सदाबहार छैनन् देउसीभैली

सुशीला तामा‌ङ

काठमाडौँ — ‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आइन् आँगन...’ फिल्म ‘स्वर्ग’ मा समावेश यो गीत हरेक वर्षको तिहारमा सदाबहार । रेडियो, टीभी मात्र नभई स्टेज सो र देउसीभैलीसम्ममा यो गीत बज्दै आइरहेको छ । २५ वर्षअघि शम्भु प्रधानको फिल्म ‘स्वर्ग’ मा समेटिएको यो गीत बजेपछि तिहार आएको आभास हुन्छ । बर्सेनि तिहार गीतहरू रिलिज हुने भए पनि यो गीतको तुलनामा सदाबहादर हुन सकेको देखिँदैन । 

युट्यबमा सर्च गर्ने हो भने थुप्रै ताजा तिहार गीतहरू भेटिन्छन् । रामकृष्ण ढकालको स्वरमा रमेश बिजीको गीत ‘टीकामाला...’, खुमन अधिकारी र देवी घर्तीमगरको स्वरमा रहेको नन्दराम परियारको ‘आयो तिहार...’, दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘ह्याप्पी तिहार...’, सन्तोष केसी र शर्मिला गुरुङको ‘देउसी रे...’, तेजश रेग्मी र सन्ध्या बूढाको ‘देउसीभैलो...’, खुमन र समीक्षा अधिकारीको ‘आँगनीमा भैलिनी...’ लगायतका थुप्रै गीतहरू यसपालि रिलिज भएका छन् । अधिकांश गीतले पर्वको गम्भीरताभन्दा पनि हल्काफुल्का र बजारिया तत्त्व नै समातेको देखिन्छ ।


अधिकांश तिहार गीतहरू सदाबहारभन्दा पनि मौसमी र क्षणिक छन् । भर्खरै तिहार गीतकै रूपमा ‘टीकामाला...’ सार्वजनिक गरेका लोक गायक रमेश बिजी पछिल्लो समय आएका पर्व गीतहरू टिकाउ र सदाबहार प्रकृतिका नभएको सुनाउँछन् । उनले ‘टीकामाला...’ मा भने कारणबस टाढा भएका दिदीभाइको बिछोडलाई समेटेर चेली–माइतीबीचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको छ । ‘तिहारको मौलिकतालाई उठाउन खोजेको हुँ,’ उनी भन्छन्, ‘यसो भयो भने सदाबहार हुन सकिन्छ कि ।’ पर्व विशेष गीतहरू छोटो अवधिकै लागि हुने भएकाले पहिलेको तुलनामा तिहारका गीतहरू पनि घटेको उनको अनुभव छ । छिट्टै चर्चा कमाउनतिर सर्जकहरूको ध्यानाकर्षण भएकाले पनि तिहारका गीतहरूमा त्यति मिहिनेत नदेखिएको उनको दाबी छ । ‘गीतलाई कति आयु दिने भन्ने कुरा सर्जकहरूको हातमा निर्भर रहन्छ,’ उनी भन्छन्, ‘गीतसंगीत आफ्नो सन्तानजस्तै हुन् । गीतलाई कालजयी बनाउन एउटी आमाले जस्तै सन्तानलाई दीर्घायुको कामना गर्नुपर्छ ।’


तिहारको सन्दर्भमा लोचन भट्टराई र नूतन प्रधानको स्वर रहेको फिल्म ‘स्वर्ग’ का गीत जस्तो सदाबहार सिर्जना अहिलेसम्म आउन नसकेको स्विकार्छिन् लोकगायिका गायिका शर्मिला गुरुङ पनि । ‘जति पुरानो भए नि सुनौं सुनौं लाग्ने यो गीतबाट सिक्नुपर्छ,’ उनी भन्छिन्, ‘तर अहिलेका तिहार गीतहरू मौलिक संस्कृतिभन्दा रमाइलोतिर बढी गइरहेको झैं लाग्छ ।’ तिहार के हो, तिहारका गीतहरूमा हुने लय कस्ता हुन् भन्नेतिर अध्ययन अनुसन्धान पनि कम भएको गुरुङ स्विकार्छिन् । उनले कुनै समय पर्व र लोक संस्कृतिका गीतलाई बमबहादुर कार्की र शम्भु राईजस्ता अग्रजले निकै राम्रो काम गरेको भए पनि अहिलेको पुस्ताले पुरानाबाट सिक्न नसकेको पनि उनी बताउँछिन् ।


