कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कौशीमा युवाको चिन्तन र गन्थनमन्थन

रीना मोक्तान

काठमाडौँ — कहिलेकाहीँ यस्तो कल्पना गर्नुभएको छ ? जस्तै कछुवा उडेको । संसार ध्वस्त हुँदा तपाईं मात्र बाँचेको ! पखेटा लगाएर संसार घुम्न निस्केको । तपाईं निदाउँदा कोठा जलमग्न भएको । जीवनको कुनै मोडमा पक्कै तपाईंले यस्ता खालका कल्पना गर्नुभयो होला । यस्ता कल्पनाले हामीलाई वास्तविकताभन्दा पर लैजान्छन् । एकै क्षणलाई सही, वर्तमानका दु:ख, पीडा भुलाएर तिलस्मी संसार पुर्‍याउँछन् ।

कौशीमा युवाको चिन्तन र गन्थनमन्थन

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा चर्चित भनाइ नै छ, 'तर्कले ए देखि बीसम्म पुर्‍याउला तर कल्पनाले जतासुकै पुर्‍याउन सक्छ ।' हो, कौशी थिएटरका युवाहरु यस्तै निराकार कल्पनामा उडिरहेका छन् । टाइम क्याप्सुल खाएर समय रोक्ने कल्पना होस् या मुडअनुसार चल्ने टिभी । यी युवा आफ्ना विचारमा जहीँतहीँ पुग्दैछन् ।

स-साना समूहमा बाँडिएर मञ्चमा छरिएका युवाकै कुरा सुनौं । एउटा समूह भन्छ,'म घाँसै घाँसको मैदानमाथि उडिरहेको सपना देखिरहेको हुन्छु । हल्का शरीर, मन हलुंगो । जे होस् छ एउटा, उड्ने सपना । परेवाजसरी, चिल जसरी । पेङ्ग्युन उड्छ कि उड्दैन पो ? उड्छ भने त्यसरी पनि । पखेटा पट्काएर, कहिले खुट्टा झट्काएर, चुट्की बजाएर । सुपरम्यानजसरी हात अगाडि तन्काएर, कहिले यसै ठिंग उभिएर । कहिले डोरेमनको ब्याम्बोकप्टर लगाएर, बादलमाथि सुतेर' । त्यो समूहको कुरा सक्न नपाउँदै अर्कोले थपिहाल्छ,'बाँदल त पानीको थोपा-थोपा मात्रै हो । बादलमा सुतें भने खस्छु त म ?' त्यसपछि झट्ट अर्को बोल्छ,'बादलमाथि सुतेर, आकाशमा पौडेजसरी । प्लेन चढेर' । 'प्लेन, त्यो नाथे त विपनामै चढे भइगो नि,'यो समूहले कुराले दर्शक गललल हाँस्छन् ।

रंगकर्मी सुदाम सिके निर्देशित नाटक 'लाइक, लेट्स अभिनय गरौं'ले दर्शकलाई यसरी नै मज्जाले हसाउँछ । कहिले चसक्क मुटु दुखाउँछ । कहिले आफ्नै अस्तित्त्वमाथि प्रश्न गर्न लगाउँछ । नाटकमा के छैन ? सबै छ । मिल्सन राईद्वारा लिखित कविता छ, बेरोजगार युवाको गन्थनमन्थन छ । अनि देशको वर्तमान अवस्थाप्रतिको चिन्तन छ । कथाको सग्लो स्वरुप छैन, तर मञ्चमा जे देखाइन्छ त्यसमै कथा छ । 'एब्सर्ड' नाटकको शैली यस्तै, मूर्त स्वरुप नभेटिने अमूर्त कला । झट्ट हेर्दा लाग्छ, यी युवाहरु एकै ठाउँमा बसेर गफ्फिरहेछन् । यो समूह चियाका विभिन्न अड्डाहरुमा, पार्कहरुमा अनि कलेजका चौरहरुमा भेटिन्छन् । देशको सामाजिक, राजनीतिक आर्थिक अवस्था उनीहरुका गफैमा भेटिन्छन् ।

