कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वी छिङ सुटुक्क पोखरा

दीपक परियार

(पोखरा) — नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ शनिबार सुटुक्क पोखरा आइन् । काठमाडौंमा सदभावना दूत घोषणा भएलगत्तै उनी पोखरा आएकी हुन् । 

स्वी छिङ सुटुक्क पोखरा

फिस्टेल रिसोर्ट बसेकी उनी आइतबार बिहान नौकाविहारमा रमाइन् । डुंगा सयर गरेर तालबाराही मन्दिर पुगिन् । परेवालाई चारो दिइन् । गन्धर्वको सारंगी र मादलको धुनमा ‘रेशम फिरिरी...’ सुनिन् । चिनियाँ सामाजिक सञ्जाल ‘वैपो’ मा हजारौंद्वारा पछ्याइएकी अभिनेत्रीलाई चिनेका चिनियाँ पर्यटक पोखरामा उनको पछि लागे । आफ्ना देशका नागरिक पछि लागेपछि उनी भने होटल फर्किइन ।


आइतबार दिउँसो उनी प्याराग्लाइडिङमा रमाइन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका पाइलट विष्णु कार्कीले उनलाई आकाशमा उडाएका हुन् । सराङकोटको तोरीपानीबाट कावा खाँदै उनी फेवा किनारको चंखपुर झरिन् । यसअघि टर्कीमा प्याराग्लाइडिङ गरेको उनले सम्झिइन् ।


सोमबार उनी हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर (एबीसी) पुगिन् । उनको सात सदस्यीय टोलीले त्यहाँ २ घण्टा बितायो । उनले फोटो र भिडियो छायांकन गराइन । एबीसीबाट हेलिकप्टरमै उनी मर्दी हिमाल पुगिन् । माछापुच्छ्रे हिमालको आडैमा आधा घन्टाजति बसिन् । पोखरा फर्किएर उनले नेपाली खाना खाइन् । दाल, भात, तरकारी मीठो मानीमानी हातैले खाइन् । पोखरा भ्रमणको भिडियो उनले वैपोको आफ्नो एकाउन्टमा पोस्ट गरेकी छन् ।

केही महिनापछि चिनियाँ कलाकारसहित पुन: पोखरा आउने छिङले इच्छा देखाएको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका शैलेन्द्र रावतले बताए । रावतका अनुसार स्वी छिङले नेपालको प्रवर्द्धन गर्न यहाँका पर्यटन व्यवसायीलाई चीन बोलाउँनेछिन् ।


सन् १९६९ मा बेइजिङमा जन्मिएकी स्वी छिङले ‘पियान्चौ पियान्छाङ (लाइफ अन अ स्ट्रिङ)’ नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । हलिउड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको ‘गुड अगेन्स्ट एभिल’ नामक चलचित्र गत वर्ष ५५ औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिएको थियो । उनीद्वारा अभिनीत नाटक, टेलिचलचित्रलगायत कलाकर्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएका थिए ।


सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म ‘अप इन द वाइन्ड’ मा समेत पोखराको प्याराग्लाइडिङको दृश्य थियो । सांघाईमा काम गर्ने महिला पत्रकार नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ । काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ । तेङ हुआताओको निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन् ।


उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन् । फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको व्यवसायी वसन्त दवाडीले बताए । उनका अनुसार हाल प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ छन् । पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?