७ दिने लकडाउनलाई ७ फिल्म– ३- मनोरञ्जन - कान्तिपुर समाचार

७ दिने लकडाउनलाई ७ फिल्म– ३

यज्ञश

काठमाडौँ — लकडाउनको तेस्रो दिन । देशभरीबाट आज आएका समाचारहरुमा खासै हलचल छैन । सीमा बन्द भएकाले भागदौड पनि छैन ।

काखमा स-साना बच्चा च्यापेर हतास मुद्रामा बसिरहेका महिलाहरु आजका तस्बिरमा देखिएका छैनन् । हिजोसम्म यस्ता फोटोहरु अनलाइनहरुमा आइरहेका थिए ।


कतै पुग्ने अनिश्चय, कतै के हुने हो भन्ने अनिश्चिता र व्यग्र प्रतीक्षा । समय बल्छीमा अड्किएको माछाजस्तो भएको छ । कतिखेर कसले बल्छी तान्ने हो र कसको फुर्लुङमा पुगेर अन्त्य हुने हो जस्तो ।


काठमाडौं सहर मौन छ । लाग्छ, सहर साधनामा छ । हरेक सहरको आफ्नो मौलिक रंग र आवाज हुन्छ भन्छन् । काठमाडाैंको रंग गेरुवा हो भनेर केही वर्षअघि मसँगको अन्तर्वार्तामा प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठले भनेका थिए । पशुपतिदेखि स्वयम्भूसम्मलाई हेर्दा उनको भनाइ सत्य लाग्छ । भिक्षुको गाउनदेखि घरमा पोत्ने माटो र इँटाले रंग पनि त्यस्तै छन् ।


अनि आवाज नि ? काठमान्डुको स्वर के हो ? अध्यात्मले के भन्छ थाहा छैन । दैनिक जीवनको हिसाबले हेर्ने हो भने काठमाडाैंका मुख्य दुई आवाज छन्– एउटा, गाडीको । र, अर्को सटरको ।


कवि विप्लव प्रतीक भन्छन्– यदि काठमाडौंमा भएका सबै सटर एकैपटक खोल्ने र बन्द गर्ने हो भने पृथ्वीमा भुइँचालो आउनेछ । कोरोना–कहरले काठमाडौंको यो आवाज बन्द गरिदिएको छ ।


यसका साथै एउटा डरले भने घन्टी बजाइरहेको छ । संसारभर फैलिएको यो महामारीसँग जुध्न सबभन्दा ठूलो आवश्यकता देखिएको छ, मानिसहरुको धैर्य । मन स्थीर र धीर हुनका लागि शान्ति चाहिन्छ ।


लकडाउनको तेस्रो दिन मैले सिफारिस गर्न लागेको फिल्म त्यसमा सहायक हुनसक्छ । ७ दिनमा सात एसियाली फिल्मका ७ फिल्मको यो तेस्रो श्रृंखलामा पालो आएको छ, कोरियाको ।


आजको फिल्म

स्प्रिङ, समर, फल, विन्टर ...एन्ड स्प्रिङ (२००३, कोरिया)

भनिन्छ, सबभन्दा ठूलो कोलाहल मान्छेको मनमा हुन्छ । जसलाई कसैले सुन्न सक्दैन । जसले त्यसलाई सुन्न सक्छ र बुझ्न सक्छ, त्यो साधु वा सिद्ध हुन्छ ।


सिनेमाले मानिसलाई जीवनमा यस्ता कुराहरुको अनुभवहरु गर्ने मौका दिन्छ, जुन वास्तविक जीवनमा सम्‍भव छैन । तपाईं अन्तरिक्षमा नगइकन ‘ग्रयाभिटी’मा त्यसको अनुभव गर्न सक्नुहुन्छ । एक हजार वर्षअघि पृथ्वीमा मानिसको जीवन कस्तो थियो भन्ने ‘१०००० बीसी’मा देख्न सक्नुहुन्छ । दोस्रो विश्वयुद्ध कति भयानक थियो भन्ने जान्नलाई त सयौं फिल्म छन् ।


