कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस वर्ल्डको ताज जमैकन सुन्दरीलाई, नेपाललाई पनि दुई उपाधि

नवीन पोखरेल

लन्डन — ६९ औं मिस वर्ल्ड प्रतियोगिताको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन् । प्रतिस्पर्धी अन्य एकसय १० मुलुकका सुन्दरीलाई पराजित गर्दै फ्लोरिडा स्टेट युनिभर्सिटीकी ग्रयाजुएट २३ वर्षीया टोनीले विश्व प्रतिष्ठित ताज जितेकी हुन् । जितपछि अश्वेत वर्णकी उनले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफ्नो उपाधि सदुपयोग गर्ने बताइन् । टोनीले मिस टयालेन्ट उपाधि पनि जितेकी छन् ।

मिस वर्ल्डको ताज जमैकन सुन्दरीलाई, नेपाललाई पनि दुई उपाधि

लन्डन एक्सेलमा शनिबार अपरान्ह आयोजित प्रतियोगितामा मिस फ्रान्स ओफ्ली मेजिनो फर्स्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते । टप ५ मा छानिएका नाइजेरिया, ब्राजिल, इण्डिया, जमैका र फ्रान्समध्ये मिस जमैकाले मिस वर्ल्डको ताज जितेकी हुन् । टप ५ प्रतियोगीले लोकप्रिय टीभी प्रस्तोता पियर्स मोर्गनको कडा प्रश्न सामना गरेका थिए ।


प्रतियोगितामा कन्टिनेन्टल वीनर्समा क्यारिबियनबाट मिस ट्रिनिडाड एण्ड टोबागो, युरोपबाट मिस फ्रान्स, एसियाबाट मिस इण्डिया, अमेरिकाजबाट मिस ब्राजिल र ओसिनियाबाट मिस कुक आइल्यान्ड्सले उपाधि जिते ।


मिस नेपाललाई दुई उपाधि

मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन् । टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड जितेकी हुन् ।


अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन् । टप १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए । मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन् ।


दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘विश्वमञ्चमा नेपाली झन्डा फहराउन सफल भएकी छु’, हातमा ठूलो नेपाली झन्डा बोकेकी उनले खुसी साट्दै कान्तिपुरसँग भनिन्, ‘मिस वर्ल्डमा ‘ब्युटी विथ अ पर्पोज’ उपाधि मुटु नै हो । योसहित दुई उपाधि जितेर घर फर्कन पाउँदा ज्यादै गर्व लागेको छ । यसले आफ्नो प्रोजेक्टमा काम गर्न झन् हौसला मिलेको छ ।’


नेपालीहरुले झन्डा बोकेर कार्यक्रममा आइदिँदा आफूलाई थप आत्मबल पुगेको उनले सुनाइन् । छोरीको जितमा अनुष्काका बाबुआमा पनि दंग देखिन्थे ।


प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए । उनीहरुले बारम्बार हुटिङ गर्दै नाचे ।




प्रकाशित : मंसिर २९, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?