कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक

ह्याकर्सले अकाउन्टबाट पैसा असुल्दै
रीना मोक्तान

काठमाडौँ — अभिनेता सरोज खनाल र अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ । ठगी गर्ने उद्देश्यले फेसबुक ह्याक गरेको पत्ता लागेपछि दुवै जनाले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक

आफ्नो अकाउन्टबाट ह्याकर्सले २५ हजार ठगीसकेको बताउँछन् सरोज खनाल । 'मेरो फेसबुक ह्याक भएको २४ घण्टा भयो । हुन त अहिले साइबर ब्यूरोले यसमाथि अनुसन्धान गरिरहेको छ,' उनले भने, 'हाम्रो अकाउन्टबाट ती ह्याकर्सले पैसा माग्ने काम गरेका छन् । मेरो दुईजना साथीले १० र १५ हजार रूपैयाँ पठाइसकेका रहेछन् । उनीहरुले मलाई अप्ठ्यारो परेको रहेछ भनेर पैसा हालिदिएछन् । मलाई ६० जना जतिले फोन गरेर पैसा चाहिएको भन्दै फोन गरिसक्नु भएको छ ।'

ह्याकर्सले आफ्नो फेसबुकको दुरूपयोग गरेर म्युचल फ्रेन्डलाई न्यूनतम ८० हजारदेखि एक लाख रूपैयाँसम्म मागेको सरोज सुनाउँछन् । '२५ हजार फसिसकेको थाहा पाएपछि साथीहरुलाई फेसबुक ह्याक भएको जानकारी त दिएको छु,' सरोज भन्छन्, 'उनीहरुले कसैलाई के फन्ड खोल्ने भनेर पैसा मागेका छन् । कतिलाई मलाई अप्ठ्यारो पर्‍या छ भनेर पैसा मागेको छन् । बैंकको कार्ड पनि फरक-फरक बैंकको छ ।'

साइबर ब्यूरोले फलोअर्स धेरै भएकाले अकाउन्ट रिकभर गर्न सकिन्छ कि सकिँदैन भन्ने दोधार भएको सुनाएपछि सरोज तनावमा छन् । 'त्यो फटाहाको हातमा पैसा नजाओस् भनेर मेरो कोसिस भइरहेको छ, 'उनले भने ।

सरोजका अनुसार पत्रकार दयाराम पाण्डेको अकाउन्टबाट उनलाई एउटा टेलिभिजन कार्यक्रमको विषयबारे छलफल गर्न भन्दै जुम मिटिङमा निम्तो दिए । जुम मिटिङमा आइडी राख्ने बित्तिकै आफ्नो अकाउन्ट ह्याक भएको सरोज बताउँछन् । 'मेरो अकाउन्टबाट दीपालाई पनि मेसेज गएको रहेछ । ह्याकर्सले फेसबुकको दुरूपयोग गरेर ठगी गरिरहेको छ,' सरोजले भने ।

सरोजको अकाउन्टबाट मेसेन्जरमा आएको कोड नम्बर डायल गर्ने बित्तिकै आफ्नो अकाउन्ट ह्याक भएको बताउँछिन् दीपाश्री निरौला । 'सरोज दाइको फेसबुक ह्याक भइसकेको रहेछ । सरोज दाइले एउटा कोड पठाएको छु गफ गरौं न भनेर मेसेज गर्नु भयो । मैले गफ गर्न नम्बर डायल गर्ने बित्तिकै ह्याक भयो,' दीपा भन्छिन्,'त्यसपछि शंका लाग्यो मलाई । अनि मैले सुमन भान्जालाई भने । उसले मेरो अकाउन्टमा मेसेज गरेपछि ह्याकर्सले आपत परेको भन्दै एक लाख रूपैयाँ माग्यो । अनि हामी पक्का भयौं ।'

दीपा थप्छिन्,'मेरो अकाउन्टबाट को-कसको ह्याक हुने हो भनेर थाहा छैन ।' उनलाई पनि फेसबुकमा रहेको २ लाख बढी फलोअर्सकै चिन्ता छ । 'हामी डिजिटल प्लेटफर्ममा मख्ख हुन्छौं तर यो त्यति सुरक्षित हुँदो रहेनछ, 'उनले भनिन् ।

एक महिनायता अकाउन्ट ह्याक गर्ने ट्रेन्ड बढेको बताउँछन् साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्याल । 'सरोज र दीपाको मुद्दामा हामी सामाजिक सञ्जालको सम्बन्धित कार्यालयसँग समन्वय गर्दैछौं । पछिल्लो समयमा ह्याक गर्ने ट्रेन्ड एकदमै बढेको छ । विगत एक महिनादेखि ह्याक गर्ने र म्युचल फ्रेन्डलाई पैसा डिपोजिट गरिदिन भन्ने ट्रेन्ड एकदमै बढेको छ, 'उनी भन्छन्, 'हामी आफ्नो पक्षबाट सबैलाई सजकता अपनाउन सल्लाह पनि दिन चाहन्छौं । हामीले चलाउने सामाजिक सञ्जाल नेपाल बाहिरबाट सञ्चालित छन् । यसको विश्लेषण र अनुसन्धानको विषयहरु सम्बन्धित कार्यालयसँग हुन्छ ।' उनका अनुसार सम्बन्धित कार्यालयको प्रतिक्रियासँगै कार्यान्वयनको काम अगाडि बढ्नेछ । त्यसैले अनुसन्धान कहिले सकिन्छ भन्ने एकिन नभएको उनको भनाइ छ । 'कुनै मुद्दामा अपराधी ७ घण्टामै पत्ता लागेको छ । कुनैलाई १५ दिन पनि लागेको छ,'उनले भने ।

कानुनमा के छ ?

यो मुद्दामा वित्तिय कारोबार ऐन २०६३ को परिच्छेद ९ का दफाहरु आकर्षित हुने अर्याल बताउँछन् । परिच्छेद ९ मा कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्यांकमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिइ सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएको अवस्थामा पनि अख्तियारी दिइएको भन्दा भिन्न कुनै कार्यक्रम, सूचना वा तथ्यांकमा पहुँच प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गरेमा निजलाई कसूर ठहरिने उल्लेख गरिएको छ । यो दफाविपरित जानेलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

अभिनेत्री दीपाश्री यस किसिमको अपराधीलाई सजाय कम भएको बताउँछिन् । ' ह्याकर्सहरु धेरै नै अराजक भए । यो एकदमै नै ठूलो समस्या हो । ह्याकर्सले एकजनाबाट एक लाख उठाइरहेको हुन्छ । उनीहरुलाई सजाय २ लाख जरिवाना त न्यायोचित भएन नि, 'उनले भनिन्, 'हाम्रो कानुन कडा हुनुपर्‍यो । यस्तो सजाय होस् कि दोस्रोपटक अपराधीले अपराध गर्ने नसोचोस् ।'

प्रकाशित : चैत्र १३, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?