लोकलय र सांस्कृतिक तत्त्वलाई समातेर ल्याइएका केही गीत पनि छन् बजारमा । झन्डै एक दशकको बीचमा बनेको नवीन खड्का र पुस्तक खड्काका स्वरमा रहेको ‘देउसी गीत’ को लय भने सामान्य भए पनि मीठो सुनिन्छ । गायक राईका तिहार गीतहरूमा पनि उस्तै मिठास भेटिन्छ । रेशम सापकोटाका भर्खरै सार्वजनिक ‘बलि राजाको भाइटीका...’ ले पनि मौलिक संस्कृतिलाई समाउन खोजेको देखिन्छ । युवा पुस्तालाई केन्द्रमा राख्दै लोक शैलीका गीतलाई केही परिमार्जन गर्दै आएका गायक तथा मोडल दुर्गेश थापाले यसपटक पनि तिहारकै मौका छोपी केही फरक गीत पस्केका छन् । डिजे र पार्टीमा रमाउने युवायुवतीलाई लक्षित उनको गीतमा त्यस्तै सांगीतिक पक्ष फ्युजन गरिएको छ ।


‘हामीले सबै पुस्ता समेट्ने कोसिस गर्नुपर्छ,’ उनको तर्क छ, ‘त्यही भएर लोक शैलीका गीतमा पनि आधुनिक प्रयोगहरू हुन जरुरी छ । घर आँगनमा मात्र होइन, डिस्को र डिजे पार्टीमा पनि तिहार गीतहरू बज्नुपर्छ ।’ पश्चिमा गीतसंगीतमा रमाउने चाहने पुस्ताका लागि मनोरञ्जन र संस्कृति दुवै दिनुपर्ने उनको मत छ । ‘यद्यपि रहेक स्रष्टाले सदाबहार सिर्जना दिनेतिर पनि सोच्नुपर्छ,’ उनी भन्छन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:५०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तामाङ सेलो हराउँदै मौलिकता 

सुशीला तामा‌ङ

काठमाडौँ — कुनै समय तामाङ समुदायमा चन्द्रकुमार मोक्तानका मौलिक सेलो गीतहरू चर्चित थिए । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत् तीसको दशकमा उनैले तामाङ सेलोलाई पहिलोपटक श्रोतामाझ घन्काएका थिए । त्यसयता उनले निकालेका अधिकांश एल्बमहरू तामाङ मौलिकतामा आधारित रहे । पछिल्लो समय सेलो संगीतमा आधुनिक प्रयोगहरू भित्रिएपछि उनी गीति साधनाबाटै अलग भएका छन् । 

केही वर्षअघि सेलो गायक चन्द्रकुमार दोङको रचना तथा संगीतमा सेलो तथा लोक गायिका इन्दिरा गोले र दोङकै स्वरमा आएको गीत ‘आपा त गाङ्दान, मावली स्याङ्तान...’ गीत नेपाली भाषामा भए पनि तामाङ जातिको संस्कृति, परम्पराको आभाससँगै डम्फूको ताल सुन्न सकिन्थ्यो । गोपीलाल बमजनको शब्द तथा सोनाम बज्युको संगीतमा दोङ र गोलेकै स्वर रहेको अर्को गीत ‘तोर्सेला ला स्योङ...’ मा पनि तामाङ मौलिक भाषा, परिवेश, रहनसहनलाई समेटिनुका साथै उत्तिकै मौलिकपनको मिठास पाइन्छ ।

