अंग प्रत्यारोपण नै हो । तर अंगको चर्को अभावका कारण बर्सेनि हजारौं बिरामी मिर्गौलाको पर्खाइमा मर्ने गरेका छन् । प्रत्येक वर्ष अमेरिकामा कुल २५ हजार मिर्गौला प्रत्यारोपण हुने गर्छ ।

सेप्टेम्बर २०२१ मा, न्युयोर्कको एनवाईयू लागोन हेल्थका शल्यचिकित्सकहरूले आनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला एक मस्तिष्क–मृत व्यक्तिमा जोडेका थिए । सो व्यक्तिमा यसले काम गरेर पिसाब बनाउन थालेको थियो । केही समयपछि, बर्मिङघमको अलाबामा विश्वविद्यालयका वैज्ञानिकहरूले पनि आफूहरूले गरेको सोही प्रकारको परीक्षण सफल भएको घोषणा गरेका थिए । युनिभर्सिटी अफ मेरिल्यान्डका शल्यचिकित्सकहरूले आनुवांशिक रूपमा परिमार्जित सुँगुरबाट मुटु रोग भएका बिरामीहरूमा दुईपटक मुटु प्रत्यारोपण गरिसकेका छन् । उनीहरूमा सुरुमा अंगले काम गरेको थियो भने शरीरले अस्वीकार गरेको थिएन । तर केही समयपछि भने मुटु प्रत्यारोपण गरिएका दुवै बिरामीको आफ्ना रोगको प्रकृतिका कारण मृत्यु भएको थियो ।

यस प्रकारका अत्याधुनिक प्रयोगात्मक उपचारहरूका लागि सहमत हुने बिरामीहरू प्रायः अत्यन्तै बिरामी हुन्छन् र तिनीहरूसँग थोरै मात्र विकल्पहरू उपलब्ध हुन्छन् । प्रायः उनीहरू मानव अंग प्राप्तिको प्रतीक्षा सूचीका लागि योग्य हुँदैनन् । यसै साता अमेरिकाको न्युयोर्ककै एनवाईयू लागोनमा एक महिलामा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मुटुमा पनि गम्भीर समस्या रहेका कारण मुटुलाई चलाउन पम्प जोडिएकी ती महिलाको मिर्गौलामा सामान्य रूपमा रगतको सञ्चार नभएकै कारण त्यसलाई प्रत्यारोपण गरिएको केही दिनमै निकाल्नुपरेको छ । मिर्गौलाले गर्नुपर्ने काम नगरेका कारण नभएर उनको मुटुको समस्याका कारण मिर्गौला निकाल्नुपरेको चिकित्सकहरूले बताएका छन् ।

सुँगुर नै किन ?

मान्छेले दीर्घायु प्राप्तिका लागि कुन हदसम्मको प्रयोग गर्न सक्छ भन्ने उदाहरण हो जेनोट्रान्सप्लान्टेसन । तर यो सामान्य उपचार पद्धति भने होइन । किनभने मान्छेकै अंग मान्छेमा नै प्रत्यारोपण गर्दा पनि निकै जटिलताहरू आइपर्छन् । सबैभन्दा पहिलो र प्रमुख चुनौती भनेको हाम्रो रोग प्रतिरोधात्मक प्रणाली हो । यसले कुनै पनि बाहिरी तत्त्वलाई शरीरमा स्थापित हुन दिँदैन । त्यसैले अर्काको अंग लिएर अर्को शरीरमा राख्नेबित्तिकै शरीरले देखाउने पहिलो प्रतिक्रिया भनेकै अस्वीकार हो ।

अब कुरा आउँछ अन्य जनावरको अंग नभएर सुँगुरलाई नै किन प्राथमिकतामा राखेको ? त्यसको सामान्य उत्तर हो– सुँगुरमा हुने मिर्गौला वा मुटुको आकार मानिससँग मिल्छ । तर त्यसो भन्दैमा कुनै पनि फर्ममा छिरेर सुँगुर छनोट गरेर अंग लिन भने मिल्दैन । त्यसका लागि सुँगुरलाई आनुवांशिक इन्जिनियरिङ गरेर उत्पादन गर्नुपर्छ जसले गर्दा सो सुँगुरबाट प्राप्त गरिएको अंग हाम्रो शरीरले अस्वीकार नगरोस् । आनुवांशिक परिवर्तन गरिएको सुँगुरबाट लिइएको अंगलाई मानव शरीरले बाहिरी तत्त्वका रूपमा व्यवहार गर्ने सम्भावना कम हुन्छ । जसले गर्दा प्रत्यारोपणको पहिलो खुड्किला पार गर्न सहज हुन्छ ।

जेनोट्रान्सप्लान्टेसन प्रत्यारोपण चिकित्सामा अर्को ठूलो विषय भएको छ । ल्यान्डमार्क अपरेसनहरूको एक शृंखला नै प्रदर्शन भएकोमा कुनै दुईमत पनि छैन । तर केवल थप अध्ययन र अनुसन्धानले मात्रै बताउन सक्छ कि यो केवल सपना मात्रै रहन्छ कि नयाँ इतिहास रचिन्छ । यद्यपि, अहिलेका प्रमाणहरूले निकट भविष्यमा जेनोट्रान्सप्लान्ट सफल हुने नै देखिन्छ । आनुवांशिक रूपमा इन्जिनियर गरिएका सुँगुरहरूको बढ्दो विविधता उपलब्ध हुन थालेसँगै बाँकी समस्याहरू समाधान हुनेछन् र जेनोट्रान्सप्लान्टका लागि सही समय पक्कै आउने छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : जेष्ठ २५, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x