किम कि दुक नामक प्रख्यात कोरियाली निर्देशक ‘स्प्रिङ, समर, फल, विन्टर ... एन्ड स्प्रिङ’ले चाहिँ तपाईंलाई आफ्नो मनभित्र हेर्न सिकाउँछ ।


यो कथा हो, एउटा गुम्बा (मोनेस्ट्री)को । जंगलको बीचमा, तालको माझमा छ एउटा गुम्बा । यहाँ बाँचिरहेका छन्, दुई जीव । एउटा गुरु, अर्को चेला ।


सानैमा परिवारले ल्याएर छोडेको (एक किसिमको परित्यक्त) चेलाको जीवनका पाँच चरणलाई निर्देशकले समयका पाँच चक्रका रुपमा पेस गरेका छन् । यी हरेक चक्रको कथा झन्डै १० वर्षजतिको अन्तरालका छन् ।


सुरुको भागमा निकै कलिलो बालक छ । उसका बालसुलभ चञ्चलता छन् । त्यसपछिको भागमा केटो किशोर छ । उमेरको अर्को खुड्किलोमा पुग्दा स्त्री संसर्गको कथा यसमा छ । तेस्रो भागको कथा युवकको हो । युवकका रीस, आवेग, सफलता र असफलताका कुरा छन् । चौथो भागमा आइपुग्दा त्यो बालक एक समझदार, संसारलाई अर्कै नजरले हेर्ने मानिस भइसकेको छ । जो, आफ्नो जीवनलाई फर्केर हेर्न सक्छ र आफ्ना गल्तीहरु खुट्याउन सक्छ । फिल्मको अन्तिम भागमा नयाँ शिष्यको प्रवेश हुन्छ । यो भागले तपाईंको कमलो मनलाई पगाल्दिन सक्छ ।


फिल्ममा बुद्धलाई एउटा बिम्बका रुपमा प्रयोग गरिएको छ । बौद्ध दर्शनलाई पनि यसले कतै छुन्छ । तर, यसलाई निर्देशकको जीवनप्रतिको आफ्नो बुझाइका रुपमा नै बुझ्नु उचित हुन्छ ।


‘स्प्रिङ, समर...’ खासमा लेखेर बताउने भन्दा पनि हेरेर महसुस गर्ने फिल्म हो । यसले तपाईंलाई हरेक पटक सोच्ने ठाउँ दिन्छ । सास फेर्ने ठाउँ दिन्छ । यसैले म यसका बारे धेरै कुरा लेख्दिनँ, दुइटा कुरामात्रै थप्छु ।


पहिलो- फिल्मको पहिलो भागमा एउटा प्रसंग छ । यसमा छन्- माछा, भ्यागुता र सर्प। जीवनको गम्भीर दर्शनको दृश्यमा कसरी वर्णन गर्ने भन्नेमा यो जत्तिको राम्रो दृश्य मैले कुनै देखेको छैन ।


दोस्रो- मानिसको परिवपक्वता भनेको आफ्ना गल्ती आफैंले देख्न सक्ने स्थितिमा पुग्नु हो । यसको उमेरसँग खासै साइनो छैन । फिल्मको चौथो भागमा कथा जब पश्चातापमा पुग्छ, तब तपाईंलाई आफ्नो जीवन फर्किएर हेर्न मन लाग्नसक्छ ।


किम कि दुक कोरियाका नामी निर्देशक हुन् । उनले बनाएका ‘टाइम’, ‘ब्रेथ’, ‘थ्री आइरन’, 'पियता', ‘ब्याड गाइ’जस्ता थुप्रै फिल्म चर्चित फिल्म छन् । साथमा एउटा अर्को कुरा पनि थपिदिउँ । निकै सुन्दर सिनेमा बनाउने यी निर्देशकलाई २०१७ मा एक अभिनेत्रीले शारीरिक हिंसाको आरोप लगाइन् । यो उनको करिअरको एउटा धब्बाको रुपमा रहेको छ ।


