१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रंगियो कर्णाली

कान्तिपुर संवाददाता

(सुर्खेत) — खुलामञ्चमा भरिभराउ दर्शक । कलाकारको स्वागतका लागि जब उद्घोषकले नाम लिए, दर्शकको हुटिङ निरन्तर भइरह्यो । सुरुमै मञ्चमा बोलाइएका अभिनेता राजेश हमाल आकर्षणको केन्द्र बने । 

रंगियो कर्णाली

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘सप्तरंग–२’ को सांगीतिक माहोल लोभलाग्दो थियो । कर्णालीबासीले विभिन्न विधाका कलाकारको प्रस्तुतिमार्फत् मनोरञ्जन लिए । वीरेन्द्रनगर–६ की मनीषा राईले कार्यक्रमले सबैलाई भरपुर मनोरञ्जन दिएको बताइन् । ‘सबै कलाकारको प्रस्तुति एउटै मञ्चबाट हेर्न पाइयो,’ उनले भनिन्, ‘सायद वीरेन्द्रनगरमा यति भव्य सांगीतिक कार्यक्रम भएको थिएन ।’ मुगुका उज्ज्वल शाहीले कार्यक्रमले सबैलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले कलाकारका सन्देशसहितका प्रस्तुति सबैका लागि प्रेरणादायी बनेको सुनाए ।


कलाकारलाई स्वागत गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्ता कार्यक्रमले मनोरञ्जनसँगै सबैलाई सामाजिक सचेतना प्रदान गरेको बताए । ‘कर्णालीको पर्यटन प्रवर्द्धनका लागिसमेत कार्यक्रमको विशेष महत्त्व छ,’ उनले भने, ‘कर्णाली नेपाली भाषा र संस्कृतिको उद्गमथलो भएको सन्देश पनि सप्तरंगमार्फत् प्रस्तुत भएको छ, सबै विधाका ख्यातिप्राप्त कलाकारले एकै ठाउँमा संयुक्त प्रस्तुति दिनु नौलो र उदाहरणीय छ ।’ समाजमा कला र संगीतमार्फत् शान्ति र सद्भावको सन्देश दिन जरुरी रहेको उनले सुनाए ।


सद्भाव र्‍यालीसहित सप्तरंग समूह कार्यक्रमस्थल पुगेको थियो । ‘कलाले सबैको भावना बोक्छ, सबैको भाषा बोल्छ र हामीलाई एकसूत्रमा बाध्छ,’ अभिनेता हमालले भने । कर्णाली विकासमा पछाडि भए पनि कला, संस्कृति, पर्यटन र अथाह सम्भावनाले भरिपूर्ण भएको उनको भनाइ थियो । ‘राइझुमा...’ गाउँदै स्टेज प्रवेश गरेका जितु नेपालले देशको परिस्थिति र विभिन्न विसंगतिविरुद्ध व्यंग्य प्रस्तुत गरे । उनले पारिवारिक विखण्डनदेखि देशको समसामयिक परिस्थितिको चिरफार गरे । देउडासँगै केही पुराना कलाकारका गीत गाएका रवि ओड पनि युवापुस्ताको रोजाइमा परे । प्रकाश सपुत, सुगम पोखरेल, मेलिना राई र हिमाल सागरले पनि गीत गाए । जितुले सुदूरपश्चिमको लयमा गाएको ‘कर्णाली’ गीतले पनि दर्शकको मन तान्यो ।

प्रकाशित : कार्तिक २९, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?