२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

'बम्बे बेगम्स' समीक्षा : बलिउडलाई एक महिला निर्देशकको पत्र

रीना मोक्तान

'संसारका लाखौं महिलाले झैं मैले पनि यौन दुर्व्यवहारको सामना गरेकी छु । मेरो गुरु प्रद्यूमन जाम्वालले धेरैपटक मेरो यौन शोषण गरे । तर म चुप बसें । त्यतिबेला मैले त्यही जानेकी थिएँ । अब हामी महिलाहरु मिलेर एकसाथ यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउनुपर्छ । र यौन दुर्व्यवारलाई 'नो' भन्नुपर्छ ।' 

'बम्बे बेगम्स' समीक्षा : बलिउडलाई एक महिला निर्देशकको पत्र

नेटफ्लिक्सले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मार्च ८ मा रिलिज गरेको ६ भागको सिरिज 'बम्बे बेगम्स'को अन्त्यतिरको दृश्य हो यो । तर, कथा र विषयको हिसाबले सुरुवात ।

कथावाचन गर्ने माध्यममा वाचकको प्राय: ध्येय आफ्नो कुरा सावित गर्नु वा स्रोता/दर्शकलाई आफ्नो कथामा विश्वस्त बनाउने हुन्छ । त्यही एक लाइनको कुरा भन्नका लागि कथा र पटकथाको सम्पूर्ण संरचना तयार पारिएको हुन्छ । बम्बे बेगम्सको त्यो एक लाइन हो- 'यौन हिंसा र कार्यस्थलमा हुने यौन हिंसाविरुद्ध जसले जतिखेर जहाँ जसरी बोले पनि हुन्छ, त्यसका लागि हरेक समय उपयुक्त समय हो । अहिले हिंसामा परेकाले अहिल्यै बोल, पहिले भोगेकाले पनि अब बोल । यस विषयमा मौन बस्नु भनेको पीडककै मनोबल बढाउनु हो ।'

यो कुरा भन्नका लागि निर्देशक अलंकृता श्रीवास्तवले ५ जना महिलाको कथा बुनेकी छन् । यी भिन्न उमेर र सम्बन्धमा रहेका महिला छन् । यिनको उमेर र सोच फरक छ । समाजमा यिनको ओहदा र दर्जा फरक छ । तर, यी सबैले भोगेको र देखेको समाज भने एउटै छ । प्रगति पथमा लम्किन खोज्न यी महिलाले भोग्ने बाधाहरु एउटै किसिमका छन्, खालि बाधा खडा गर्ने पात्रको वर्ग फरक छ ।

माथि उल्लेख गरिएको संवाद रोयल बैंककी सिइओ रानीले बोलेकी हुन् । मुम्बई सहरको एक कमर्सियल बैंककी प्रमुख कार्यकारी अधिकृत भनेको हालको पुँजी र शक्ति संरचनामा उपल्लो स्तरमा पर्ने पद हो । यो धेरै अर्थमा शक्तिशाली पद हो । जति धेरै शक्तिशाली पद, त्यति धेरै आकर्षण । चुम्बकले फलाम तान्छ । तर यसले सधैं सिक्का मात्रै तान्छ भन्ने ग्यारेन्टी छैन, तिखा काटी र किला पनि यसले तान्छ । कर्पोरेट दुनियाँमा शक्तिशाली पदले त्यस्तै चुम्बकीय शक्ति बोकेको हुन्छ । रानीको वरिपरिमात्रै किला र काँटी छैनन् उनले त्यस्ता किला ठोकिएको लामो बाटोमा यात्रा गरेर आएकी छन् । त्यसैले उनी भित्र जत्रोसुकै आँधी चले पनि बाहिर शान्त देखिन्छिन् ।

रानी बैंककी सिइओमात्र होइनन् । उनका अन्य परिचय र नाता पनि छन्- उनी साई र जुराभरकी कान्छी आमा हुन् । नौसादकी पत्नी पनि हुन् । अन्य सिइओलाई जस्तो बैंकमा सफल भएर मात्र उनको जीवन सफल हुँदैन । उनी पूर्णरुपमा सफल हुनलाई पत्नी र आमाका रुपमा पनि सफल हुनुपर्ने मान्यता समाजले बोकेको छ । यो सिरिजले यही मान्यतामाथि प्रश्न उठाउँछ । तर, अन्तिमतिर रानीलाई आमा र पत्नीका रुपमा सफल भएको देखाएर फेरि त्यही मान्यताको समर्थन पनि गर्छ । रानीको परपुरुषसँग सम्बन्ध छ, त्यो पनि कमर्सियल बैंकलाई नियमन गर्ने सरकारी बैंकको गभर्नरसँग । रानीको पतिले यसमा आपत्ति त जनाउँदैन तर रानीलाई आफ्नी पत्नीको रुपमा पनि भावनात्मक रुपमा स्वीकार गर्दैन । उसका सन्तानले पनि रानीलाई आमाका रुपमा स्वीकार गर्दैनन् । अन्त्यसम्ममा केके घटनाक्रमको विकास हुन्छ र त्यो तिरस्कार स्वीकार्यतामा बदलिन्छ भन्ने 'बम्बे बेगम्स'को एउटा कथा हो ।

