हाटबजारमा देउडा

रूपा गहतराज

(नेपालगन्ज) — बाँकेको बैजनाथ गाउँपालिका–४, बानियाँभारको पशु कृषि हाटबजार यसरी नै महिनाका दुई शनिबार देउडामय हुने गर्छ । मानिस लस्करै लाइन लाग्छन् । गोलो घेरामा मूलीले भट्याउँछन् । महिला र पुरुषले साथ दिएपछि सुरु हुन्छ देउडा नाच । 

ZenTravel

भोक लाग्या गुण खानु चना खानु, ममफली नखानु
बरु पैसा थोरै ल्याउनु रात बोजा नजानु
ओछ्याउने फुलेली थरो, ओढ्ने बरकिए
दुःख नमाने, शौक नलिए मेरा घरकिया ।

यसपटक उनीहरूले देउडामार्फत् कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूभाग अतिक्रमणविरुद्ध देउडा गीतमार्फत् नै खबरदारी पनि गरे । देउडा मन पराउनेका लागि बानियाँभारमा शनिबार विशेष हुने गरेको छ । रारा, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेतबाट तराई झरेकाहरू हरेक १५/१५ दिनमा शनिबार यसरी नै भेला हुन्छन् । कहिले मायाप्रेमका त कहिले राजनीति र संस्कृतिमाथि उनीहरू गीतमार्फत् वादविवाद गर्छन् । एक लाइनमा महिलाको समूह र अर्को समूहमा पुरुषको लाइन । स्थानीय देउडा कलाकारले त्यसको अगुवाइ गर्छन् । अनि, बानियाँभार गुन्जयमान हुन्छ ।

जुम्लाका विष्णुकान्त आचार्य देउडाका स्थानीय कलाकार हुन् । उनी गाउँछन् र ताल परे नाच्छन् पनि । उनी आफूलाई देउडा कलाकारभन्दा देउडाको पारखी भन्न रुचाउँछन् । ‘बाँकेमा हामीले नै देउडा सुरु गरेका हौं,’ उनले भने, ‘पहाही भेगको संस्कृति जोगाउन यसो गरेका हौं ।’ उनीहरूलाई यो हाटमेला देउडा सुन्ने सुनाउने थलो मात्रै होइन, आफन्त अनि इष्टमित्रसँग भेट गर्ने थलो पनि बनेको छ । ‘सबै आफ्नै काम र व्यवसायमा व्यस्त छन्,’ जुम्ला घर भई कोहलपुरमा बस्दै गरेका लंगेश सार्कीले भने, ‘शनिबार बिदाको दिन भएकाले सबैलाई अनुकूल हुने गरी जुराएका हौं ।’

‘देउडा हाम्रो संस्कृति, हाम्रो गौरव हो,’ देउडा हेर्न आइपुगेका जुम्लाका लक्ष्मीकान्त आचार्यले भने, ‘साथीभाइ भेटघाट गर्ने थलो भएको छ ।’ देउडा कलाकारलाई मात्र होइन, देउडा मन पराउनेको पनि आकर्षण हुने गरेको छ । देउडा भनेपछि हुरुक्कै हुने रभेना–३ की नन्दकली मल्ल हरेक शनिबार देउडा हेर्न छुटाउँदिनन् । मुगुमा एक गैरसरकारी संस्थामा कार्यरत उनी नेपालगन्ज आएको बेला देउडा स्थलमा पुग्छिन् । ‘देउडा सुन्दै सुनाउँदै हुर्क्यौं,’ उनले भनिन्, ‘अहिले देउडा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले खेल्छौं ।’ आफ्नो भेगको संस्कार बचाइराख्न पेसाकर्मी व्यवसायीले पनि साथ दिएका छन् । मेलामा व्यापारिक प्रयोजनले आउनेभन्दा पनि देउडा हेर्न आउने दर्शकको भीड लाग्ने गर्छ । जिल्लाका विभिन्न स्थानबाट सयौं मानिस देउडा हेर्न झुम्मिन्छन् । चप्परगौडी–१२ का प्रकाश शाहीले युवा पुस्तामा देउडाप्रतिको आकर्षण बढाउन तथा देउडा संस्कृतिलाई सुदूरपश्चिमको पहिचानका रूपमा स्थापित गर्न देउडाको आयोजना गरिएको बताए ।

