कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बलिउड निर्देशक प्रकाश झा नेपाल आउने

काठमाडौँ — सामाजिक–राजनीतिक विषयमाथि फिल्म बनाउन माहिर बलिउड निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को मुख्य निर्णायकका रुपमा झा नेपाल आउने भएका हुन् ।

बलिउड निर्देशक प्रकाश झा नेपाल आउने

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा १ फागुनदेखि पाँच दिनसम्म महोत्सव चल्नेछ । माघको अन्तिममा झा नेपाल आइपुग्ने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।


पाठकका अनुसार नेपाली फिल्मकर्मीमाझ झाको ‘मास्टर क्लास’ पनि हुनेछ । पाठक भन्छन्, ‘झाले ज्वलन्त सामाजिक विषयमाथि सशक्त फिल्म बनाउनुहुन्छ । त्यसैले हामीले उहाँलाई रोजेका हौं ।’


झाले निर्देशन गरेका चर्चित फिल्ममा ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’ लगायत छन् । झा नेतृत्वको निर्णायक मण्डलमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्चुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य छन् ।


महोत्सव दौरान हलिउड फिल्मकर्मी ज्याक स्टेन्ज र नेट्फलेक्सका प्रतिनिधिले डिजिटल फिल्म मार्केटिकबारे कार्यशाला सञ्चालन गर्ने पनि पाठकले बताए । जसमा दुई सय नेपाली फिल्मकर्मी सहभागी हुने पाठकले जानकारी दिए । भन्छन्, ‘अनलाइनमा फिल्म कसरी बेच्ने, प्याकेजिङ गर्ने र सम्बन्ध विस्तार गर्ने भन्ने विषयमा उहाँहरुले बताउनुहुनेछ । यसले हाम्रा फिल्म विदेशी बजारमा पुग्न सहज हुने विश्वास लिएका छौं ।’


महोत्सवमा ८० फिल्म

महोत्सवमा ८० चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघुचलचित्र, ५ नेपाली कथानक, १५ नेपाली लघुचलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म छन् । ५५ देशका ६ सयभन्दा बढी फिल्मबाट यी फिल्म छानिएको आयोजकले जानकारी दिएको छ । महोत्सवको यसपटकको नारा दिइएको छ, ‘विश्वका कथाहरुको कथ्य उत्सव’ ।


अन्तर्राष्ट्रिय विधाअन्तर्गत सर्वोकृष्ट फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोकृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभेरेस्ट अवार्ड, सर्वोकृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोकृष्ट लघुलचित्रलाई ५ सय डलरसहित बागमती अवार्ड प्रदान गरिनेछ । त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई १ लाख र लघुचलचित्रलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रकाशित : माघ २, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×