कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपिनको नयाँ लुक्स

काठमाडौँ — ६ वर्षअघि ‘छड्के’ मा सामान्य भूमिकाबाट फिल्मी यात्रा सुरु गरेका विपिन कार्की अहिलेका कुशल अभिनेतामा गनिन्छन् । रंगकर्मीदेखिको उनको अभिनय यात्रा यतिबेला ‘सेल्फी किङ’ सम्म आइपुगेको छ । फिल्ममा उनी हास्य कलाकार सेल्फी किङको भूमिकामा देखिँदै छन् । सोमबार सार्वजनिक गरिएको फिल्मको फस्टलुकमा विपिन अभिनीत गोपाल दाहालको चरित्र अटाएको छ ।

विपिनको नयाँ लुक्स

विशाल सापकोटाको पहिलो निर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् भने अनुहारको भावमा पीडा झल्कन्छ । ‘हास्य कलाकारले आफ्नो पीडा लुकाएर पनि दर्शकलाई हँसाउनुपर्ने बाध्यता पर्छ । गोपालले पनि आफू रोएरै भए पनि अरूलाई हँसाउनुपर्ने हुन्छ । पोस्टरमा यही थिमलाई देखाउन खोजिएको हो,’ फिल्मका लेखकसमेत रहेका सापकोटाले फिल्म डार्क ड्रामामा आधारित भएको बताए ।


पोस्टरसँगै फिल्मको रिलिज मिति माघ २४ निश्चित गरिएको छ । दिनेश राउत र सुभास थापाको संयुक्त निर्माण रहेको फिल्म चरित्र प्रधान रहेको बताउँदै निर्देशक सापकोटाले चरित्रलाई विपिनले पूर्णतः न्याय गरेको जिकिर गरे । भने, ‘मैले त सेल्फी किङको चरित्रलाई सृजना गरेको थिएँ । विपिनले चरित्रको गहिराइमा पुगेर अभिनय गरेका छन् । काम गर्दै जाँदा यस्तो लाग्यो, त्यो चरित्रलाई मैले भन्दा बढी विपिनले बुझेका रहेछन् ।’ फिल्ममा विपिनसहित लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायत कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले विशेष भूमिकामा अभिनय

गरेकी छन् ।


सुसन प्रजापतीको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत रहेको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?