उनको अनुभवमा देउडाले सुदूरपश्चिममा प्रचलित आफ्नो परम्परा, भेषभूषा र भाषा संस्कृतिको महत्त्व पनि बुझाएको छ । शनिबार पसल बन्द हुने भएकाले बैजनाथ–१ का गणेश विश्वकर्मा सुदूरपश्चिम संस्कृति सुन्न र हेर्न नियमित पुग्छन् । उनले बाँकेमा पहिलोपटक देउडा सुने । ‘कोहलपुर–नेपालगन्ज जाँदा बाटोमा नै बानियाँभार पर्छ,’ उनले भने, ‘यता देउडा भाका सुनेपछि नौलो लागेर हेर्न आएँ ।’ साविकको मध्य तथा सुदूरपश्चिममा मात्र देउडा नाचिन्छ । देउडा नाचलाई मनोरञ्जनका लागि भन्दा पनि शुभसाइतका रूपमा लिइने साहित्यकार तथा प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिना बताए । ‘यो सुदूरको पहिचानसँग मात्र जोडिएको छैन,’ उनले भने, ‘देशको राष्ट्रिय सम्पदा पनि हो ।’




प्रकाशित : मंसिर ३, २०७६ ०९:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वपीडित परिवारको भेला : पीर बिर्संदै भलाकुसारी 

राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका र मारिएका आफन्तलाई सम्झादै उस्तै परिवारले एकअर्काको दुःख साटे
रूपा गहतराज

नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीकी अञ्जना चौधरी राम्रोसँग बोल्न सक्तिनन् । सशस्त्र द्वन्द्वमा १७ वर्षको जेठो छोरा बेपत्ता पारिएपछि उनी बिरामी परिन् । रासन लिन गएको छोरालाई सेनाले बेपत्ता पारे । २०५९ सालमा हराएको छोरो फर्केर आएन् । छोराको सम्झना एउटा नाति छ । छोरो बेपत्ता भएको अर्को वर्ष बुहारीले पनि छाडेर अन्तै घरजम गरेर गइन् ।

गाभरमा शनिबार वनभोज कार्यक्रममा सहभागी हुन आएकी उनी आफू जस्तै अरूका पीडा सुनेर थोरै भए पनि मन दह्रो बनाउने भइन् । ‘१७ वर्षको छोरो हरायो, नाति नै १७ वर्षको भयो,’ उनले भनिन्, ‘बाबुकै अनुहार भएकाले नातिले न्यास्रो मेटाएको छ ।’ अञ्जनाको छोरो हराएको एक महिनापछि बैजनाथ–४ धुम्नी थरुनीका छोरालाई सेनाले बेपत्ता बनाए । काठको मिस्त्री काम गर्ने उनको छोरालाई केही काम छ भनेर घरबाट उठाएर लगे । थरुनीलाई त्यो दिन झलझली याद आउँछ । भदौ १४ आउँदा उनी आँसु थाम्न सक्दिनन् । ‘जति नसम्झु भने पनि सम्झना आउँछ,’ उनले भनिन्, ‘आफ्नै कलेजो काटेर लगे जस्तो भएको छ ।’ उनलाई बाटोमा सेना देख्नेबित्तिकै मनमा चिसो पस्छ । ‘के गर्नु बितेको समय फर्केर नआउने । त्यो बेला हामीजस्ता धेरैजना आमाको हालत यस्तै भएछ,’ उनले भनिन्, ‘सबैको अवस्था उस्तै हो । सबैले आफ्ना आफन्त गुमाएका छौं ।’

