कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दशकपछि बर्का

दुर्गालाल केसी

(दाङ) — दाङको घोराहीमा केही दिनदेखि बर्का नाचको रौनक छ । २१ वर्षपछि देखिएको बर्काले सबैको ध्यान तानेको छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म नाचिने बर्काले थारू समुदायमा विभिन्न संकट र रोगव्याधि टार्ने विश्वास गरिन्छ । 

दुई दशकपछि बर्का

थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण बर्का देवीदेवताको पूजाआजा गरी नाचिन्छ । ‘महाभारतको कथामा आधारित बर्का नाच थारू जातिको सबैभन्दा ठूलो र कठिन नाच हो । सधंै यो देखाउन सकिंदैन,’ नाचका अगुवा तथा थारू महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने, ‘यसले उब्जनी राम्रो हुने र रोग निको हुने विश्वास छ ।’


बर्का नाच्न जान्ने देवता र नजान्ने भूताहा नाच भन्ने गरिन्छ । ‘यसलाई ३३ कोटि देवताको नाच मानिन्छ’ चौधरीले भने, ‘नाच नमिले देवता भूत बनेर मान्छेलाई सिध्याउँछ भन्ने विश्वास छ । धेरै ठाउँमा नाच्न खोजे पनि सफल भएका छैनन् ।’


महाभारतको किंवदन्ती लामो समयदेखि सुन्दै आएपनि नाचका रूपमा प्रदर्शन गर्न कठिन हुने चौधरीको दाबी छ । उनकै बुबा रूपलालले १९७९ सालमा देउखुरीको गोबरडिहास्थित महदेवा गाउँमा नाच प्रदर्शन गरेका थिए । त्यसपछि नाच देख्न ३१ वर्ष कुर्नुपर्‍यो । रूपलालकै पहलमा २०१० मा मात्रै बर्का नाच आफ्नै गाउँ जलौरामा देखाइयो । ५ वर्षको अन्तरमा नाच देखाउनुपर्ने विश्वास अनुसार २०२५ सालमा निरन्तरता दिइयो । २०२७ मा रूपलालको निधन भएपछि बर्का नाच्न रोकियो ।


‘बुबाको मृत्युपछि बर्का नाच हरायो । बुबाले नचाउनुपर्छ भन्नुहुन्थ्यो तर मैले निरन्तरता दिन सकिनँ,’ चन्द्रप्रसादले भने, ‘अरू कलाकार तयार नहुँदा पनि समस्या भयो ।’ उनका अनुसार नाचमा खर्च धेरै लाग्ने भएकाले पनि कसैले आँट गर्न सक्दैनन् । कलाकारका लागि चाहिने पोसाक, सामग्री र नाचका क्रममा भुइँयारथानमा गर्नुपर्ने पूजामा पनि धेरै खर्च हुने गर्छ ।


भुइँयारथानमा पाँच पाण्डवका नाममा ५ प्रकारका बलि दिइन्छ । दुई बोका, दुई भेडा, बाख्रा ३ पाठी, ८ सुंगुर र ४० कुखुराको बलि दिइन्छ । सबै जुटाउँदा धेरै खर्च लाग्ने भएकाले कोही अघि सर्दैन । अगुवाहरूकाअनुसार एकपटक नाच सम्पन्न गर्न ७ लाख रुपैयाभन्दा बढी खर्च लाग्ने गर्छ । २०५५ सालमा महाभारतको कथामा विद्याबारिधी गर्न आएका एक अमेरिकीले बर्का नाचको खर्च बेहोर्ने भएपछि ३० वर्षपछि नाच प्रदर्शन भयो । त्यसपछि फेरि हरायो ।


‘कलाकार र खर्च जुटाउन साह्रै समस्या हुन्छ । पूजाको प्रक्रियामा पनि धेरै समय र खर्च लाग्छ,’ कलाकार तथा जलौराका गुरुवा हीरालाल चौधरीले भने, ‘पूजा नमिले नराम्रो हुने डर भएकाले कोही अघि सर्न मान्दैनन् ।’ त्यसपछि २१ वर्षसम्म फेरि बर्का नाच हरायो । नाच हराउने चिन्ता भएपछि यस वर्ष थारू कल्याणकारिणी सभाले डकुमेन्ट्री नै बनाउने योजना बनायो ।


घोराही उपमहानगरपालिका लगानी गर्न तयार भएपछि बल्ल बर्का नाच देखाइयो । अस्तित्व बचाउन डकुमेन्ट्री बनाउने र संरक्षण गर्ने काम थालेको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले बताए । ‘बर्का नाच तीन दशकसम्म पनि नहुने स्थिति आयो । यति लामो समय नाच नहुँदा यसको संस्कृति नै हराउने चिन्ता भयो,’ उनले भने ।


