कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङ बस्ती र हेलम्बुमा मिस वर्ल्ड

प्रताप विष्ट, अनिश तिवारी

(हेटौंडा) र (सिन्धुपाल्चोक) — मिस वर्ल्ड टोनी एन सिंहले मकवानपुरको विकट चेपाङ बस्ती र सिन्धुपाल्चोकको ‘हिमालयन ग्रेट ट्रेल’ को अवलोकन गरेकी छन् । मकवानपुरको कैलाश गाउँपालिका–७ तामलाङमा मिस नेपाल २०१८ की शृंखला खतिवडाले निर्माण गरेको ङिको स्वास्थ्य चौकीको अवलोकन गर्न शुक्रबार मिस वर्ल्ड सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजक पुगेका थिए । स्वास्थ्य चौकीको अवलोकन गर्न पुगेका पाहुनालाई कैलाश गाउँपालिकाका स्थानीयले स्वागत गरे । 

चेपाङ बस्ती र हेलम्बुमा मिस वर्ल्ड

मिस वर्ल्डमा नेपालबाट प्रतिनिधित्व गरेकी खतिवडाले ‘ब्युटी अफ पर्पज’ यही स्वास्थ्य चौकीको सामाग्री प्रस्तुत गरेर जितेकी थिइन् । शुक्रबार मिस वर्ल्ड र आयोजकलाई उनले आफ्नो काम अवलोकन गराएकी हुन् । चेपाङ बस्तीमा गत वर्ष निर्माण गरिएको स्वास्थ्य चौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए । विश्व सुन्दरी हेर्नेका लागि स्थानीयवासी टाढाटाढाबाट आएका थिए । कार्यक्रममा वाग्मती प्रदेश सांसद मुनु सिग्देल, सभासद गोविन्दराम चेपाङ, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालगायतको सहभागिता थियो ।


यसैगरी, सिन्धुपाल्चोकको हेलम्बुको हिमाली क्षेत्र घोप्टेघ्याङमा निर्माणाधीन ६० किलोमिटर ग्रेट ट्रेलको छेउमा विश्व सुन्दरी सिंह पुगेलगत्तै उनलाई हेर्ने र सेल्फी खिच्नेको लर्कोले एकैपटक छोप्यो । विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गरेर बौद्ध परम्पराको धर्मचक्र पर्खालअनुरूप सम्भवतः विश्वकै दोस्रो ग्रेटवाल गुरु रेन्पोछे ‘हिमालयन ग्रेट ट्रेल’ मा पुगेर उनले वरिपरिको दृश्य ध्यानपूर्वक हेरिन् । ग्रेट ट्रेलको १ सय १० मिटरको संरचना हेरेपछि उनले हृयोल्मो बौद्धधर्म परम्पराअनुसार रेन्पोछे र गुरुहरूबाट अभिषेक छेजु आशिष लिइन् ।


मिस वर्ल्डले खाइन् ढिँडो

हेलम्बु–७ स्थित साबिक इचोकको सुरर्सिङमा पुगेर त्यहाँको स्थानीय महाकालेश्वरी आधारभूत विद्यालयका बालबालिकालाई भेट्दै काखमा लिएर स्नेह देखाइन् । शुक्रबार बिहानै मिस वर्ल्ड सीईओ जुलियो मोर्ले, मिस वर्ल्ड डाइरेक्टर स्टिभ डगलेससहित मिस नेपाल अनुष्का र पूर्व मिस नेपाल शृंखलालगायत १५ जनाको टोलीसहित आयो । ३ वटा एभरेस्ट हेलिकप्टरबाट घोप्टेघ्याङ र बौद्ध लामा गुरुसँगै एभरेस्ट हेलिकप्टरमा आएकी टोनीले हिमाली गाउँ सुरर्सिङको स्थानीयको घरमा ह्योल्मो परिकार चिया, ढिँडो र साग चाखिन् ।


मिस नेपाल अनुष्काले हेलम्बु—७ इचोकको सुरर्सिङमा चलाएको परियोजना हेरेर उनले तानमै बसेर गलैँचा बुन्न सिकाइरहँदा स्थानीय झनै दंग देखिए । त्यहाँ बालबालिका र महिलाको हितमा धुप र गलैँचाजस्ता सीपमूलक अनेक तालिम दिँदै आएको नेपाल सुन्दरी अनुष्काले सञ्चारकर्मीलाई जानकारी दिइन् । यहाँको अवस्थाबारे भिडियो र सूचना दिएर ब्युटी प्रपोज प्रतियोगिता गाउँक्षेत्रको प्रस्तुतिले जितेपछि विश्वसुन्दरी हेलम्बुमा आएको उनको कथन छ । नेपाल सुन्दरी श्रेष्ठको परियोजनाअन्तर्गतको बौद्धधर्ममा अपरिहार्य मानिने धुप उत्पादन गर्ने मेसिन र गलैँचा बुन्ने तान अवलोकन गरेपछि अतिथिलाई बिदा गरिएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

ग्रेट ट्रेलमा सुन्दरीको प्रतिबद्धता

हेलम्बुलाई पर्यटनमा अब्बल बनाउन ठडिएको ह्योल्मो धर्मचक्र पर्खालअनुसारको ‘हिमालयन ग्रेट ट्रेल’ लाई सय मिटर बनाउने पूर्व मिस नेपाल शृंखलाले प्रतिबद्धता व्यक्त गरिन् । टोनीले हेलम्बु–७ स्थित सुरर्सिङको आयमूलक कार्यक्रम ‘ब्युटी प्रपोज’ का लागि २० हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?