पाँचजना पात्रका पाँच फरक कथा यसमा छन् । तर, ती सबैलाई आपसमा जोडिएको छ । केही पात्र छन् जसको कहिल्यै भेट हुँदैन तर भावनात्मक रुपमा तिनको सम्बन्ध स्थापित हुन्छ ।

रानीकै बैंकमा काम गर्ने अर्की पात्र छ- फातिमा । फातिमा र उसको पति अरिजय सन्तान जन्माउने योजनामा छन् । सन्तान जन्माउने योजनाबीच नै फातिमाले नसोचेको पद पाउँछे । अब उसका अघिल्तिर सन्तान कि करिअर भन्ने प्रश्न आइपुग्छ, जो सामान्यत र मध्यम र निम्न मध्यम वर्गका सबैजसो कामकाजी महिलाले भोग्ने गरेका छन् । यो प्रमोसन लिँदा उसको दर्जा त्यही बैंकमा काम गर्ने आफ्नो पतिभन्दा उच्च हुनेछ । यसले पतिको 'मेल इगो' जगाउने पक्का छ । यो असमञ्जसबाट सुरु हुने परिवारको तनाव कुन हदसम्म बढ्छ र यसको निकास के निस्किन्छ त्यो सिरिजको अर्को कथा हो ।

बैंकमा काम गर्ने अर्की पात्र छिन्- आइसा । ईन्दोरबाट मुम्बई आएर संघर्षरत आइसा रानीजस्तै एक दिन बैंकको सिइओ हुने सपना बुन्छिन् । एक्लै भएकै कारण घरबेटीले उनलाई कोठामा बस्न दिँदैन । उनी बास खोज्दै कहिले आफ्नो पूर्वप्रेमी त कहिले बैंककै सहकर्मीको घरमा भौंतारिन्छिन् । आइसाको यो विवशताको फाइदा ककसले उठाउन खोज्छन् र उनलाई कसरी हिंसाको सिकार बनाउँछन् त्यो अर्को कथा हो । साथमा आइसाको समस्या के छ भने यो पात्र आफ्नो यौनिकतालाई लिएर पनि संशयमा छ । सिरिजको अर्को कथा हो रानीकी सौतेनी छोरी साइको, जो किशोरावस्था र विपरीत लिंगीप्रतिको आकर्षणको पहिलो तरंगमा तैरिइरहेकी छन् ।

सिरिजको अर्को मुख्य कथा छ- लीलीको । लीलीको कथा महत्वपूर्ण किन पनि छ भने प्राय: सबै पात्रलाई जोड्ने काम लीलीले नै गर्छिन् । कुनैबेला डान्सबारका अँध्यारोमा काम गरेकी (देह व्यापारसमेत) लीली आफ्नो छोराका लागि उज्ज्वल भविष्यको खोजीमा छन् ।

सिरिजका केही पात्र र घटना अर्कै समाजका जस्ता लाग्छन्, खासगरी कर्पोरेट दुनियाँको खुला र उदार यौन सम्बन्धका प्रसंगहरु । कतिपय प्रसंगहरु हाम्रै वरिपरिका जस्ता छन् । आफ्नो शरीरमाथिको नियन्त्रण र निर्णयहरुमा अधिकारका लागि महिलाहरुले संघर्ष गर्दै आइरहेका छन् । पितृसत्ताले गाँजेको समाजमा महिलालाई एक स्वतन्त्र अस्तित्व र व्यक्तिका रुपमा लिइएको पाइँदैन । महिलाहरुले यही मान्यताका विरुद्ध आन्दोलन गरिररहेका छन् । 'बम्बे बेगम्स'ले एक हदसम्म यो आन्दोलनको सान्दर्भिकता झन् प्रष्ट्याउँछ ।

यसका साथै दुर्व्यवहार र शोषणमा परेका महिलाले यौन दुर्व्यवहारकै कारण कति शारीरिक र मानसिक पीडा भोग्छन् भन्ने पनि देखाउँछ । यो कुरा आइसामार्फत् निर्देशकले देखाएकी छन् । एक दिन घर पुर्‌याइदिने क्रममा आइसालाई सिनियरले यौन शोषण गर्छ । जसकारण उर्जाशील आइसा कसरी विस्तारै ओइलाउँदै जान्छिन्, त्यो पनि सिरिजले देखाउँछ ।

