कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्यारासाइट’ले ओस्कार जित्दा ट्रम्प किन दु:खी ?

एजेन्सी

कोलोराडो — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ ले ओस्कार अवार्ड जितेकोमा दुःख व्यक्त गरेका छन् । बिहीबार कोलोराडोमा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘प्यारासाइट’ दक्षिण कोरियाली चलचित्र भएकैले ओस्कार दिइनु गलत भएको बताएका हुन् ।

‘प्यारासाइट’ले ओस्कार जित्दा ट्रम्प किन दु:खी ?

‘यस वर्षको एकेडेमी(ओस्कार) अवार्ड कति खराब थियो, तपाईँले ध्यान दिनुभयो ? र विजेता भयो... दक्षिण कोरियाको एउटा चलचित्र,’ ट्रम्पले भने ।

प्यारासाइटलाई अवार्ड दिनु गलत रहेको कारण बताउँदै ट्रम्पले भने, ‘यस्तो के वाइहात हो ? दक्षिण कोरियासँगको व्यापारमा हाम्रा थुप्रै समस्या छन् । यस्तो अवस्थामा दक्षिण कोरियाली चलचित्रलाई नै यस वर्षको उत्कृष्ट चलचित्रको अवार्ड दिए ।’

बोङ जून होको निर्देशन रहेको ‘प्यारासाइट’ चलचित्र ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने पहिलो विदेशी भाषाको चलचित्र हो । यसका साथै ‘प्यारासाइट’ ले उत्कृष्ट निर्देशक र उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि जित्न सफल भएको थियो ।

ट्रम्पले अहिलेका चलचित्रप्रति असन्तुष्टि जनाइरहँदा ७० वर्षभन्दा पहिले बनेका अमेरिकी चलचित्रप्रति भने रुचि देखाएका थिए ।

‘म गोन विथ द विन्ड जस्ता चलचित्र खोजिरहेको छु, के हामीकहाँ गोन विथ द विन्डजस्ता चलचित्र छैनन् । सनसेट बुलेवार्डजस्ता चलचित्र थुप्रै महान चलचित्र छन् नि,’ ट्रम्पले भने । ‘गोन विथ द विन्ड’ सन् १९३९ मा बनेको ऐतिहासिक अमेरिकी चलचित्र हो । मार्गरेट मिचेलको उपन्यासमा आधारित भएर बनाइएको यस चलचित्र भिक्टर फ्लेमिङले निर्देशन गरेका थिए ।

‘प्यारासाइट’ राम्रो छ वा छैन भन्नेबारे भने आफूलाई केही जानकारी नभएको बताउँदै ट्रम्पले भने, ‘मलाई लाग्छ यो विदेशी भाषाको उत्कृष्ट चलचित्र हुन सक्थ्यो तर सर्वोत्कृष्ट चलचित्र नै । यसभन्दा पहिले यस्तो कहिल्यै भएको थियो ?’

‘प्यारासाइट’ को अमेरिकी वितरक निअनले राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्तिको आलोचना गरेको छ । निअनले ट्विटरमा लेखेको छ, ‘बुझ्न सकिने कुरा हो, उनी पढ्न सक्दैनन् ।’

त्यस्तै राष्ट्रपति ट्रम्पले आफू ब्राड पिटको प्रशंसक नभएको पनि बताएका छन् । हलिउड अभिनेता पिटले ओस्कारमा उत्कृष्ट सह–अभिनेताको अवार्ड ग्रहण गर्दा ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको प्रसंग ल्याएका थिए । ‘म ब्राड पिटको ठूलो प्रशंसक कहिल्यै थिइनँ तरउसमा केही बुद्धिमता भने देखिन्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?