वैकल्पिक फिल्म - ओक्जा (२०१७)


यस वर्ष ‘प्यारासाइट’बाट ओस्कर र कान्स जितेपछि बोङ जोन हु सबैले चिन्ने निर्देशक बनेका छन् । ‘प्यारसाइट’बारे चर्चा पनि निकै धेरै भइसकेको छ । यसैले मैले यहाँ विकल्पका रुपमा हुकै २०१७ को फिल्म ‘ओक्जा’ प्रस्तुत गरेको छु ।


यो नेटफ्लिक्स फिल्मले तपाईंलाई यथार्थ, भविष्य र कल्पनाको फ्युजनवाला दुनियाँमा पुर्‍याउने छ । मानिसहरुले भोगिरहेको समस्या र प्रविधिलाई नै सबैथोक ठानेर चल्दा प्रकृतिमाथि हुने अन्यायको कथा यसले सुनाउने छ ।


यो पनि हेर्नुहोस्

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

प्रकाशित : चैत्र १३, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२

यज्ञश

काठमाडौँ — लकडाउनको दोस्रो दिन । नेपालमा आज कोरोना संक्रमितको संख्या तीन पुग्यो । उपचार भएकाको संख्या एक । कोरोना पुग्न बाँकी रहेको देश मध्ये मालीमा पनि आजै दुईजनामा देखियो ।

कोभिड– १९ को यो विश्व यात्राले एक फन्‍को पूरै मारेको छ ।

सात दिने लकडाउनका लागि दिनको एउटाको दरले ७ एसियाली देशका ७ फिल्मका सिफारिसको दोस्रो श्रृखंलामा आज म जापानको फिल्मको सिफारिस गर्दैछु ।

हिजो सिफारिस गरेको चिनियाँ फिल्म ‘फ्लावर्स अफ वार’ का निर्देशक च्याङ यिमाउ यो पुस्ताकै एक महान् निर्देशक हुन् । उनलाई गत वर्षको बर्लिन फिल्म फेस्टिभलमा भेट्‍ने मौका मेरो हातबाट फुस्किएको थियो । उनको फिल्म ६९ औं बर्लिन फेस्टिभलको एक प्रमुख फिल्म थियो । तर, प्रिमियरका लागि मिती तोकिएको चार दिनअघि चिनियाँ सेन्सरले यो फिल्म पास गरेन । र, उनी बर्लिन आएनन् । त्यो फिल्म अहिलेसम्म पनि रिलिज भएको छैन ।

आज सिफारिस गर्न लागेको जापानी फिल्मका निर्देशक भने यसपालीको बर्लिन फेस्टिभलमा आए । उनको अन्तर्वार्ता गर्न नपाए पनि भेट्‍न र झन्डै डेढ घन्टा लामो संवाद सुन्न मैले पाएँ । त्यो संवाद पनि कोसँग ? ताइवानका हलिउड निर्देशक आङ लीसँग । जसले ‘ब्रोकब्याक माउन्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्म बनाएका छन् ।

यी जापानी हुन्, हिरोकाजु कोरेइदा ।

नासाले बेलाबेला नयाँ तारा भेट्टाएजस्तो हामी बेलाबेला कुनै यस्ता निर्देशक भेट्टाउँछौं, जसको फिल्मोग्राफी नवग्रहको मालाजस्तै हुन्छ । कोरेइदा पनि त्यस्तै निर्देशक हुन् । सन् २००८ मा जापानी फिल्म ‘डिपाचर्स’ले विदेशी भाषाको ओस्कर जितेपछि जापानी फिल्म फेरि 'फर्म'मा आए । कुनैबेला जापानका अकिरो कुरोसावालाई फिल्म बनाउन पैसाको समस्या भयो भन्दा मार्टिन स्कोरसेजी र स्टिवन स्पिलवर्गले निर्माता बनिदिन्थे । जापानको शान त्यस्तो थियो ।

