कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यालरीमा गुरु रिन्पोछे

सुशीला तामा‌ङ

काठमाडौँ — बौद्ध सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिन्पोछेको रूपमा पुकारिन्छ । आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बतमा पुगेर त्यहाँ बौद्ध धर्म फैलाउने श्रेय उनैलाई जान्छ । महायानी परम्पराअनुसार बुद्धकै अवतार मानिने पद्मसम्भवले तिब्बतमा राजा ठ्रिचोङ देच्छेनको समय शामी गुम्बा बनाएका थिए, जुन तिब्बतकै पहिलो गुम्बा मानिन्छ ।

ग्यालरीमा गुरु रिन्पोछे

नेपालमै पनि पद्मसम्भवले लामो समय बिताएको र यहाँका तामाङ, थकाली, गुरुङ लगायतका समुदायलाई प्राकृत बोनबाट बौद्ध धर्ममा सामेल गराएको विश्वास गरिन्छ । झन्डै १३ सय वर्ष पुरानो उनै पात्र यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भेट्न सकिन्छ, कलाका माध्यमबाट ।


ग्यालरीभरि उनै गुरु रिन्पोछे भेटिन्छन् । प्रतिस्थापन कला, मूर्तिदेखि चित्रकलासम्म । रोचक के छ भने, गुरु रिन्पोछेलाई डिजिटल अवतारमा पनि भेट्न सकिन्छ । ग्यालरीमा जारी ‘एपिरिएन्स अफ लाइट’ शीर्षकको संयुक्त कला प्रदर्शनीमा कलाकर्मीहरूले ‘अवचेतनको अँध्यारोमा रुमलिरहेको मानव समाजलाई पद्मसम्भवको ज्ञानले कसरी मार्गदर्शन गर्न सक्छ भन्ने भावलाई चित्र, मूर्ति, प्रतिस्थापन र फोटोग्राफीको माध्यमबाट उतारेका हुन् ।


मंगलबार ग्यालरीको दायाँ र बायाँ गरी दुईजना कलाकार भिक्षु भेषमा ध्यानमग्न थिए । आँखामा पट्टी बाँधिएका दुवैका शिर भने सुन्तला रंगको डोरीले जोडेको थियो । केही प्राप्तिका लागि संघर्षरत देखिएको अवस्थामा ध्यानमग्न एकजनाले सेतो कागजमा क्रमश: कमल, आँखा, हात, खुट्टा र फेरि कमलकै चित्र कोरेर अर्कोतिर फ्याँक्न थाले । अर्कोले चाहिँ खोलेर हेर्दै प्रतिक्रिया दिन थाले । त्यही बेला दुवैजना छट्टपटिँदै आँखाको पट्टी खोले र एक–अर्कालाई परिचित भएको जस्तै अवस्थामा पाए । यो थियो गुरु रिन्पोछेमाथिको पर्फमेन्स आर्ट । आफैंलाई चिन्न नसकिरहेको अवस्थालाई सुन्दर लामा, सगुन तामाङ, अमृत काउचा, तुफान थापा, विवेक लामा ब्लोनले पर्फमेन्स आर्टमार्फत् पस्केका हुन् । कलाको शीर्षक थियो– ‘अनफिनिस्ड मोमेन्टम’ अर्थात् ‘ज्ञानको अभावमा हामी अधुरै रहन्छौं ।’