अचेल भने तामाङ सेलोमा मौलिकता हराउँदै गएको गुनासा सुन्न सकिन्छ । गीतहरू मौलिकतालाई बिर्सिंदै नेपाली लोकदोहोरी र आधुनिक गीतको प्रभावमा रंगिन थालेका छन् । कतिपय गीतहरूमा गजलको प्रभाव पनि भित्रिएको छ । प्रदेश नम्बर ३ को पहिलो जनसंख्याको रूपमा रहेको तामाङ समुदायको सांगीतिक/सांस्कृतिक पहिचान बोकेको सेलोले मौलिकता गुमाउँदै गएकोप्रति चिन्तित छिन् गायिका इन्दिरा गोले । तामाङ सेलो भन्नेबित्तिकै यसमा आफ्नै मौलिक धार र पन रहेको गोलेको धारणा छ । ‘डम्फू र टुङ्नाको तालमा नै तामाङ जातिको मौलिक धुन जोडिएको छ,’ उनी भन्छिन्, ‘तर, अचेल मौलिकता नै संकटमा पर्दै गइरहेको देख्छु ।’

तामाङ समुदायसँग जोडिएको भए पनि सिंगो नेपाली सांगीतिक क्षेत्रमा सेलोको योगदान छ । तीसको दशकभन्दा अघिदेखि नै तामाङ सेलो नेपाली भाषामा समेत आएको देखिन्छ, यो क्रम अहिलेसम्म निरन्तरता छ । लोकभाकालाई आधुनिक संगीतमा ढाल्न माहिर शम्भुजित बाँस्कोटाले समेत आफ्नो सांगीतिक करिअरको सुरुवाततिर ‘सिन्धुपाल्चोककी मैंच्याङ...’ बोलको सेलो गीत नेपालीमा ल्याएका थिए । केहीअघि टीभी रियालिटी सो लोक स्टारमा विशेष निर्णायक भएर प्रस्तुत भएका उनले यही गीतको टुक्रासमेत गाउन भ्याए । लोकगायक कुमार बस्नेतका थुप्रै गीतहरू तामाङ सेलो आधारित छन् । तामाङ सेलोलाई नेपाली भाषामा प्रवर्द्धन गर्न उनले ठूलो योगदान दिएका मानिन्छ । गोपाल योञ्जनका पनि केही गीत सेलो आधारित छन् । केही वर्षअघि मात्रै अभिनेता निखिल उप्रेतीले आफ्नो पछिल्लो फिल्म ‘पिँजडा ब्याक अगेन’ मा आफैंले संगीत भरेर नेपालीमा तामाङ सेलो गीत राखेका थिए भने दीपेन्द्र लामाको फिल्म ‘घामपानी’ मा पनि नेपाली भाषामै सेलो गीत प्रयोग गरिएको छ ।

नेपाली भाषाको सांगीतिक दुनियाँमा समेत सेलोको लोभलाग्दो प्रयोग भइरहेको बेला स्वयं तामाङ समुदायको गायक–गायिकाले भने मौलिकता भुल्दै जानु आफैंमा दुर्भाग्यपूर्ण रहेको तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा बताउँछन् । उनका अनुसार लामो समयदेखि तामाङ कलाकारहरूका साझा संस्थाको रूपमा संघ क्रियाशील रहे पनि उचित नीति नियम नभएको हुनाले अहिले तामाङ सेलो भन्दै ‘जे पायो त्यही गीतहरू’ आइरहेका छन् । युट्युबमा सर्च गर्दा पनि त्यस्तै देखिन्छ । थुप्रै गीतहरू मौलिकताभन्दा पनि भ्युज बढाउने प्रकृतिका मात्रै भेटिन्छन् । गीतका शब्दहरू पनि सेलोको भलाद्मीपनभन्दा उटपट्याङ प्रवृत्तिलाई बढावा दिने प्रकृतिका भेटिन्छन् । केही गीतहरू त काँठको लोकदोहोरीबाट समेत प्रभावित छन्, भाषामात्रै तामाङ ।

