१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

श्रमिकलाई कामबाट ननिकाल्न र नियमित तलब दिन भारत सरकारको आग्रह

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय श्रम तथा रोजगार मन्त्रालयले सबै किसिमका सार्वजनिक र निजी रोजगादाता कम्पनीहरुलाई व्यापार–व्यवसाय असहज भएको भन्दै अस्थायी र करारका श्रमिक/कर्मचारीहरुलाई जागिरबाट ननिकाल्न ‘एडभाइजरी’ जारी गरेको छ ।

श्रमिकलाई कामबाट ननिकाल्न र नियमित तलब दिन भारत सरकारको आग्रह

भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणलाई फैलन नदिन अधिकांश ठाउँमा लागू गरिएको ‘लकडाउन’ का कारण व्यापार व्यवसाय ठप्प हुँदा लाखौं कामदारहरुको रोजगारी नै संकटमा परेको पृष्ठभूमिमा सरकारले त्यस्तो एडभाइजरी जारी गरेको हो । साथै लकडाउनको अवधिमा कामदारहरुको ज्यालसमेत नघटाउन भनिएको छ । महाराष्ट्र राज्य सरकारले त दुई साताअघि नै यही किसिमको निर्देशन जारी गरिसकेको छ ।


कोरोनाका कारण पुरै अर्थतन्त्र संकटमा परेका बेला थपिने बेरोजगारीले थप संकट बढाउने जोखिम देखेर भारत सरकारले त्यस्तो निर्णय लिएको बुझिएको छ । यदि कुनै कर्मचारी बिदामा बस्न चाहन्छन् भने उनीहरुको ज्याला/तलब कट्टा नगर्ने गरी व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ । कामदारले रोजगारी गुमाउँदा उनीहरुमा आर्थिक सकंट पर्नुका साथै कोरोनाको त्राससँग जुध्ने मनोबलमा ह्रास आउने मन्त्रालयको भनाइ छ ।


विगत केही वर्षयता अर्थतन्त्रमा छाएको सुस्तताका कारण भारतले त्यसै पनि बेरोजगारी समस्या झेल्दै आएको थियो । कारोना संकट सुरु हुनु नै भारतमा बेरोजगारीको दर विगत चार दशककै उच्च करिब आठ प्रतिशतको हाराहारीमा थियो । कोरोनाको त्रास सुरु भएपछि भारतीय अर्थतन्त्र नराम्ररी प्रभावित भएको एवं आर्थिक गतिविधि ठप्प हुँदा बेरोजगारीको समस्या थप बढाउने देखिएको छ ।


यसैबीच एस एण्ड पीलगायतका अन्तर्राष्ट्रिय एजेन्सीहरुले पनि कोरोनाका कारण भारतीय अर्थतन्त्रमा थप असर पर्ने भन्दै आगामी वर्ष भारतको आर्थिक वृद्धिदर पाँच प्रतिशतको हाराहारीमा मात्र रहने प्रक्षेपण गरिसकेका छन् । भारत सरकारले भने आगामी वर्षको बजेटमार्फत् आर्थिक वृद्धिदर ६ देखि ६.५ प्रतिशतको लक्ष्य राखेको थियो । अर्थतन्त्रको विस्तारमा आउने त्यो कमीले बेरोजगारी थप बढाउने निश्चित छ ।


भारतको करिब ५० करोड श्रम जनशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा आबद्ध रहेको अनुमान छ । कोरोना संकटले अर्थव्यवस्था ठप्प हुँदा सबैभन्दा बढी मार यिनै अनौपचारिक क्षेत्रमा काम गर्नेहरुलाई पर्नेछ ।


प्रकाशित : चैत्र ११, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?