नेपालमा बौद्ध तन्त्र, मन्त्र र यन्त्रको नौलो सोचको विकास गरेको मानिने गुरु रिन्पोछेको महिमालाई कलामा सान्दर्भिक बनाउन १० जना चित्रकारले आ–आफ्नै शैलीबाट प्रस्तुत गरेको प्रदर्शनीका क्युरेटर तथा चित्रकार सरोज वज्राचार्यले बताए । प्रदर्शनीमा सबैले पद्मसम्भवलाई अहिलेको समयसित जोडेर प्रस्तुत गरेका छन्, उनकै भेषभूषा, आसन, बज्रसहित । मान्छेहरू आफ्नै आत्मको आवाजबाट टाढिँदै गइरहेको हाम्रो आत्म–पहिचानका लागि पद्मसम्भवको ज्ञान उपयुक्त हुने चित्रकार वज्राचार्यको ठहर छ । उनले बनाएका चित्रहरूमा पनि यस्तै पक्ष प्रतिविम्बित छन् । इन्द्रेणी रंगमा हातमा वज्र लिएको पद्मसम्भवको चित्र होस् या, आधा पर्दा मात्र खोलेर बाहिर हेरेको बालकको चित्र, निकै अर्थपूर्ण लाग्छन् । ध्यान र तपस्याबाट गुरु पद्मसम्भवले इन्द्रेणी रंगजस्तै ज्ञानको ज्योति प्राप्त गरेर आफैंभित्र विलीन भएको क्षणलाई चित्रमा देखाएको उनले सुनाए । बालकलाई ज्ञानको खोजी गरेको मानवको रूपमा लिँदै उनले भने, ‘हामीले आफैंले ज्ञानका लागि ढोका खोल्नुपर्छ ।’


त्यस्तै, सुन्दरले नीलो, रातो, कालो, पहेँलो रंगमा पद्मसम्भवलाई केन्द्रमा राखेर चित्र बनाएका छन् । आत्माको खोजी नै उनको चित्र तथा पर्फमेन्स कलाको ध्येय रहेको उनले खुलाए । उनी भन्छन्, ‘हाम्रा आँखाहरू भए पनि हामीले राम्रा कुरा स्पर्श गर्न सकिरहेका छैनौं ।’ प्रदर्शनीमा विजय महर्जनले ‘द मोमेन्ट आई डिसापियर्ड’ शीर्षकमा आफ्नै तस्बिरलाई वज्र, त्रिशूललगायतका सामग्रीका साथ पद्मसम्भवको रूपमा उतारेका छन् । बौद्ध धर्म र बुद्ध भन्नेबित्तिकै थाङ्का चित्र मात्र देखिरहेको अवस्थामा आधुनिक समयअनुसार पद्मसम्भवलाई देखाउन आफ्नै रूप प्रस्तुत गरेको उनले बताए ।


त्यस्तै, चित्रकार दावा ओमु लामाले पद्मसम्भवकै ज्ञान, शक्ति र प्रकाशको महत्त्वलाई डिजिटल प्रिन्टका माध्यममा तयार गरेकी छन् । मानिसमा भएको क्रोध र अहंकारलाई वज्रको शक्ति र ध्यानबाट नै दया र करुणातिर रूपान्तरण हुने भावलाई उनले कलामा उतारेकी छन् । चित्रकार विजय कोइरालाले पौभा चित्रकलाका माध्यममा पद्मसम्भवलाई बाघमाथि आक्रोशित मुद्रामा र प्रेमपूर्ण स्त्रीको आलिंगनमा देखाएका छन् । यस्तै चित्रसमेत कोरेकी दावाले यसलाई वज्रयानको महासुखका लागि ध्यानबाट ग्रहण गरिने शक्तिसँगको सम्भोगको रूपमा लिनुपर्ने बताइन् । सुषमा शाक्यले ७ सय बोधिचित्त मालाबाट नै ‘हिलिङ पावर अफ प्रेयर’ शीर्षकमा छाताकै स्वरूपमा प्रतिस्थापन कला तयार पारेकी छन् । तन र मनलाई एकत्रित बनाई जीवनलाई सुखी बनाउन पद्मसम्भवको ज्ञान र वज्रको आवश्यकता पर्ने उनको धारणा छ ।


प्रदर्शनीमा वज्र र पद्मसम्भवको सम्बन्ध नेपालसँग देखाउने उनका चित्रहरू पनि छन् । भारतीय चित्रकार साहिल भूपालले पद्मसम्भवलाई भूत, वर्तमान र भविष्यसित तुलना गर्दै चित्रमा उतारेका छन् । अहिलेसम्म धर्मसँग मात्र जोडिएका पद्मसम्भवलाई विज्ञान र प्रविधिसँग जोडेर प्रस्तुत गरेको उनले सुनाए । प्रदर्शनी उद्घाटनका लागि आएका वरिष्ठ चित्रकार मदन चित्रकारले कलाका विविध आयाम, प्रविधि र विधामा पद्मसम्भवलाई उतारिएको बताए ।

प्रकाशित : मंसिर ११, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?