कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

यज्ञश

काठमाडौँ — बेला यस्तै छ । जब जब पृथ्वी वा प्रकृतिको कुनै कुरा मानिसको पकडभन्दा बाहिर जान्छ, त्यो बेला हाम्रा लागि खराब हुन्छ । यो त्यस्तै बेला हो ।

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

कोरोना भाइरसको महामारी हाम्रो पकडभन्दा बाहिर पुगिसकेको छ । यसैले त यो छिमेकी चीनबाट निस्किएर संसारभर पुगिसकेको छ । संसारका दुई निकै साना टापु टाइपका देशमामात्र यो पुग्न बाँकी छ ।

नेपालमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले ७ दिनका लागि लक डाउन घोषणा गरेको छ । आजैबाट सुरु हुने लकडाउन चैत १८ गतेसम्मका लागि हुनेछ ।

'लकडाउन' को आशय हो, नागरिकहरु घरबाट बाहिर ननिस्किउन् । र, मान्छेले नै संसारभर पुर्‍याएको यो भाइरस एक व्यक्तिबाट अर्कोमा नसरोस् ।

तपाईंका स्कुल, कलेज र कार्यालय बन्द होलान् । पुरै दैनिकी परिवर्तन भएको होला । यस्तोमा समय के गरेर कटाउने ? वा यस अवधिमा केही सिर्जनात्मक काम गर्ने कि ? यो तपाईंको रोजाइको कुरा । समय पनि कटाउने र सिर्जनात्मक पनि हुने मन छ भने यसका दुई उपाय छन्– किताब पढ्ने, फिल्म हेर्ने ।

म यो सात दिनका लागि मैले हेरेर मन परेका ७ एसियाली देशका फिल्म सिफारिस गर्नेछु, दिनको एउटाको दरले । यी सबै एकदमै धेरै हेरिएका, टिभीमा पनि दोहोर्याइतेहेर्याइ आउने ‘थ्री इडियट्स’जस्ता फिल्म हुनेछैनन् । इन्टरनेट वा डिभिडी माध्यममा हेर्न सकिने केही थोरै चर्चित तर राम्रा फिल्म यी हुनेछन् । सकेसम्म यी विपत्ति वा संकटमाथि मानिसको जितका कथा हुनेछन् । हरेक सिफारिसको अन्त्यका एक वैकल्पिक सिफारिस पनि हुनेछ । तपाईंले मैले सिफारिस गरेको फिल्म हेरीसक्नु भएको छ वा यो हेर्न मन भएन भने अर्को रोजाइका लागि ।


आजलाई फिल्म

फ्लावर्स अफ वार (चीन, २०११)

यो मेरो प्रिय फिल्ममध्येको एक हो । सबभन्दा मन परेको कुनै एक फिल्म भन्न गाह्रो पर्छ । तर, मन परेका केही फिल्मको सूची बनाइयो भने यो फिल्म छुट्दैन ।

च्याङ यिमाउ, मैले नामैले चिनेका पहिलो चिनियाँ फिल्म निर्देशक हुन् । नोबेल विजेता मो यानका ‘रेड सोरगम’ लगायतका थुप्रै कृतिमाथि यिनले फिल्म बनाएका छन् । अभिनेत्री ग्वोङ लीलाई लिएरमात्रै उनले सात वटा फिल्म बनाएका छन् । ‘रेज दि रेड ल्याल्ट्रन’ देखि ‘जुदाउ’ र ‘द रोड होम’सम्म उनका सबै फिल्मले मलाई प्रभावित पारेका हुन् । उनले अंग्रेजीमा बनाएको जेट ली अभिनित ‘हिरो’ त इपिक नै भइहाल्यो ।

‘फ्लावर्स अफ वार’ युद्ध समयको कथा हो । यसमा युद्ध छ, सिपाही पनि छन्, बम र बन्दुक छ । बारुदको गन्ध छ, मानिसको चित्कार छ । तर, यो युद्धको कथा होइन । त्यो युद्धमा बाँचेका केही मानिसको कथा हो ।

चीनको इतिहासमा ‘नानकिङ’ एउटा दुखद च्याप्टर हो । नानकिङ सहरका लागि १९३७ मा सुरु भएको दोस्रो चीन–जापान युद्धलाई एउटा भयानक त्रासदी मानिन्छ । चीनको तत्कालीन राजधानी नानकिङमा त्यसबेला जापानी सेनाले मच्चाएको हत्या र बलात्कारको श्रृंखला इतिहासको एउटा दाग हो ।