महाभारतसँग सम्बन्ध

बर्का नाचलाई महाभारतको कथा मानिन्छ । ‘पाण्डवहरूको बहादुरीलाई थारू समुदायले आदर्श मान्ने गर्छन्,’ बर्का नाचका कलाकार तथा गुरुवा जग्गु चौधरीले भने, ‘अट्वारीमा पनि भीमको पूजा गर्ने गरिन्छ । बर्कामा पनि ५ पाण्डवको चरित्र बनाएर नाचिन्छ ।’ पाण्डवको बहादुरीप्रतिको सम्मान र कौरवहरूको अन्यायविरुद्धको आवाजका रूपमा महाभारतलाई आत्मसात् गरेको देखिन्छ । ‘पाण्डवका पाँचै भाइको पूजा हुन्छ । त्यसकारण भुइँयार पूजा गर्दा पाँच प्रकारका बलि दिइन्छ,’ बर्का नाचका कलाकार तथा गुरुवा देउनारायण चौधरीले भने, ‘बर्का नाच नाच्ने ठाउँमा पाण्डवको कथा मात्रै गाइँदैन, पूजा पनि गरिन्छ । त्यसकारण पाण्डवसँगको प्रगाढ सम्बन्ध नाचमा देखिन्छ ।’


यसलाई बर्कीमार गीतमा आधारित नाच पनि भनिन्छ । बर्कीमार अर्थात् महाभारत, थारू भाषामा बर्की भनेको ठूलो र मार भनेको लडाइँ हो । महाभारतलाई थारू अगुवाहरूले आफ्नै भाषामा रूपान्तरण गरेर सुनाउँदै आएको गीतिकथा नै बर्कीमार हो । विभिन्न अर्ती उपदेश र सन्देशहरू भएको बर्कीमारलाई थारू जातिले दसैंमा महतवाबाट टीका थाप्दा र धान बाली भित्र्याउँदा लय हालेर गाउने चलन छ ।


शान्ति र सौहार्दता

यो नाचलाई शान्ति र सौहार्दताको प्रतीकका रूपमा लिइन्छ । नाचमा धेरै कलाकारको आवश्यकता पर्ने भएकाले यसलाई बृहत् नाचका रूपमा लिइन्छ । नाचमा कम्तीमा ३० जना कलाकार चाहिन्छ ।


‘धान काट्न थालेदेखि नभित्र्याउँदासम्म लगातार गाउनुपर्छ । यसको कथा नै धेरै लामो छ । नयाँ पुस्ताले यो गीत र नाच सिक्न सकेका छैनन्,’ कलाकार तथा गुरुवा भरत चौधरीले भने, ‘यसमा सौहार्दता र सद्भावको सन्देश छ । सबैतिर मेलमिलाप र शान्ति होस् भन्ने कामना गरिन्छ ।’ पहिले संयुक्त परिवार हुने भएकाले बर्कीमारका हरफ गाएर परिवारमा सौहार्दता कायम गर्ने गरेको उनको बुझाइ छ ।


‘अहिले त संयुक्त परिवार हराइसक्यो, घर फाट्ने र एक्लै बस्ने चलन आयो,’ उनले भने, ‘बूढापाकाबाट अर्ती उपदेश लिने र पुराना कुरा सुन्ने, चलन हरायो । यसले बर्का नाच पनि ओझेलमा पर्दै गयो ।’ समुदायलाई नैतिकवान बनाउन पनि यो नाच र गीतको महत्त्व रहेको उनले बताए ।


नाचमा रमाइलोका लागि केही अश्लील खालको प्रस्तुति पनि रहन्छ । एउटा खप्पर लगाएको पात्र नाचमा हुन्छ, जसलाई ‘स्वाङे’ भनिन्छ । उसले बाँसको ढ्वाङभित्र काठको लिंग बनाएर राखेको हुन्छ । नाचको बीचबीचमा लिंग बाहिर निकाल्ने गर्छ । यसले कृष्ण भगवान्का धेरै गोपिनी राख्ने चरित्रलाई देखाउनुका साथै शिवलिंगको प्रतिनिधित्व गर्ने चौधरीले बताए । गीत गाउनेहरू थारू अगुवा, महतवा र गुरुवाहरू हुन्छन् ।


नाच नाच्ने बेला भूत–प्रेतहरूले आक्रमण गर्ने डरले एक जना गुरुवा नाचको वरिपरि झारफुक गर्दै हिंडिरहेका हुन्छन् । १२ अध्यायमा गाइने बर्कीमारमा कर्तव्यच्यूत भएर बाँच्न नहुने, चुनौती सामना गर्न सधैं तयार हुनुपर्ने, अन्याय सहेर बस्न नहुने, महिलाले अस्तित्व रक्षाका लागि गर्नुपर्ने संघर्षजस्ता विषय समेटिएको बर्कीमार गायक घोराही–७, सिसहनियाका बेझुलाल चौधरीले बताए ।


गीतमा हस्तिनापुर राज्यका लागि भएको संघर्ष, द्रोपदीलाई युधिष्ठिरले जुवामा हालेको प्रसंग, अर्जुनले दाइभाइ मारिने लडाइँ गर्न नचाहेको, युद्ध जित्दा पनि रक्तपातका कारण युधिष्ठरको मनमा चैन नभएको जस्ता कुरा रहेको उनले बताए । बर्कीमारका विषयमा थारू, नेपाली र अंग्रेजीमा समेत पुस्तक लेखिएका छन् ।


प्रकाशित : कार्तिक ४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?