कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलमानको फिल्ममा थापा

शंकर आचार्य

(पर्सा) — पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही फिल्मको गेटअपमा देखिरहे । बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने करीब पक्का भएको छ । फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । 

सलमानको फिल्ममा थापा

अर्को साता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले कान्तिपुरसँग आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ,’ थापाले भने, ‘३ वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि मात्र म फुर्सदिलो हुन्छु, त्यसपछि क्वाथाको छायांकनमा व्यस्त हुन्छु ।’


‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ । आयुष शर्मा मुख्य भूमिकामा रहने यो फिल्मको निर्देशन करन भने भुटानीले गर्दै छन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापा त्यहाँको मुखियाको भूमिका रहने छन् । ‘मलाई आफ्नो भूमिका मन पर्‍यो, त्यस कारण पनि खेल्ने सहमति जनाएको हुँ,’ उनले भने, ‘फिल्मको छायांकन भने थाइल्यान्डमा गर्ने योजना रहेछ, मैले युनिटलाई यो छायांकनका लागि नेपालनै आउने प्रस्ताव पनि गरेको छु, यसो हुन सके नेपालको पर्यटन प्रवर्द्धन पनि हुनेछ ।’


झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका हुन् । त्यसपछि तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका उनले त्यसलगत्तै बलिउडको अर्को अत्यन्त सफल फिल्म ‘एक दुजेके लिए’ मा अभिनयको अवसर पाए, जसले उनलाई बलिउडमा राम्रो नाम र पहिचान पनि दियो ।


तर लगत्तै नेपाली फिल्म ‘साइनो’ का लागि उनी काठमाडौं आए । त्यसयता उनी नेपाली फिल्ममा मज्जाले जम्न थाले । यही फिल्ममा उनले थरेको ‘राते काँइला’ को भूमिका अहिले पनि चर्चा हुन्छ । ‘काठमाडौं आएपछि हलिउडबारे सोच्नै परेन,’ उनले भने, ‘आजसम्म निरन्तर नेपाली फिल्म क्षेत्रमै सक्रिय रहेको छु ।’ योबीचमा म्युजिक भिडियो ‘डियर जिन्दगी’ देखि हास्य टेलिशृंखला ‘मेरी बास्सै’ सम्म पनि उनी सक्रिय रहे । बलिउडको चर्चित बायोपिक ‘मेरीकोम’ मा प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको भूमिकाका लागि पनि उनले राम्रै प्रशंसा कमाएका थिए । ‘त्यसयता पनि केही बलिउड फिल्मबाट अफर त आएको हो,’ उनले दाबी गरे, ‘तर चित्तबुझ्दो भूमिका नभएकाले गरिनँ ।’ चर्चित वेबसिरिज ‘द लास्ट आवर’ बाट पनि आफूलाई प्रस्ताव आएको भए पनि आफ्नो चरित्रमा केही अश्लील दृश्य रहेकाले अस्वीकार गरेको उनले बताए । ‘यो सिरिजमा पैसा यति थियो कि म एउटा नेपाली फिल्म नै बनाउन सक्थें,’ उनले भने, ‘तर मेरा परिवारजन, आफन्तजन र प्रशंसकहरूलाई चित्त दुख्ने गरी मैले जस्तोपायो त्यस्तो क्यारेक्टर गर्न चाहिनँ ।’


यसबाहेक उनलाई अहिले वेबसिरिज ‘मै हिरो बोल रहा हुँ’ बाट पनि प्रस्ताव आइरहेको छ । व्यस्तताका कारण स्विकार्न नसकेको भए पनि ‘क्वाथा’ पछि यो सिरिजसँग जोडिने सम्भावना रहेको उनले बताए । हाल नेपाली फिल्म ‘सम्झना बिर्सना’, ‘प्रेमगीत ३’ र अर्को एक नेपाली फिल्ममा अभिनय गरी रहेका थापा जनवरीदेखि मात्र यी फिल्मबाट फुर्सदिलो हुनेछन् । आफूले अभिनयको औपचारिक शिक्षा लिने अवसर नपाए पनि थापा भने नेपालमा फिल्म क्षेत्रमा आउने नयाँ जनशक्तिको दक्षता अभिवृद्धिका लागि ‘एभरेस्ट फिल्म एकेडेमी’ पनि सञ्चालन गरिरहेका छन् । उनको एकेडेमीमा फिल्मको सबै विधाको पढाइ हुने गरेको छ । भविष्यमा यसै एकेडेमीका जनशक्तिलाई अवसर दिने गरी एकेडेमीले आफैं फिल्म निर्माण गर्न सक्ने सम्भावना रहेको पनि थापाले बताए । भारतीय सेनाको बुवा नेभीमा जागिरे हुँदा मुम्बइमै शिक्षादीक्षाको अवसर पाएका थापाको पुर्ख्यौली घर भने पाल्पा हो । उनी आफैंले थुप्रै फिल्ममा विभिन्न क्यारेक्टरमा अभिनय गरी सके पनि अझै उनलाई शिक्षक/प्रिन्सिपलको भूमिकामा अभिनय गर्ने रहर छ । ‘मैले धेरै क्यारेटरमा अभिनय गरे,’ थापा भन्छन्, ‘तर अचम्म अझै शिक्षक वा प्रिन्सिपलको क्यारेटरको प्रस्ताव नै आएको छैन, मलाई यो क्यारेक्टरमा अभिनय गर्ने तीव्र इच्छा छ ।’


प्रकाशित : कार्तिक १७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?