कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फल्याकमा गौंथली

सुशीला तामा‌ङ

काठमाडौँ — मानिसकै घरमा गुँड बनाएर बस्न रुचाउँछन् गौंथली । घरका भित्ता या दलिनमा गुँड बनाएर बस्ने गौंथलीलाई शुभ मान्ने संस्कृति छ गाउँघरतिर । सहरीकरणसँगै मानिस भौतिक सुखसयलमा रमाउन थालेपछि भने गौथलीसँगको सामीप्यमा दूरी बढ्दै गएको छ ।

फल्याकमा गौंथली

चित्रकार भीमप्रसाद शर्माको पनि गौंथलीसँगको निकटता अचेल स्मरणमा मात्रै सीमित छ । गौंथलीलाई पुर्ख्यौली थलो बाग्लुङमै छोडर नवलपरासी गैंडाकोटमा बसाइँ सरेदेखि शर्मा गौंथलीबाट टाढिए । करिब नौ महिनाअघि पहाड घर पुग्दा धनसारमा गौंथलीका खोक्रा गुँड मात्र देखे । बाल्यकालदेखिको गौंथलीसँगको साथलाई उनले यतिबेला क्यानभासमा स्मरण गरेका छन्, चित्रमार्फत । अझ नौलो कुरा त उनले ती सबै स्मरणका दृश्य काठका फल्याकमै उतारेका छन् । उनका प्रत्येक चित्रमा रहेका ताल्चाले प्रतीकात्मक रूपमा शून्य बन्दै गइरहेको गाउँबस्ती र बन्द घरलाई इंगित गर्छ ।


बबरमलस्थित आर्ट काउन्सिलमा फल्याकमा उतारिएका गौंथली कतै उडिरहेका, कतै झोक्राइरहेका त कतै प्वाँख लिएर चिन्तित भइरहेको देख्न सकिन्छ । ‘सम्बन्धन’ शीर्षकमा जारी प्रदर्शनीमा शर्माका ३५ चित्रमा गौंथली चरा र मानवबीचको सम्बन्ध झल्काइएको पाइन्छ । अधिकांश सिर्जनामा गौंथलीको कारुणिक अवस्था चित्रण गरिएको छ । घरमालिकले ढोकामा ताल्चा मारेर हिँडेपछि घरभित्रै थुनिएका गौंथली, मुखको चुच्चोले चाबीलाई ताल्चातिर झुन्ड्याइएका गौंथलीका चित्रले प्रदर्शनी अवलोकनमा पुग्ने कलाप्रेमी जोकोहीलाई भावुक बनाउँछ । मान्छेमा हराउँदै गएको प्रकृतिप्रेम र चरा चुरुंगीमा हुने मानवताको अंशलाई निकै अर्थपूर्ण रूपमा शर्माले प्रस्तुत गरेका छन् । उनले चित्रमा गौंथलीका बचेरालाई र मानव गर्भमा हुर्कंदै भ्रूणसँग तुलना गरेका छन् । बचेराहरू स्तनबाट चुहिरहेको दूध पिउन लागिरहेका छन् । ‘गौंथली र मेरो सम्बन्ध आमाको गर्भबाट नै सुरु भएको हुन सक्छ । त्यसैले मैले यसलाई चित्रमा देखाएको छु,’ उनले भने ।


उनले चित्रमा बुद्धसहितको ताल्चाको चित्र पनि बनाएका छन् । बजारमा कतै बुद्ध मूर्तिलाई ताल्चा बनाएर बेचिरहेको दृश्यलाई उनले चित्रमा कैद गरेको बताए । उनका अनुसार विश्व शान्तिका दूत बुद्धलाई पनि व्यापारका रूपमा प्रयोग गरिएको प्रति व्यंग्य गर्दै चित्रमा देखाइएको हो । चित्रकला प्रदर्शनीमा भेटिएका अग्रज चित्रकार तथा कला समीक्षक मुकेश मल्लले शर्माका चित्रमा भावनाले घेरिएको समकालीन कलाको नौलो रूप रहेको बताए । प्रदर्शनी शुक्रबारसम्म जारी रहनेछ ।


प्रकाशित : मंसिर २५, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?