हिरोकाजु 'डिपार्चर्स' भन्दा धेरै अघिका निर्देशक हुन् । उनले पहिलो फिल्म ३० वर्षअघि बनाएका थिए । १९९५ को ‘माबोरोसी’पछि उनलाई धेरैले चिन्न थालिसकेका थिए । त्यसपछिको फिल्म ‘आफ्टर लाइफ’ले चाहिँ उनलाई स्टार बनाइदिएको थियो ।

यसपाली बर्लिनमा आङ लीको रोजाइमा हिरोकाजुको ‘आफ्टर लाइफ’ देखाइएको थियो । एक साताभित्रमा निधन भएका केही मानिसहरु चित्रगुप्तको अफिसजस्तो कुनै कार्यालयमा पुगेका छन्, जहाँ उनीहरुलाई आफ्नो जीवनको सबभन्दा सुन्दर क्षण छान्न लगाइन्छ । र, उनीहरुलाई भनिन्छ– आइन्दा तपाईंका सबै स्मृतिहरु मेटिने छन्, यही एउटामात्रै रहनेछ ।

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

तपाईंले त्यसरी छान्नु पर्‍यो भने आफ्नो जीवनको कुन क्षण छान्नुहुन्छ ?

आजको फिल्म
लाइक फादर लाइक सन (२०१३, जापान)

यो फिल्म पहिलोपटक मैले यात्रामा हेरेको थिएँ । हेडफोनको साउन्ड धेरै राम्रो थिएन । सबटाइटल पढ्नलाई स्क्रिन धेरै ठूलो थिएन । तैपनि, फिल्म छोड्‍न मन लागेन । दोस्रोपटक घरमा आरामले हेरेपछि बल्ल धीत मरेको थियो ।

यो कथा हो, बाबुछोराको । बाबुछोरामाथि संसारमा धेरै फिल्म बनेका छन् । गीत, कविता र उपन्यास लेखिएका छन् । भूगोल र भाषा फरक भए पनि मूलत: संसारभरका मानिसको भावना उस्तै हुन्छ । त्यसैले गर्दा एउटा भाषा र भूगोलको कथाले अर्को भाषा र भूगोलको मानिसलाई छुन्छ । आखिर यो सबै भूगोलमा पुगेका मानिसहरु एउटै मूलबाट उत्पत्ति भएका पानीका भंगालाजस्ता हुन् । सबटाइटलले पात्रले बोलेको संवाद बुझाउँछ, भावना त तपाईंको आफ्नै हो । फिल्मको चरित्र वा परिस्थितिसँग त्यसले मेल खायो भने तपाईंलाई त्यसले छुन्छ ।

यस वर्ष ओस्कर जितेको कोरियन फिल्म ‘प्यारासाइट’ जस्तै कोरेइदाको ‘लाइक फादर लाइक सन’ पनि दुई परिवारको कथा हो । धनी र गरिब । एउटा सहरको आलीसान जीवनमा छ, अर्को सानो बजारको गरिबीमा । ‘प्यारासाइट’मा जस्तै यसमा पनि सन्तानप्रतिको प्रेमले यी दुई परिवारलाई जोड्छ ।

एकछिनलाई सोच्नुस्– तपाईंको जीवन आफूले चाहेजस्तै सुन्दर तरिकाले चलिरहेको छ । तपाईंसँग धन र प्रेम दुवै छ । जीवनमा शान्ति छ । तपाईंले आफ्नो बच्चालाई चाहेजस्तो स्कुलमा पढाइरहनु भएको छ । र, उ तपाईंले भनेजस्तो गरी हुर्किइरहेको छ ।

यस्तैमा एकदिन अस्पतालबाट तपाईंलाई फोन आउँछ, केही जरुरी कुरा छ । तपाईं जानुहुन्छ र थाहा पाउनुहुन्छ– तपाईंको बच्चा त साटिएको रहेछ । तपाईले जसमाथि यति ठूलो लगानी गर्नुभएको छ, जसमाथि तपाईंलाई गर्व छ, त्यो सन्तान अरु नै कसैको रहेछ ? तपाईं के गर्नुहुन्छ ?

