१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ओस्कारमा ‘प्यारासाइट’को कीर्तिमान, उत्कृष्ट फिल्म बन्ने पहिलो गैरअंग्रेजी फिल्म

उत्कृष्ट अभिनेता ‘जोकर’का वाकिन फिनिक्स

काठमाडौँ — ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्को कीर्तिमान कायम गरेको छ।

ओस्कारमा ‘प्यारासाइट’को कीर्तिमान, उत्कृष्ट फिल्म बन्ने पहिलो गैरअंग्रेजी फिल्म

ओस्कारको ९२ औं संस्करणमा यो डार्क–कमेडी फिल्मले उत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड जित्यो ।

यही फिल्मबाट वोङ जुन हु उत्कृष्ट निर्देशक घोषित भएका छन् । उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पनि ‘प्यारासाइट’ले नै जितेको छ ।

अवार्ड ग्रहण गरेपछि निर्देशक वोङले भने, ‘जब म युवा थिएँ र सिनेमा पढ्दै थिएँ, मलाई जो सबैभन्दा वैयक्तिक हुन्छ, त्यो नै सिर्जनशील हुन्छ भनिन्थ्यो । त्यो भनाइको स्रोतचाहिँ महान मार्टिन स्कोरसेजी हुन् ।’ उनले यस्तो किन भनिरहेका थिए भने यसपटक तिनै स्कोरसेजी उत्कृष्ट निर्देशक विधामा प्रतिस्पर्धामा थिए, नेटफ्लिक्स ड्रामा 'दि आइरिसम्यान'का लागि । स्कोरसेजीजस्तै अर्का हलिउड हस्ती क्विन्टिन टोरन्टिनो पनि वोङका प्रतिप्सपर्धी थिए ।

ओस्करअघि प्रबल दावेदार मानिएको साम मेन्डिसको फिल्म '१९१७' लाई 'प्यारासाइट' ले पछि पारेको हो। ओस्करअघि वितरण गरिएका बाफ्टा र गोल्डन ग्लोब लगायतमा '१९१७'ले बाजी मारेको थियो ।

अन्तराष्ट्रिय फिल्म (पहिलेको उत्कृष्ट विदेशी भाषाको फिल्म) जित्ने पनि यो पहिलो कोरियन फिल्म बनेको छ । यसै वर्ष यसले प्रसिद्ध क्यान फिल्म फेस्टिभलमा समेत उत्कृष्ट फिल्मको पाम डि'ओर जितेको थियो ।

उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि जोेकरका अभिनेता वाकिन फिनिक्स तस्बिर : रोयटर्स

उत्कृष्ट अभिनेताको अवार्डचाहिँ अपेक्षा अनुरुप नै ‘जोकर’का वाकीन फिनिक्सले चुमेका छन् । फिनिक्सले यही फिल्मबाट गोल्डन ग्लोब र बाफ्टा अवार्ड पनि जितिसकेका छन् । ‘जुडी’ की रेन्नी जेल्वेगर उत्कृष्ट अभिनेत्री बनेकी छन् । त्यस्तै, उत्कृष्ट सह–अभिनेता ‘वन्स अपन अ टाइम’बाट ब्राट पीट र सह–अभिनेत्री ‘म्यारिज स्टोरी’ बाट लौरा डर्नले जितेका छन् ।

प्यारासाइट : सहर, सपना र आक्रोश

उत्कृष्ट फिल्मको प्रबल दाबेदार मानिएको ‘१९१७’ ले उत्कृष्ट भिजुअल इफेक्ट्स्, सिनेमाटोग्राफी र साउन्ड मिक्सिङमा चित्त बुझाउनु परेको छ । ओस्कार समारोहमा र्‍यापर इमिनेमको पर्फमेन्स विशेष आकर्षण बनेको थियो । १७ वर्षपछि इमिनेमले ओस्कारमा प्रस्तुति दिएका हुन् ।

ओस्कार विजेताहरुको पूर्ण सूची हेर्नुस् :

सर्वोत्कृष्ट चलचित्र – प्यारासाइट

सर्वोत्कृष्ट निर्देशक – बोङ जुन हु, प्यारासाइट

सर्वोत्कृष्ट पटकथा – प्यारासाइट

सर्वोत्कृष्ट अन्तराष्ट्रिय चलचित्र – प्यारासाइट

सर्वोत्कृष्ट अभिनेता – वाकिन फिनिक्स

सर्वोत्कृष्ट अभिनेत्री – रेनी ज्वेल्वेगर, जुडी

सर्वोत्कृष्ट सहअभिनेता – ब्राड पिट, वन्स अपन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट एनिमेटेड चलचित्र – टोय स्टोरी ४

सर्वोत्कृष्ट एनिमेटेड छोटो चलचित्र – हेयर लभ

सर्वोत्कृष्ट मौलिक गीत – आई एम गोन्ना लभ मि अगेन, एल्टन जोन– रकेटम्यान

एडप्टेड स्क्रिनप्ले – जोजो र्‍‍याबिट

लाइभ एक्सन सर्ट – द नेइबर्स विन्डो

प्रोडक्सन डिजाइन – वन्स अपन अ टाइम इन हलिउड

कस्ट्युम डिजाइन – लिटिल वुमेन

डक्युमेन्ट्री – अमेरिकन फ्याक्ट्री

डक्युमेन्ट्री सर्ट– लर्निङ टु स्केटबोर्ड इन अ वारजोन(इफ यु आर अ गर्ल)

सहअभिनेत्री – लाउरा डर्न, म्यारिज स्टोरी

सिनेमाटोग्राफी – १९१७

साउन्ड इडिटिङ – फोर्ड भर्सेस फरारी

साउन्ड मिक्सिङ – १९१७

फिल्म इडिटिङ – फोर्ड भर्सेस फरारी

भिजुअल इफेक्ट्स – १९१७

मेकअप एन्ड हेयर – बम्बशेल

ओरिजिनल स्कोर – जोकर

प्रकाशित : माघ २७, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?