तस्बिर : प्रतीक सिंह

'सानोतिनो काममा आँखा नै जाँदैन, 'काम गर्ने जाँगरै छैन', 'यो देशमा हुने भनेको खाली त्यही ठूलो कुरा मात्रै हो । त्यसैले चुप्पो लाग्ने विदेशतिर जाने', 'म चाहिँ जब एप्लिकेसन लेख्दा लेख्दै दिक्क लागिसक्यो । अब त किताब लेख्छु', 'काम त छ तर सुरु हुने चाहिँ कहिले हो', 'आफूले जानेको स्किल सबै एआईले खाइसक्यो'यस्ता गफ उनीहरुकै भेलामा त सुनिन्छ । यस्तै विषयहरुले 'लाइक, लेट्स अभिनय गरौं'मा दर्शकले आफूलाई पाउँछन् । नाटकका हरेक पात्रसँग दर्शक सजिलै अन्तरसम्बन्धित हुन्छन् । व्यस्त दैनिकी बाँचिरहेकाहरुले केही क्षणका लागि भए पनि आफूलाई नियाल्छन् । जीन्दगीको यो दौडमा कतै जीन्दगी पो पछाडि छुट्यो की ? नाटकले आफूभित्रको आफूलाई खोज्न लगाउँछ । बाथरुममा मस्तले नुहाउँदाको क्षणमा पो तपाईं आफू बन्ने हो कि ? गीतमार्फत पनि संसारको माया/मोह भन्दा पर आफूलाई खोज्न प्रेरणा दिइरहे झैं लाग्छ ।

द वर्क, द वर्क, द वर्क, द वर्क,

छैन केही काम यो टन्टालापूरे घाम

त्यही पनि साथीहरु जाउँ न कतै जाउँ

किन चाहियो पैसा, किन चाहियो घर

गर्दिनँ म कामसाम तँ आफैं गर्

उकालोमा हिँड्, ओरालोमा हिँड्

सम्म बाटो पाउनासाथ नाच्दै नाच्दै हिँड्

रोजगारी पनि दे, पैसा पनि दे

यही देशको युवा हुँ म कहाँ छस् सरकार ए…

नाटकको अर्को दृश्यमा कलाकार दर्शकदीर्घातर्फ आउँछन्, अंगालोका लागि हात पसार्छन् । मन्द संगीत पृष्ठभूमिमा बजिरहन्छ । दर्शक उनीहरुको अंगालोमा बाँधिन्छन् । कोही सुकसुकाउँछन् पनि । कतै तपाईं जीवनको भारी त्यही अंगालोमा बिसाउन चाहनुहुन्छ कि ? आफूलाई सुनिदिनेको कमीले तपाईं कतै बैचन हुनुहुन्छ कि ? त्यो बेचैनी र जीवनका तमाम थकान त्यो अंगालोले केही क्षणका लागि बिर्साइदिन्छ । कलाकारले बढो प्रेम/वास्ता पूर्वक तपाईंलाई आफ्नो अंगालोतर्फ बोलाए तपाईं के गर्नुहुन्छ ?

यो नाटक शारीरिक हाउभाउ (फिजिकल)तर्फ बढी ढल्किएको छ । विधा सुहाउँदो संवाद प्रयोग गर्छ । कलाकारको यही शारीरिक हाउभाउले कविताको लयलाई अझ सशक्त बनाइदिन्छ ।

थोरै प्रप्सको प्रयोग गरिएको यो नाटकमा रोजगारी र बेरोजगारीका दुई पक्ष समेटिएको देखिन्छ । त्यही दुई पाटोलाई चेस बोर्डको संरचनामा तयार पारिएको सेटले प्रतिबिम्व गरे झैं लाग्छ । सुदामले नाटकमा अभिनय गरेका कलाकारहरुकै सहयोगमा 'लाइक, लेट्स अभिनय गरौं' तयार पारेका हुन् । २० जना कलाकार मञ्चमा देखिएका छन् । प्रयोगात्मक काममा सुदाम अगाडि नै देखिन्छन् । यसअघिको 'ऐया माया'पनि प्रयोगमै आधारित नाटक थियो । कविताको संयोजनमा समकालीन समाजको स्वरुप मिसिएको यो नाटक असार १७ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : असार १३, २०८० २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?