अध्यक्ष वाइबाका अनुसार नेपाली भाषामा गाइने सेलो गीत होस् या तामाङ समुदायमा प्रचलित ताम्बा (रीतिरिवाज) या फापरे (प्रणयपरक) गीत होस्, त्यस्ता संगीतसित तामाङ जातिको संस्कृति, इतिहास, परम्परा र जीवनशैली अभिन्न रूपमा जोडिएका हुन्छन् । ‘तर, त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘भाषा तामाङ भएर मात्रै सेलो गीत हुँदैन ।’ प्रविधिको सहज पहुँच र गीत हेर्ने माध्यम फेरिएकाले पनि अहिले मौलिकताभन्दा पनि दर्शक/श्रोतामुखी बजारिया गीत संगीतको बाढी आएको अनुमान गर्न सकिन्छ । आधुनिक शैलीमा बनेका थुप्रै तामाङ सेलो गीतहरूले युट्युबमा राम्रै भ्युज पनि पाएका छन् । रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, निर्मला घिसिङ, कृष्ण वाइबा, जितु लोप्चन, केबी लामा, मिंग्स लामा, हीरा लामालगायत गायक–गायिकाहरूको सेलो गीतहरूलाई अहिलेका नयाँ पुस्ताले रुचाएको देखिन्छ ।

रुचाइएका धेरैजसो गीतहरू आधुनिक शैलीका छन्, जसमा डम्फूको सट्टा मादल, किबोर्ड, सारंगीदेखि गिटारसम्म प्रयोग गरिएका छन् । कतिपय गीत सुन्दा र भिडियो हेर्दा भाषा मात्र तामाङ भेटिन्छ । भाषा झिकिदिनेबित्तिकै अरू नै गीत बन्न जान्छ । लामो समयदेखि सेलो संगीतमा क्रियाशील गायिका गोले तामाङ सेलोमा आधुनिकता भित्रिए पनि भाका तथा ताल मिलाउँदा मौलिकतालाई भुल्न नहुने बताउँछिन् । ‘डम्फूको तालसँगै शब्दमा तामाङ चिनारी छैन भने त्यसलाई कसरी तामाङ सेलो भन्ने ?’ उनी भन्छिन्, ‘हुँदाहुँदा अहिले त गीतबाट डम्फू नै हराउन थाल्यो ।’ समय, परिवेश र रुचिअनुसार लोकगीतलाई परिमार्जन गर्ने परम्परा रहेको भए पनि ‘आफ्नो र अरूको गीतबीचको भिन्नता के छ भन्नेबारे नयाँ पुस्ताले केलाउनुपर्ने’ उनी सुझाउँछिन् । गायनमा करिअर बनाउँदै गरेका केबी लामाको भने फरक विचार छ । उनी समयअनुसार गीतहरूमा नयाँपन ल्याउनुपर्ने दाबी गर्छन् ।

सेलो संगीतमा दुई दशक लामो अनुभव बोकेका गायक विश्व दोङ ‘पहिलेको तुलनामा अहिले बढी नै बजारकेन्द्रित बन्दै गइरहेको कारणले सेलो संगीतमा विकृति आइरहेको’ स्विकार्छन् । उनका अनुसार तामाङ सेलोमा डम्फूको तालले अन्य गीतसंगीतभन्दा भिन्नै मिठास र जोस दिन्छ । हालै मात्र सेलो भाकामै पूर्वेली तामाङ समुदायको गाउँ–ठाउँको बयान समेटेर ‘घुम्दै फिर्दै’ गीत ल्याएका दोङ भन्छन्, ‘बजारमा के बिक्छ भनेर सेलो गीतको मौलिकता नै परिवर्तन गर्नचाहिँ हुँदैन ।’ तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाको मत पनि यही छ । उनी ‘कस्तो गीत सेलो हुने कस्तो नहुने’ भन्नेबारे संस्थागत रूपमै नियमन गर्नुपर्ने बेला आएको बताउँछन् ।

प्रकाशित : आश्विन २६, २०७६ ०९:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×