कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्त भेट्न जात्रा

कान्तिपुर संवाददाता

दार्चुला — सानै उमेरदेखि भारतको पिथौरागढ जैत ग्रामपञ्चायतमा बस्दै आएका कल्यानसिंह बडाल दुई दशकपछि आफ्नो पुर्ख्यौली घर हिकिला आए । दुहु गाउँपालिका–२ हिकिलाको ब्रम्हमन्दिरमा लाग्ने जात्राको समय पारेर कुलदेवताको पूजा गर्न उनी आएका हुन् । ‘मेरो बाल्यकाल भारतमै बित्यो । वर्षौंअघि आमा बुबासित पूजाका लागि आएको थिएँ,’ उनले भने, ‘जात्राको मौकामा गाउँ आउन पाउँदा रमाइलो लागेको छ ।’ 

आफन्त भेट्न जात्रा

जात्राकै समय पार्दा आफन्तसँग भेटघाट गर्न सजिलो भएको उनले बताए । यस्तै व्यास गाउँपालिका–६ हुतीका कमलसिंह कुँवरले पनि आठ वर्षपछि ब्रम्हमन्दिरको जात्रा हेर्ने अवसर मिलेको बताए । ‘रोजगारीका लागि विदेश बसेको धेरै भयो । लामो समयपछि आफन्तहरूसित जात्रामा रमाउने अवसर मिलेको छ,’ उनले भने, ‘जात्रामा देउडा खेल्दा गजब रमाइलो भयो ।’ दसैंमा हुने जात्रा विविध कारणले कात्तिकमा सरेको ब्रम्हमन्दिरका मुखिया कल्यानसिंह कार्कीले बताए । दुहु क्षेत्रमा सबैभन्दा ठूलो जात्रा यही मन्दिरमा लाग्ने गर्छ । यहाँ तीन वर्षपछि यसपटक जात्रा आयोजना गरिएको हो ।


जात्रा भर्न बैतडीसँगै सीमापारि भारतमा बसेका नेपाली आइपुग्छन् । यसपटक विभिन्न ठाउँबाट १५ हजारभन्दा बढी श्रद्धालु जात्रामा आएका मुखिया कार्कीले बताए । परम्परागत बाजागाजासहित गाउँगाउँबाट जात्रामा आउने चलन छ । यहाँको पूजामा सहभागी भएपछि मनोकामना पूरा हुने जनविश्वास छ । दार्चुलाका दुहु र लेकम भेगमा रात्रिकालीन जात्रा भइरहेका छन् । बर्खे खेतीपातीको काम सकेर यहाँका स्थानीय जात्रामा रमाउने गरेका छन् । असोज शुक्ल पक्षबाट यहाँका शक्तिपीठ तथा मठमन्दिरमा सुरु हुने जात्रा कात्तिक पूर्णिमासम्म चल्छ । शास्त्री केशवदत्त बडूले भने, ‘शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम मानिन्छ । त्यसैले कात्तिक शुक्ल पक्षसम्ममा विभिन्न देवीदेवताको पूजा गर्ने चलन छ ।’ यहाँका मालिकार्जुन, ब्रम्ह र दुर्गा भवानीलगायतका मन्दिरमा जात्रा लाग्छ ।



प्रकाशित : कार्तिक २४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?