लकडाउनका कारण स्वाब परीक्षणमा समस्या
बिर्तामोड — कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दो लक्षण देखिएका व्यक्तिको ‘थ्रोट स्वाब’ को नमुना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । लकडाउनका कारण यातायात तथा हवाई सेवा ठप्प भएपछि शंकास्पद बिरामीको नमुना काठमाडौं पठाउन नसकिएको हो ।
गौरादहका ३७ वर्षीय एक पुरुषमा कोभिड–१९ सँग मिल्दो लक्षण देखिएको छ । उनलाई मंगलबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ । यातायात सेवा ठप्प रहेकाले ‘स्वाब’ कसरी काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको जिल्ला विपद व्यवस्थापन समितिका सचिव जीवन चम्लागाईले जानकारी दिए ।
ती पुरुष ५ दिनअघि कतारबाट घर फर्किएका थिए । उनमा ज्वरो र रुघाखोकी देखिएको छ । उनी आफै मंगलबार बिहान भद्रपुरस्थित क्वारेन्टाइनमा पुगेका थिए । ज्वरोसँगै रुघाखोकी समेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा रेफर गरिएको क्वारेन्टाइनका हेल्थ असिस्टेन्ट मनोज भट्टराईले जानकारी दिए ।
चम्लागाईंकाअनुसार जिल्लामा ४१ जना क्वारेन्टाइनमा बसेका छन् । ५६ जना होम क्वारेन्टाइनमा रहेको चम्लागाईंले बताए । क्वारेन्टाइनमा बसेका सबै दुबई, कतार, थाइल्याण्डसहित विभिन्न देशबाट स्वदेश फर्किएकाहरु हुन् ।
यसअघि पृथ्वीनगरका एक युवक कोरोना नेगेटिभ देखिएपछि तीन दिन आइसोलेसनमा बसेर घर फर्किएका थिए । कतारबाट घर फर्किएका उनी ज्वरो देखिएपछि भद्रपुरस्थित आइसोलेसनमा बसेका थिए ।