कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उँधौलीमा रमे किराती

विना थापा

(कास्की) — किरात सामुदायले बिहीबार विविध सांस्कृतिक कार्यक्रम गरी उँधौली पर्व मनाएका छन् । विभिन्न जिल्लादेखि आएर पोखरामा बसिरहेका समुदायले विधिपूर्वक प्रकृतिको पूजा गरि उँधौली मनाएका हुन् । खेतबारीमा लगाएको अन्नबाली भित्र्याएपछि उँधौली पर्व मनाइने लिम्बू जातिका अगुवा गजेन्द्र सुब्बाले बताए । 

उँधौलीमा रमे किराती

यस दिन किरात संस्कारअनुसार, भित्र्याएको धान, मकै, कोदोलगायतका अन्नबाली, रक्सी, मासु तरकारी समुदायको संस्कारअनुसार विभिन्न सर्दाम जुटाएर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको सुब्बाले सुनाए । ‘पूजा गरे देवता खुसी हुने विश्वासले समेत यो पर्व मान्दै आएको हो,’ सुब्बाले थपे, ‘देवतालाई खुसी गराएर मात्र समुदायमा भित्र्याएको अन्नबाली खाने चलन छ ।’ यो पर्वमा किरात सामुदायमा आधारित साकेला, धान, केलाङलगायत विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइन्छ । त्यसैगरी वैशाख महिनामा बालीनाली चाहेजस्तो राम्रो बनाउन, असिना पानीबाट जोगाउन, स्वास्थ्य राम्रो बनाउनका लागि सिमे, भुमे, नाग, नागिन सबैलाई चोखो राखेर पूजा गरी उँधौली पर्व मनाउने गरिन्छ ।


खेतीपाती लगाउनेले ‘हामी खुसी छौं तपाईंले भनेजस्तै गरिदिनुभयो’ भनेर देवतालाई पूजा गरेर अन्नबाली खाएर उँधौली मान्ने गरिन्छ । यस अवसरमा किरात समुदायको विविध सांस्कृतिक भेषभूषा, लिपिको समेत संरक्षण र सम्बर्द्धन हुने किरात याक्थुङ चुम्लुङ पोखराका अध्यक्ष धनप्रसाद लिम्बूले बताए । पर्वमा लोप हुन लागेको धनुषवाणको प्रतियोगिता पनि राखिएको थियो । कार्यक्रमा प्रस्तुत गरिएका साकेला, धान, केलाङ नाचहरू विवाह, न्वारनजस्ता शुभकार्यमा पनि नचाइने गरिन्छ ।


कार्यक्रमको उद्घाटन गर्दै क्याप्टेन प्रदीप लिम्बूले समुदायको संस्कार संस्कृति संरक्षणमा सबै किरात एक हुनुपर्ने बताए । ‘यसका लागि युवाहरूले चासो देखाउनुका साथै राज्यको समेत सहयोग हुनुपर्छ,’

उनले भने ।


सानोछँदादेखि धान नाच नाचेको सम्झना सुनाउँदै ७० वर्षीया जसमाय लिम्बूले यस्ता संस्कृति जोगाउन नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताइन् । ‘यसको संरक्षण भएन भने हाम्रो पहिचान पनि हराउँछ,’ जसमायाले भनिन्, ‘खेतीबाली लगाउन छाडेपछि उँधौली पनि हराउँदै जाला भन्ने डर छ । खेतीपाती नगरे पनि हाम्रो संस्कार र संस्कृति जोगाउनका लागि यसलाई लिम्बू समुदायमा मात्र सीमित नराखी अरू समुदायले समेत मनाउने प्रचलन ल्याउनुपर्छ ।’ कार्यक्रम किरात याक्थुङ चुम्लुङ पोखराले आयोजना गरेको हो ।

प्रकाशित : मंसिर २७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?