आइसा दुर्व्यवहारबारे तत्कालै बोल्न सक्दिनन् । अधिकांश यौन दुर्व्यवहारबारे बोल्ने महिलाहरुमाथि उठ्ने प्रश्न नै यही हुन्छ- किन त्यही बेला बोलेनौ ? भर्खरै करियरको सुरुवात गरेकी एक महिलाले दुर्व्यवहारबारे बोल्दा आफ्नो काम नै गुमाउने अवस्था हुन्छ । यौन दुर्व्यवहारको पीडाले पनि कतिजना बोल्न सकिरहेका हुँदैनन् । र, शक्तिशालीहरुले बोल्नेलाई झन् दुख दिने, उजुरी नै दबाइदिने पनि गर्छन् भन्ने पनि सिरिजले देखाउँछ ।

दुर्व्यवहारबारे महिलाले आफ्नो प्रतिष्ठा, करियर नै दाउमा राखेर बोल्दासमेत उनीमाथि प्रश्नहरु उठाइन्छ । उनीहरुलाई गलत देखाइन्छ । आइसाले आफूमाथि भएको दुर्व्यवहारबारे बोल्दा फातिमाले उल्टै विवाहेत्तर सम्बन्धको दृष्टिकोणले हेर्छिन् । रानी आफैं महिला भएर पनि उक्त विषयलाई भित्र-भित्रै मिलाउन खोज्छिन् । रानी र फातिमा 'मिटू' अभियान चर्किँदा पीडितहरुका आवाजलाई नसुदिने समाजकै पात्र हुन् । यौन दुर्व्यवहारबारे आवाज उठाउँदा धेरैले पीडितको आवाज बन्द गरिदिने प्रयास गर्छन् । केही समयअगाडि नेपालमा पनि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले शाहले आफूमाथि यौन दुर्व्यवहार भएको आवाज उठाउँदा धेरैले उनलाई 'चरित्रहीन' सावित गर्न खोजे । लामो समयपछि दुर्व्यवहारबारे बोल्दा उनको आवाजलाई कमजोर बनाउने प्रयास भए । समाजमा स्थापित व्यक्तिलाई त यो मुद्दा स्थापित गर्न यति गाह्रो छ भने संघर्षरतलाई कति गाह्रो होला ?

'बम्बे बेगम्स'ले यौन दुर्व्यवहारमा परेका महिलालाई बोल्न प्रेरित गर्छ । यसअघि 'लिपिस्टिक अन्डर माइ बुर्खा' बनाएर प्रशंसा कमाएकी अलंकृताले यसमा पनि उम्दा काम गरेकी छन् । यो सिरिजको अर्को विशेषता कलाकार र उनीहरुको अभिनय हो । यसमा खासगरि तीनजना कलाकारको अभिनय तारिफयोग्य छ । रानीको भूमिकामा पूजा भट्ट, फातिमाको भूमिकामा देखिएकी सहाना गोस्वामी र लीलीको भूमिकामा देखिएकी अम्रुता सुवास । यी तीन अभिनेत्रीले अन्य कलाकारसँग मिलेर यो सिरिजलाई महत्वपूर्ण बनाइदिएका छन् ।

सिरिजको अर्को विशेषता के हो भने यसले सावित गरेको छ एउटा राम्रो र प्रभावकारी फिल्म बनाउनका लागि ठूला स्टार चाहिँदैन । हिरोको भरमा फिल्म चल्छ भन्ने उद्योगमा अलंकृताले बताएकी छन्- महिलाका कथामा पुरुष सहायक हुँदा पनि कथाको स्वाद खराब हुँदैन । र, कमसेकम उनले आफूले सृजना गरेको फिल्मको संसारमा चाहिँ महिलालाई मूख्य भूमिकामा राखेकी छन् । यो पनि बलिउडजस्तो उद्योगका लागि एउटा शिक्षा हो, उनको सन्देश हो- फिल्मलाई मानिसका भोगाइका कथा र तिनलाई व्यक्त गर्ने कलाले सुन्दर बनाउँछ, न कि कुनै खान वा कपुर हिरोको उपस्थितिले । यसलाई एक महिला निर्देशकको बलिउडलाई पत्र पनि भन्न सकिन्छ, जसले समाजमा महिलाको अवस्थामात्र भन्दैन महिलालाई 'सो पिस' ठान्ने बलिउडलाई महिला पात्र कसरी निर्माण गर्नुपर्छ र तीनलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्नेमा पनि एउटा सानो शिक्षा दिन्छ !

प्रकाशित : चैत्र १३, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?