तपाईंको आफ्नो छोरो वा छोरी चाहिँ कहाँ होला ? तपाईंले यो बच्चालाई दिएकोजस्तो सुविधा के तपाईंको आफ्नो सन्तानले पाएको होला ? अब तपाईं आफूले हुर्काइरहेको बच्चासँग नै खुसीसाथ बस्नुहुन्छ कि आफ्नो सन्तान खोज्न जानुहुन्छ ?

अझै अर्को प्रश्न– यदि तपाईंको आफ्नो सन्तान साह्रै गएगुज्रेको हालतमा बाँचिरहेको रहेछ भने तपाईं के गर्नु होला ?

‘लाइक फादर लाइक सन’ यसकै कथा हो । एउटा परिवारको कथा । मूल्य र मान्यताको कथा । धन र प्रेमको कथा ।

के बच्चाका लागि तपाईंले कमाइदिने धन वा पढाइदिने स्कुल नै सबभन्दा ठूलो कुरा हो ? कि अरु पनि केही कुरा छ

अभिभावकहरुको मनमै तीर हान्ने गरी हिरोकाजु प्रश्न उठाउँछन् । यो यस्तो फिल्मले हो जसले तपाईंलाई घरी उद्वेलित बनाउँछ, घरी द्रबित ।

सबभन्दा ठूलो प्रश्न त फिल्ममा पछि आउँछ । यो कथामा अभिभावक मात्र छैनन्, बच्चा पनि छन् । उनीहरुलाई यो सत्य कस्तो लाग्ला ? के तिनले यो सब सहन गर्न सक्लान् ? ९ वा १० वर्षको कुनै बच्चा, जसले एउटा दम्पतीलाई आफ्‍नो संसारै ठानेर बसेको छ, एक सेकेन्डमा उनीहरुको कोही पनि होइनन् भन्ने थाहा पायो भने के गर्ला ?

यी सब भावनाका कथाका लागि ‘लाइक फादर लाइक सन’ हेर्नुस् । र, हेर्नुस्– हिरोकाजु कति उम्दा तरिकाले कथा भन्छन् ।

हिरोकाजु कोरेइदाले गत वर्ष बनाएको फिल्म ‘सपलिफ्टर्स’को मैले केहीअघि समीक्षा लेखेको थिएँ । यो फिल्मले गत वर्ष विश्व प्रसिद्ध कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । र, त्यस वर्ष ओस्करमा अर्न्तराष्ट्रिय फिल्मको प्रतिस्पर्धामा थियो । यो पनि अर्को उम्दा फिल्म हो ।

यसको सफलतापछि ५७ वर्षीय हिरोकाजु फ्रान्सतिर लागे । जुलियट बिनोसेलाई लिएर उनले बनाएको फ्रेन्‍च फिल्म ‘द ट्रुथ’ पनि आइसकेको छ ।

वैकल्पिक फिल्म– 'लाइक समवन इन लभ' (२०१२)
जसरी हिरोकाजुले फ्रान्स गएर जुलियट बिनोसेसँग फिल्म बनाए, इरानका महान् निर्देशक अब्बास किरुस्तामीले यो काम केही वर्ष पहिले नै गरिसकेका थिए । उनले पनि फ्रान्स पुगेर ‘सर्टीफाइड कपी’ बनाएका थिए, जसको मुख्य भूमिकामा थिइन्, जुलियट बिनोसे ।

तर, यो वैकल्पिक फिल्म ‘लाइक समवन इन लभ’ भने उनले जापान पुगेर बनाएका थिए । यो जापानको कथा हो, जापानी समाज र भावनाको कथा । यसैले यसलाई जापानी फिल्मकै रुपमा यहाँ उल्लेख गरेको हुँ ।

एक वृद्ध प्रोफेसर, एक सुन्दरी युवती, उसको प्रेमी र अनन्त : प्रतीक्षा । सबैलाई कुनै न कुनै कुराको प्रतीक्षा । के प्रतीक्षाको कुनै अन्त्य छ । तृसनाको कुनै अन्त्य छ ?

प्रकाशित : चैत्र १२, २०७६ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×