कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मादी आइडलमा समाजको कथा

(कास्की) — भारतीय सेनामा भर्ती भएकासँग मागी विवाह गरिदिने चलनै छ । विवाहपछि बाध्यताले पराइघर पुग्छिन् मादी–३ की विमा गुरुङ । दुई महिनाको बिदामा आएका उनका श्रीमान् पल्टन जाने बेला हुन्छ । उनी र सासुले गुरुङ संस्कारअनुसार खाँदा र चामलको टीका लगाएर बिदाइ गर्छन् । छुट्टी सकिएर गएको केही महिनापछि आँगन सफाइ गरिरहेको अवस्थामा हुलाकी आइपुग्छन् ।

श्रीमान्‌ले पठाएको चिठी पढेर सुनाउँछन् । सन्चै आरामै रहेको व्यहोराका चिठी सुन्दा विमा र उनकी सासु खुसी हुन्छन् ।


खुसी लामो समय टिक्दैन । चिठी आएको केही दिनपछि अकस्मात् विमाका श्रीमान्को शव आइपुग्छ । सासु बेहोस हुन्छिन् । नझुक्किनुहोला, यो वास्तविक घटना भने होइन । तर, समाजमा हुँदै आएको घटनाको वास्तविकता भने हो । पोखरामा जारी मादी डान्स आइडलको सेमिफाइनलमा सहभागी विमा गुरुङको अभिनय थियो यो । आदिम कला मञ्चले आयोजना गरेको आइडलमा समाजमा हुने यस्ता घटनामा आधारित भई कलाकारले अभिनय पस्केका हुन् ।


समाजमा भएका विकृति हटाउन, घटना हुन नदिने र लोप भएका र लोपोन्मुख विभिन्न समुदायका संस्कृतिको संरक्षणका लागि आइडल गरिएको आदिम कला मञ्चका सञ्चालक लप्सन गुरुङले बताए । उनका अनुसार मादी गाउँपालिकाका १२ वटै वडाका एकसय ८६ बाट ४० जना छनोट भएकामा आइतबार भएको सेमिफाइनल राउन्डमा मादी–१ कि उर्मिला गुरुङ, मादी–६ का विनोद सुनार, मादी–८ का रोशन घले लगायत २० प्रतियोगी छनोट

भएका छन् ।


भदौदेखि सुरु आइडलको फाइनल पुस अन्तिममा हुनेछ । कार्यक्रमले स्थानीय संस्कृति संरक्षणमा थप ऊर्जा मिल्ने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले दाबी गरे । कार्यक्रममा उत्कृष्ट प्रस्तुतिमा रोशन धले, कोरियोग्राफीमा सपना धाइथापा, अनुशासित प्रतियोगिमा विमा गुरुङ, उत्कृष्ट वेशभूषामा बिगिमा गुरुङ पुरस्कृत भएका थिए ।

प्रकाशित : मंसिर २६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?