कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्ममा हिजो आजका कुरा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिभिजनमा २०५२ सालदेखि लगातार १८ वर्षसम्म समसामयिक सामाजिक, राजनीतिक घटनाक्रमलाई समेटेर हास्यकलाकार सन्तोष पन्तले ‘हिजो आजका कुरा’ चलाए । यही टेलिशृखंलाले नै पन्तलाई हास्यअभिनयको क्षेत्रमा स्थापित गरायो ।

फिल्ममा हिजो आजका कुरा 

तर शृंखला बन्द भएपछि भने उनी निष्क्रियजस्तै रहे । अब भने पन्तले सोही नाममा फिल्म बनाउने भएका छन् । छोरा साकारको निर्देशनमा पन्तले शुक्रबार फिल्म ‘हिजो आजका कुरा’ निर्माणको घोषणा गरे ।


‘त्यसबेला टेलिशृंखलामा पनि हिन्दी सिरियलको ठूलो प्रभाव थियो । मैले ‘हिजो आजका कुरा’ सुरु गर्दा केही थाहा थिएन । तर त्यहींबाट सिक्दै गएँ । मध्यमवर्गलाई लक्षित गरी तीज, दसैं, माघेसंक्रान्तिका कथादेखि नेपालीकै व्यथालाई समेटेर हास्यरसमा कार्यक्रम पस्कन थालेको हुँ,’ कार्यक्रममा विगत सम्झँदै पन्तले भने, ‘अब फिल्ममा पनि अहिलेकै समस्यालाई समेटेर बनाउने प्रयास गरेको छु । पक्कै पनि दर्शकलाई रुचिकर लाग्ला ।’ पन्तकै कथालाई सन्दीप किस्नाले तयार पारेको पटकथामा काठमाडौंका चार परिवारको समस्या र संघर्षलाई देखाउन खोजिएको छ । जसमा विदेश सपनालाई फिल्मको मुख्य विषय बनाइएको बताइएको छ ।


पहिलो पटक फिल्म निर्देशन गर्न लागेका साकारले फिल्म पनि टेलिशृंखला ‘हिजो आजका कुरा’ कै धार र नाममा आधारित रहेर बन्ने प्रस्ट्याउँदै थप्छन्, ‘सामाजिक विकृतिलाई कसरी सही ढंगले लैजान सकिन्छ भन्ने सन्देश पनि फिल्मले दिनेछ ।’ उनले ‘हिजो आजका कुरा’ पन्त फिल्म प्रोडक्सनको लिगेसी भएको जिकिर गर्दै फिल्म कमेडी जनरामा नै बन्ने बताए ।


फिल्ममा पनि टेलिशृंखलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा हुनेछन् भने नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइँकेल, अनुष्का अधिकारीलगायत कलाकारले अभिनय गर्ने भएका छन् । रवि सायमीको छायांकन रहने फिल्मको सम्पादन विनय कंसाकारले गर्नेछन् भने गीत, संगीत हर्क्युलिस बस्नेतको रहने उल्लेख गरिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?