गाभरको वनभोजमा भेला भएका उनीहरू सशस्त्र द्वन्द्वमा दुवैतर्फबाट बेपत्ता पारिका र मारिएकाहरूका परिवार तथा आफन्त थिए । उनीहरूले आपसी पीरमर्का मात्रै सुनेनन्, एकअर्काका आँसु पनि पुछे । बैजनाथ–४ की पवित्रा सुनारका पतिलाई २०६० असार २९ मा तत्कालीन विद्रोही माओवादीले लगेर गए । उनको लास पनि भेटियो । १९ वर्षको उमेरमा सुनार एकल भइन् । तीन सन्तानलाई बढो मुस्किलले हुर्काइन् । ५५ वर्षीया पवित्राले छोराछोरीको पढाइ र घर चलाउन वैदेशिक रोजगारको यात्रा पनि गरिन् । ‘कुवेत पुगेको तीन महिनामै परान फुत्केलाझैं भयो,’ उनले भनिन्, ‘फर्किएर गाउँमै होटल चलाएर बसें ।’ धेरै पछिसम्म उनी माओवादी शब्द सुनेपछि विरक्त हुन्थिन् । बिस्तारै उनले मन बुझाइन् । ‘अझै पनि कहिलेकाहीं रिस उठ्छ के गर्नु,’ उनले भनिन्, ‘खै कसको दोष भन्नु सबै पीडित छौं ।’

वनभोजमा एकअर्कासँग आफ्ना दुःख पोख्दै उनीहरूले आपसमा ढाडस दिए । ‘छुट्टिनुभन्दा मिल्नुमा ताकत छ,’ बेपत्ता परिवारकी सदस्य बैजनाथ–४ जयकली खड्कीले भनिन्, ‘लडेर कसैको जित देखिएन । मिलेर आफ्ना अधिकार माग्छौं ।’ सशस्त्र द्वन्द्वमा आफ्ना आफन्त गुमाएका उनीहरूले राज्यले घाउमा मल्हम लगाउनुभन्दा बढी चोट थप्दै गएको गुनासो गरे । स्थानीय तहमा लक्षित वर्गका नाममा बजेट विनियोजन हुँदा द्वन्द्वपीडितले आफ्ना लागि योजना नदिएको गुनासो गरे । ‘एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर राज्यको बेवास्ताले साह्रै मन पोल्छ,’ राप्तीसोनारी गाउँपालिका–९ की कल्पना रोकायले भनिन्, ‘द्वन्द्वपीडित राज्यबाटै अपहेलित भए ।’

उनीहरूलाई एकआपसमा घुलमिल हुन र आफ्ना दुःख साट्न द्वन्द्वपीडित तथा एकल महिला सञ्जालले अवसर जुराइदिएको थियो । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती खत्रीले कार्यक्रमका लागि छुट्याइएको भत्ता सहभागीले नलिएर वनभोजको आयोजना गर्न भनिएपछि यस्तो भेला सम्भव भएको बताइन् । ‘थोरै भए पनि एकअर्काको अवस्था बुझेर हल्का भयौं,’ उनले भनिन्, ‘कसैको दुःख सानो ठूलो छैन, हामी सबै पीडामा नै छौं ।’ विद्रोही पक्षबाट पति गुमाएकी खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विक दुवै पक्षको बलिदानीले देशमा परिवर्तन सम्भव भएको बताउँछिन् । ‘अब पुरानो दुस्मनी सम्झेर फाइदा छैन,’ उनले भनिन्, ‘अब समाजमा दुवै पक्ष आपसमा मिलेर बस्नुपर्छ । विगतका प्रतिशोध भुल्नुपर्छ ।’ राजनीतिक कारणले भएको द्वन्द्वमा परेका सबैको अवस्था उस्तै भएकोउनले बताइन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×