‘फ्लावर्स अफ वार’ । युद्धमा फुलेका फूलको यो कथा त्यही समयको कथा हो । सहरमा युद्ध चलिरहेको छ । जापानीहरुले घुसपैठ गरिसकेका छन् । सहरमा भागदौड छ ।

यही सहरको एक कुनामा छ चर्च । यहाँ छन् केही ननहरु ।

सहरको अर्को कुनामा छ ‘ब्रोथल’ । यहाँ छन् केही नगरवधुहरु ।

यी दुईको बीचमा छ एउटा अमेरिकी नागरिक– क्रिश्चियन बेल ।

हो, क्रिश्चियन बेल । तपाईंहरुले बेललाई अनेक रुपमा हेर्नुभएको होला । कहिले ब्याटम्यान त कहिले मसिनिस्टिका रुपमा । कहिले अमेरिकन हसलमा त कहिले जर्ज बुसका पालाका उपराष्ट्रपति डिक चेनीका रुपमा ‘भाइस’मा । गत वर्षको ‘फोर्ड भर्सेस फरारी’मा म्याट डिमनको इसारामा गाडी कुदाइरहेको देख्नुभयो होला । तिनै बेल तीसको दशकको नानकिङमा छन्, ‘लास्ट ट्यांगो इन पेरिस’मा मार्लन ब्रान्डो भएजसरी !

कथा तब रोचक हुन्छ, जब धर्म, अनुशासन र संयमको पाठ पढिरहेका ननहरुका बीच झन्डै उस्तै उमेरका स्वच्छन्द युवतीहरुको प्रवेश हुन्छ । यो प्रवेशले मृगको वथानमा बाघ प्रवेश गरेजसरी चर्चमा तरंग ल्याउँछ । शिकारीजसरी जापानी सेनाले दागा धरिरहेको यो चर्चमा जम्मा भएका यी प्राणीहरुको जीवनको कथा फिल्मले भन्छ ।

यसमा एकातिर युद्ध छ भने अर्कातिर जीवनको सुन्दरता पनि छ । त्यसै त नाममै युद्ध र फूललाई समावेश गरिएको छ । एकातिर कठोर राजनीतिक महत्वांकाक्षाले मानिसलाई कुल्चिने युद्ध छ, अर्कातिर अवोध र निश्छल जीवनको गाथा छ। जीवनमा एउटामात्रै रंग छैन, एउटा मात्रै धुन छैन ।आखिर कठोरता र कोमलता, माया र घृणाको बीचमै त जीवनको सन्तुलन बनिरहेको छ । यसको सुन्दर व्याख्या यो फिल्मले गर्छ ।

तपाईं सिनेमाको पारखी हो भने तपाईंले यसमा रंग र प्रकाशको संयाेजनको विशेष ख्याल गर्नुहुनेछ । ननहरुले लगाउने लुगा र अरु केटीले लगाउने लुगामात्र हाेइन, उनीहरुका लागि तय गरिएको प्रकाश र क्यामेरा एंगलसमेत फरक छ । चर्चका तख्ता र सिंढीहरु छन् । यसको छत छ । जहाँबाट कहिले प्रकाश आउँछ त कहिले गोली । ससाना कुरामा निर्देशकले गर्ने कलात्मक प्रयोगहरु तपाईं यसमा देख्‍नुहुनेछ । यसकाे अर्को अवस्मरणीय कुरा छ, स‌ंगीत । कथा वाचनमा संगीतलाई कसरी प्रयोग गर्ने त्यो यसमा देख्न सकिन्छ ।

समय जतिसुकै खराब होस्, त्यसमा पनि कुनै न कुनै सुन्दर र सकारात्मक चिज हुनसक्छ ।

यो खराब समयमा एउटा सुन्दर फिल्म हेर्नु नै त्यो सकारात्मक चिज पनि हुनसक्छ !


र, वैकल्पिक फिल्म- 'दी ब्लु काइट'

तपाईंलाई यो फिल्ममा रुचि जागेन भने विकल्प हुनसक्छ– १९९३ मा आएको तियान चियाङचियाङको फिल्म ‘दी ब्लु काइट’ । चिनियाँ इतिहासको अर्को महत्वपूर्ण समय सांस्कृतिक क्रान्तिको यो कथा दस वर्षसम्म चीनमा प्रतिबन्धमा परेको थियो । सांस्कृतिक क्रान्तिको तिखो आलोचना गर्ने यो फिल्मले पनि निरीह मानिसको संघर्षको कथा भन्छ ।

प्रकाशित : चैत्र ११, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?