लमजुङ — कोभिड १९ (कोरोना भाइरस) रोकथाम र नियन्त्रणका लागि बेंसीसहर नगरपालिकाले १ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग, तयारी र बन्दोबस्ती समेतका लागि बजेट विनियोजन गरेको हो । नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने क्रममा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र कर्मचारीको मृत्यु भएमा वा जोखिममा परेर अंगभंग भएमा १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरिएको बताए ।
बैठकले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षका लागि २ लाख र हरेक वडामा हेल्थ डेस्क स्थापनाको लागि १ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । बैठकले १ हजार शय्या क्षमताको क्वारेनटाइन बनाउने निर्णय गरेको उनले बताए । जिल्ला समन्वय समितिको सभाहल र विद्यालयका कक्षा कोठाहरु क्वारेन्टाइनका लागि प्रयोग गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरसका शंकास्पद विरामी भएका नगरवासीका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, ७५ वर्ष माथिका लागि घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने लगायत निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा बैठक बसीरहन सम्भव नभएमा, कोरोना रोकथाम तथा नियन्त्रणका कुनै निर्णय गर्नु परेमा नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई अधिकार र जिम्मेवारी दिने समेत बैठकले निर्णय गरेको छ ।
नेपाल सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म मुलुकभर लकडाउन गर्ने निर्णय गरेकोले उक्त निर्णयलाई पूर्ण रुपमा पालना गर्न बैठकले नगरवासीमा आह्वान गर्दै निर्णय पालना भए नभएको अनुगमन गर्न वडा कार्यालयहरुलाई जिम्मेवारी प्रदान गरेको नगरपालिकाका प्रेस संयोजक कृष्ण केसीले बताए ।
