कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल अवार्ड सान् फ्रान्सिस्कोमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण यस वर्ष सान् फ्रान्सिस्कोमा हुँदै छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले अवार्डसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) र नेपाल गोल्डेन स्टेट मुभी मेकर कोलोराडाले गर्ने अवार्ड आउँदो मंसिर १४ र १५ गते सान फ्रान्सिस्को वे एरियामा हुने बताइएको छ ।


‘अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म प्रवर्द्धन गर्न अवार्डले सघाउँदै छ,’ सोसाइटीका अध्यक्ष एवं चलचित्रकर्मी कृष्ण मल्लले भने, ‘अमेरिकामा नेपाली फिल्म अवार्डले निरन्तरता पाइरहनुले निकै ठूलो अर्थ राख्छ ।’ मंसिर १५ गते युसी थिएटरमा हुने मूल समारोहमा नेपाल तथा अमेरिकाका ख्यातिप्राप्त कलाकार सहभागी हुने उनले बताए । अवार्ड कार्यक्रमपश्चात् भिजिट नेपाल २०२० को प्रवर्द्धन गर्न बर्कली सिटीको मुख्य सडक नै बन्द गरी नेपाल परेड डे मनाउने तयारीसमेत भइरहेको गोल्डेन स्टेट मुभी मेकरका निर्देशक यज्ञलाल श्रेष्ठले जनाए ।


उनले समारोहमा नेपाली फिल्मकर्मीलाई सम्मानसँगै नेपाली फिल्मको बजार प्रवर्द्धन र फिल्म पर्यटनको विषयमा अन्तरक्रियासमेत गरिने बताए । ‘मुलुकबाहिर नेपाल चिनाउने यो राम्रो प्लेटफार्म बन्दै आएको छ,’ अवार्डका कलाकार संयोजक श्याम भट्टराईले भने, ‘संसारभर छरिएका नेपाली कलाकारका लागि यो पुनर्मिलनको क्षण पनि सावित हुनेछ ।’ निर्माण नियन्त्रक ईश्वर घिमिरेको व्यवस्थापन रहने अवार्ड समारोहका लागि नेपालबाट मल्ल र भट्टराईसँगै नारायण पुरीले समन्वय गर्ने बताइएको छ ।



प्रकाशित : कार्तिक ६, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?