कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारी अस्तित्वलाई जापानी रङ

सुशीला तामा‌ङ

काठमाडौँ — कुनै खास घटनासित जोडिएको छ भने बितेका पलले मानिसलाई पछिसम्म नै तानिरहन्छ । जापानी चित्रकार इजुमी तानाबेको बाल्यकाल पनि त्यस्तै खास रह्यो । घरधन्दा सकेपछि आमा उनलाई अलिक टाढा लिएर जान्थिन् र दुवैजना मधुर साँझको प्रकाशमा केहीबेर हिँडिरहन्थे । ती क्षण उनलाई सबैभन्दा सुन्दर लाग्छन् । विशेषगरी त्यतिखेरको प्रकाशका देखिएको रङका स्मृति । बितेका दिनका प्रकाशका ती रमाइला क्षण अहिले नरहे पनि त्यसलाई अनुभव गर्छिन् उनी अनि यसैलाई नारी जीवनका अनेक पक्षसँग तुलना गर्दै चित्रमा उतार्छिन् ।

नारी अस्तित्वलाई जापानी रङ

ललितपुर, पाटनढोकास्थित एमक्युब ग्यालरीमा प्रदर्शनरत चित्रमा पनि उनका यस्तै अनुभूति पोखिएका छन् । विभिन्न समयमा देखिने प्रकाशका आकार र रङलाई उनले महिला अस्तित्वको बिम्बका रूपमा परिभाषित गरेकी छन् । ‘जापानमा पनि कुनै बेला महिलाका लागि स्थान थिएन,’ उनी भन्छिन्, ‘त्यतिखेरको आमा र मेरो यात्रा नै परम्परागत घरायसी जीवनबाट कतै टाढा जानुहुन्थ्यो ।’


एमक्युबमा ‘हानबी’ शीर्षकमा शुक्रबारदेखि जारी प्रदर्शनीमा १२ वटा एक्रेलिक माध्यमका चित्र छन् । ‘फायर ओर्कस’ शीर्षकमा रहेका प्रत्येक अमूर्त चित्रमा कतै आगो बलिरहेको जस्तो देखिन्छ भने कतै उडिरहेको जस्तो भान हुन्छ । ती चित्रमा नीलो, बैजनी, हरियो, फिक्का सेता रङ निरन्तर अघि बढेर कतै हराउँदै गएका छन् । रङहरूमै प्रकाशको गाढा र फिक्का अवस्था क्रमश: देखिँदै र हराउँदै गएका छन् । ‘यी प्रकाशका रङलाई मैलै महिला जीवनका चम्किलो र झल्झलाउँदो पक्षलाई तुलना गरेकी छु,’ उनी भन्छिन्, ‘जहाँ मैले कोमल र नरम नारी जीवनका पल सम्झँदै त्यसलाई क्यानभासमा भरेकी छु ।’ उनका अनुसार चित्रमा देखिने प्रकाश र त्यसका छायामा उनले महिला हुनुको अस्तित्व र महिमा खोतलेकी छन् । नेपालमा आउजाउ गरिरहने इजुमीले नेपाली नारीको सौन्दर्य, इच्छाशक्ति र भविष्यको चिन्तालाई पनि चित्रमार्फत् मनन गरेको खुलाइन् ।


प्रदर्शनीमा जापानकै अर्का चित्रकार हिँडियो इदाले जापानका स्थानीयतालाई केन्द्रित गरेर त्यसलाई आठ वटा अमूर्त चित्रमा उतारेका छन् । एक्रेलिक र पिगमेन्ट माध्यमका उनका चित्रमा सिल्भर रङमा टेक्सचर विधि (खस्रो सतह) समेत प्रयोग गरेका छन् । ब्रसको सहायताले सेता रङमा बनाइएका प्रत्येक चित्रको स्पेसभित्र कतै मुखाकृति, कतै पहाड र कतै अँध्यारो स्थान झल्किन्छन् । इदाका अनुसार जापानका प्राचीन सहरको यात्रामा देखिएका दृश्य र त्यसबाट उत्पन्न भावलाई उनले कुनै रूप नदिईकनै चित्रमा प्रस्तुत गरेका हुन् ।


नेपालमा गरिएको दुवैको यो दोस्रो प्रदर्शनी हो । करिब एक वर्षअघि बौद्धस्थित तारागाउँ म्युजियममा दुवैले चित्रकला प्रदर्शनी गरेका थिए । चित्रकार इजुमी र इदाका सिर्जना अवलोकन गर्दै गरेका अग्रज चित्रकार किरण मानन्धरले अमूर्त कलामा निकै सुन्दर ढंगबाट आआफ्ना भाव उनीहरूले चित्रमा उतारेको बताए । अमूर्त चित्रमा शैली, माध्यम र प्रविधि फरक भए पनि यसमा आउने भाव सबै मुलुकमा प्राय: समान नै हुने उनले तर्क गरे । जापानकै चित्रकार मासाई सुजुकी, सेत्सु सुजुकी, इजुमी र इदा मिलेर दुई वर्ष अघिदेखि खोलेको ‘जापान फोर’ ले प्रदर्शनी आयोजना गरेको हो । चित्रकारहरूको यस समूहले संसारभरका विभिन्न मुद्दा र चुनौतीलाई कलाका माध्यमबाटै

उजागर गर्दै गएको समूहका प्रतिनिधि मासाईले सुनाइन् ।


प्रकाशित : मंसिर ९, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?